म महाकालीमा उभिएको छुँ

राम अधिकारी २०७७ जेठ १८ गते १:३० मा प्रकाशित

 

दुष्ट भाईरसको चक्रव्युहमा परेर
लखेटिएको छुँ, खेदिएको छुँ
मलाई मेरो देशले दुत्कारेको छ
मलाई मेरै परदेशले दुत्कारेको छ
र पनि म, महाकाली किनारमा उभिएको छुँ

लाला र बालाको भविष्यको चिन्ताले
उनकै माया मारेर मुग्लान हेलिएको म
भविष्य खोज्दा-खोज्दै
घरको र बालाहरुको मायाले ठगिएको छुँ

विश्वभरी चक्रपात घुमिरहेको बेला
मलाई मेरो कामले छोडेर गएको छ
थालमा एउतै सितन चाट्ने दोस्तहरु
एकाएक टाढिएका छन डरले, त्रासले
तर म देशले साथ छोड्दैन भन्दै
घर फर्किने आशामा
फेरि म, महाकाली किनारमा उभिएको छुँ

महाशय, ‘म कृष्ण बहादुर खड्का’
घरबेटीले ठुला-ठुला आँखा तर्न थालेपछि
‘बहादुर’ भन्दै धाप मार्ने साहुले
दिन-दिनै काम र ठाम छोड्न भनेपछि
हजार माइल हिडेर सिमानामा आएको हुँ
यो विश्वव्यापी त्राही – त्राहीमा पनि
देश फिर्न भनी महाकाली आएको छुँ

मैले बुझेको र जानेको यत्ति हो
मातृभूमि र आमाको काख
सँधै न्यानो र प्यारो हुन्छ सन्तानहरुका लागि
तर, काँडेतारले जेलिएको छ बाटो
राइफलका नाल तेर्सिएका छन्
झुक्किएर मैले देशको माटो टेकेँ भने पनि
कुनै पनि बेला गोलिबाट दागिन सक्छु
र पनि म, माहाकाली किनारमा उभिन आएको छुँ

सुने मैले, आकाशबाट देश फिर्नेहरु
निसन्देश र निसंकोच गाम-घर पुगिसके
म त हजार माइल हिडेर आएको मान्छे
थाकेर मिठो बोलिँन होला
सायद मिठो बोल्न पनि जान्दिँन होला
र मलाई सरकारी भाषा पनि बोल्न आउँदैन होला
तर, चाउरी परेको अनुहार भएपनि
शरीरमा एकसरो राम्रो लुगा नभए पनि
खुट्टामा फिट्फिटे गद्दी चप्पल भएपनि
म पनि आकाशबाट देश फर्किने मान्छेहरु जस्तै
आफ्नै खुट्टामा उभिएको देशको नागरिक हुँ

महामारीले संसार सोत्तर बनाएको बेला
मरे पनि गामकै भीरपाखामा मर्न चाहन्छुँ
मुनाहरुको मिठो हाँसो हेरेर मर्न चाहन्छु
हेल्लो महोदय “म उही कृष्ण बहादुर खड्का”
अझै पनि घर फर्कने आशामा
उही र त्यही महाकाली किनारमा उभिएको छुँ

-राम अधिकारी

२४ मे 2020, भर्जिनिया
Blog: www.ramadhikari.com

राम अधिकारी

राम अधिकारी साहित्यकार,लेखक हुनुहुन्छ ।

प्रतिक्रिया