श्रद्धा ! सुमन

पदम विश्वकर्मा २०७७ जेठ १३ गते १:१६ मा प्रकाशित

नवराज !
तिमीले प्रेम गर्नु के दोष थियो ?
मायाँ गर्नु के दोष थियो ?
के अपराध थियो र ?
आखिर सबैले गर्छन् प्रेम,
सबैले गर्छन् मायाँ
प्रिय नवराज !
आखिर तिमीले त्यति महान् गल्ती के गर्यौ ?

माँया गर्नेलाई हत्या गर्नेहरु हो !
मायाँ गर्नेलाई कुटपिट गर्नेहरु हो !
लाग्छ अब त,
तिमीहरु राक्षसी भयौ
नरसंहारकारी भयौ,
दानवी भयौ,
र भयौ हिटलरजस्तै रक्त पिपासु ।

शासकहरु हो !
खोल ती बन्द आँखाहरु र हेर त
भेरी नदीमा बगिरहेको रगतको भेल
खोल ती बन्द कानहरु र सुन त पीडितहरुको क्रन्दन
बोल केही शव्दहरु बोल
आखिर युद्धमा
यिनै नवराजहरुले बन्दुक उठाएकै हुन्
यिनै नवराजहरुले बन्दुक बनाएकै हुन्
यिनै नवराजहरुले जीवन बलिदानी गरेकै हुन्
यिनै नवराजहरुले तिमीलाई
महान् नेता बनाएकै हुन् ।

हत्यारा नलुकाउ सुरक्षाकर्मीहरु हो !
सत्य तथ्य लेख संचारकर्मीहरु हो !
उचित न्याय देउ न्यायकर्मीहरु हो !
अन्याय नगर शासकहरु हो !
अन्याथा,
उम्लिएका लाखौं नशाहरुबाट
रगतको नयाँ खोला बग्नसक्छ यहाँ
आन्दोलनको अर्को बीजारोपण हुनसक्छ यहाँ ।

प्रिय नवराज !
तिम्रो देहान्तमा,
देश त दुख्न सक्दैन किनकी, मरोे देश सामन्तहरुको देश हो
माटो दुख्न सक्दैन किनकी, मरोे माटो शोषकहरुले कुल्चेको माटो हो
तर म दुखेको छु आज,
हामी दुखेका छौं
युगौं युगदेखि
यहाँ थुप्रै नवराजहरु बलिदानी भएका छन्
थुप्रै मायाँ विकहरुले जीवन उत्सर्ग गरेका छन्
अधिकार र न्यायको खोजीमा
थुप्रै शोषित पीडितहरुले शहााजत प्राप्त गरेका छन्
ती सबै नवराजहरुप्रति
हार्दिक श्रद्धा सुमन !

-पदम विश्वकर्मा

 

प्रतिक्रिया