⛅️☁️बादल र बर्षा ⛅️ ☁️☁️

अच्युत कुइकेल २०७७ जेठ १६ गते ११:२८ मा प्रकाशित

आजभोली असहज भएको छ मलाइ
यसमा मेरो कुनै कमजोरी छैन ।
यता उताका सब मिलेर मलाइ
रुवाउन बाध्य पारेका छन
कहिले पुर्विय प्रभाव त कहिले पश्चिमको
उत्तर र दक्षिणको पनि झन मिसिए पछि
मैंले कुनै लयमा हिंडन पाएको छैन
अन्यको भावको प्रतिबिम्ब मेरो हृदयमा
विभिन्न आकृति बनी तरंगित हुन्छन
आकृति एवं आकांक्षाहरु चाहेर पनि
मैले बनाउन सक्दिन
नचाहेर पनि बदल्न सक्दिन
कोही ति आकृतिमा रमाउंदैछन
कसैलाइ ति आकृतिसंग बैरभाव पनि छ।
थाहा छैन ति आकृति कतिखेर फेरिन्छन
आधी हुरीमा बेरिन्छन र
आफ्नो स्वरुप नै फेरेर बर्सन्छन ।
यतिखेर त चाहिएको पनि छैन होला सबैलाइ
नचाहे पनि म रोक्न सक्दिन
कहां कहां बाट उडेर आइ
मेरो मुहारको चमक हर्न खोज्दैछन।
मलाइ पनि त निश्चल हुने मन छ
तर अहं सकेको छैन
आज त आकृतिहरु जुधेर आंसू झार्दैछन
मँ अटल बन्ने प्रयासमा छु !
मेरो विनय छ
आउनुहोस
तपाइ पनि मेरो स्वभाविकतामा रमाउनुहोस
पछुतो नमानी रमाउनुहोस
केवल रमाउनुहोस।
सबैजन आ आफ्नो कर्ममा रमाउनुहोस
मेरो आगमनलाइ स्वागत गर्दै रमाउनुहोस
मेरो उपस्थितीलाई स्वभाविक मान्दै रमाउनुहोस
मेरो उपस्थिति पश्चातको माहौल मा रमाउनुहोस!!

अच्युत कुइकेल
डाछी ४ काठमाण्डौं
२०७७ ।२।१०

प्रतिक्रिया