आज फेरि मृत्यु अपमानित भएको छ

गोविन्द गिरी प्रेरणा २०७७ जेठ १३ गते १०:२३ मा प्रकाशित

-गोविन्द गिरी प्रेरणा

एक्काइसौं शताब्दीको
रगरग र जगजगको बेला
असमान सिमानाका पर्खालहरु
जताततै भत्किरहेको वेला
आत्माहरुको कुरामा
मनहरुको कुरामा
हृदयको सम्बन्धमा
मुटुको धडकनमा
कहाँबाट आयो
जातको कुरा
र मर्नु पर्यो
यौटा प्रेमीले
यौटी प्रेमिकाले
यौटा मनुष्यले
यो अघ्घोर लज्जित परिदृष्यले
आज फेरि मृत्यु अपमानित भएको छ ।

मृत्युले लाजले
मुण्टो निहुराएको छ
धरतीले शरमले
घुम्टो हालेकी छिन्
आकाशले हेर्न नसकेर
आँखा चिम्म गरेको छ
वायुले वहन विर्सेर
चूपचाप छ
जनकजननीका पीडाका घाउ
पातालभन्दा गहिरो छ
कुन विजेता मनस्थिति
तिम्रो शीरमा श्रीपेच बन्छ कतिन्जेल ?
हार मानेका छन्
धिक्कारहरुले पनि
यो युगिन पीडामा
आज फेरि मृत्यु अपमानित भएको छ ।

२६ मे २०२०, बृन्दावन, भारत ।

प्रतिक्रिया