आइतबार, असार २१ २०७७
काठमाडौं ००:०८
वासिङटन डिसी 14:23

भद्र महिला

लघुकथा

अर्जुन थापा २०७७ जेठ १२ गते १२:०० मा प्रकाशित

“नानी लेख्न आउँदैन । तपाँईृले नै यो फर्म भरिदिनु पर्यो । नागरिकताको फोटोकपि पनि सँगै ल्याएकी छु ।” राहतको लागि नाम टिपाउन आएकी पहिलो महिला।

“आमालाई त यहि टोलमा देखेको जस्तो लाग्छ मलाई ।” हँसिलो अनुहार पारि सोध्छ स्वयंसेवक।

“यहि अगाडिको घर मेरै त हो नि नानी ।” ईशाराले अगाडिको घर देखाउँदै ।
“तपाईको त दुई भाई छोरा अमेरिकामा छन् । श्रीमानको पनि पेन्सन आउँछ होईन र आमा ? तर पनि राहतको लागि फर्म भराउँदै हुनुहुन्छ ?” आश्चार्य मान्दै।

“बिचारा अघिल्लो महिना दुई भाईले पठाएको पैसा र बुढाको पेन्सन जम्मा गरेर नारायणथानमा जग्गा किनियो । त्यसैले ग्राहो छ नानी अहिले ।” एक शब्द नरोकि भन्छिन् उनि।

अब अर्कोको पालो आउँछ।

“तपाई पनि राहतको लागि आउनुभएको ?” हाँस्दै स्वायंसेवक ।
“ न आएर के गर्नु त।उ दिदीको दुईभाई छोरा अमेरिका र बुढाको पेन्सन आँउदा त राहत लिन आउनुभएको छ।जाबो मेरो छोरा अष्टे«लियाको पि. आर हुँदैमा पैसा झर्छ र आकाशबाट।यहि कोरोनाको कारण काम छैन रे । भर्खरै मात्र हो लोनमा घर किनेको छोराले उता । यहाँ बहालमा बस्ने जति सबै गाँउ गए ।अनि राहत नलिए के गर्नु ।” कालो चश्मालाई टाउकोमा राख्दै दोस्रो महिला।

यत्तिकैमा ठुलो छाता बोकेर साथमा सात आठ वर्षको केटोलाई लिएर अगाडि देखा पर्छिन तेस्रो महिला।

“यो राहतको कागजगपत्र संकलन गर्ने मान्छे को हो ?” गमक्क परेको आवाजमा तेस्रो महिला।
“नमस्कार हजुर।के सेवा गर्न सक्छु होला मैले ?” हँसिलो अनुहारका साथमा भन्छ स्वयंसेवक।

“राहतको लागि यो फर्म र नागरिकता बुझाउन र अर्को चित्त नबुझेको के कुरा भने यो फर्ममा सबै नेपालीमा लेखिएको रहेछ।होईन यत्रो खर्च गरेर छापिसकेपछि अर्कोपट्टि अंग्रेजीमा भएको भए हामी जस्तोलाई सजिलो हुन्थ्यो । ” अगाडिको टेबलमा राख्दै फर्म र नागरिकताको कपि।

“केहि सहयोग गर्न पो आउनु भएको होला भनेर सम्झि राखेको त ।” मुसुक्क हाँस्दै स्वयंसेवक।

“होईन तपाँईले के भन्न खोज्नुभएको मलाई । के राहतले घर चलाउने जस्तो देख्नु भएको छ मलाई ?” कपाललाई माथि लाँदै झोकिन्छिन् उनि।

“ सरी आमा ,तपाईले मेरो कुरालाई गलत अर्थ लगाउनु भयो ।” शान्त भएर सम्झाउन खोज्दै।

“ होईन तपाईले मलाई कताबाट आमा देख्नुभयो ? ३–४ वर्ष तलमाथि हुँदैमा मलाई आमा भन्न मिल्छ र ? र रह्यो राहत सामानको । यो आफ्नो लागि नभएर यो काम गर्ने केटाको लागि हो । हामीले खाने चामल यसले मिठो मान्दैन र सरकारले सित्तैमा बाँडिरहेको छ भने किन नलिनु ।” घामलाई छाताले छेक्दै उनि।

त्यहि भिडबाट अर्को महिला अगाडि आउँछिन् ।“होईन, यो सरकारले राहत बाँड्ने तरिका नै चित्त बुझेन मलाई । खास भन्ने हो भने यो राहत भनेकै हामी काठमाण्डौंमा बस्ने लोकलहरुलाई हो । जसका छोराछोरीहरु विदेशमा छन् । भन्ने बित्तिकै पैसा पठाउन मिल्दैन । खातामा भएको पैसा पनि निकाल्नलाई बैंकहरु पनि बन्छ छन्।तलब पाउनेहरुले पनि समयमा पाएका छैनन् । घरको भाडालिन पनि भाडावालाहरु सबै आ–आफ्ना गाँउ भागिसके । यो लकडाउन पनि कहिले सम्म हुने हो थाहा छैन।त्यसैले घरमा भएको पैसा अहिले नै सबै खर्च पनि त गर्नु भएन । तपाई आफै भन्नुस कि मुख्य मारमा को परेको रहेछ त ?” भाडामा बस्नेहरुलाई त के छ र ।आ– आफ्ना गाँउ फर्केका छन् । चामल, दाल, तरकारी केहि किन्नु पर्दैन । कति आनन्द छ उनिहरुलाई ।” हातमा लगाई राखेकीे सुनको बालालाई खेलाउँदै चौथो महिला।

“ टि.भी. देखि संचारका माध्यमबाट एउटै कुरा पचास पटक भनिरहँदा पनि के हुनु भएको तपाईहरु । एक फिटको दुरीमा बस्नुपर्छ भन्ने जान्दा जान्दै पनि के को यस्तो भिड गर्नु भएको ?” एक भद« महिला अगाडि आएर सानो स्वरमा भन्छिन्।

उनको कुरा सुनिसके पछि सबै जना अलिक पर हट्छन् । उनको आगमनले स्वयंसेवकले केहि हल्का अनुभव गर्छ ।आधा घण्टा जति कोरोनाको बारेमा त्यहाँ उपस्थित सबैलाई जानकारी दिन्छिन्। त्यसपछि बिस्तारै स्वयंसेवकलाई अलि पर लिएर जान्छिन् भद« महिलाले।

“पहिलो पटक लगेको राहतको चामल बल्ल बल्ल तह लगायौं । तर दोस्रो पटकको चामल त घरमा कसैले खानै मानेनन् । त्यसैले यस पटक चाँहि पाउने चामल नलगेर बरु त्यसमा पैसा थपेर बास्मती चामल लान्छु म । तपाईले यसो कुरा मिलाइृदिनु होला ,भाई ।” सानो स्वरमा भद्र महिला।

उनको कुरा सुनि सके पछि जिल्ल परेर उनको अनुहारमा हेरिरहन्छ स्वयंसेवक ।

समाप्त।

अर्जुन थापा

धुम्बाराही,काठमाण्डौं,
[email protected]

प्रतिक्रिया