दाता राष्ट्रहरु संग अब एड् हैन ट्रेड् मागौं

रमेश ढकाल भद्रपुर झापा (हाल दोहा, कतार) २०७७ जेठ ९ गते ९:४८ मा प्रकाशित

 


भारतले हाम्रो सिमाना मिचेको कुरा होस् या उसले हामी माथि बदनियतपूर्ण ढंगले लागाएको नाकाबन्दी। भारत र नेपाल बिच यसरी बेला बेलामा ठाकठुक पर्दा हामीले सामना गर्नु परेका चुनौतीहरूलाई उपलब्धिमा बदल्ने कोशीश हामीले कहिल्यै गरेनौं। मैले यसलाई हामी नेपालीहरुको अत्यन्तै ठुलो दुर्भाग्य मान्ने गरेको छु। मुख्य रुपमा हाम्रो यहीं एउटा कमजोरिका कारण भारतले हामीले उठाएका महत्वपूर्ण मुद्दाहरूलाई सधैं अत्यन्तै हलुका ढंगले लिने गरेको छ र आफ्नो मनोमानी गर्दै आएको छ। उसलाई यस्तो गर्ने हिम्मत अथवा यो स्थितिको सिर्जना हुनुमा हामी जती धेरै भारतलाई दोष दिन्छौ त्यो भन्दा धेरै दोष हाम्रा नेताहरुको नै छ भनेर भन्न कमसेकम मलाई भने कुनै संकोच लाग्दैन — यहाँहरुलाई कस्तो लाग्छ कुन्नी?

यसो भन्दै गर्दा यसका लागि आज कुर्सीमा रहेका नेताहरुलाई मात्र मैले जिम्मेवार ठराउन खोजेको भने बिलकुल हैन। हामी हाम्रा नेताहरुलाई देश र जनताको भाग्य निर्माताको रुपमा चुनावमा जिताएर माथि पठाउछौँ र शक्तिशाली कुर्सीहरुमा विराजमान गराउदछौँ। तर सीधा कुरा गर्ने हो भने, जब हाम्रा नेताहरु शक्तिशाली कुर्सीमा विराजमान हुन्छन्, उनिहरु देश र जनताको भन्दा पनि ज्यादातर आफ्नो भाग्य निर्माण गर्ने कार्यमा अथवा आफ्ना निहित स्वार्थहरु पुरा गर्ने कार्यमा धेरै ब्यस्त हुनेगरेको हामीले देख्दै भोग्दै आएकाछौँ।

खैर, कामना गरौँ अब त्यस्तो अवस्था दोहोरिने छैन र आउने दिनमा भारतले सिर्जना गर्ने हरेक चुनौतीहरूलाई उपलब्धिमा बदल्दै अगाडि बड्न अहिलेको नेत्रित्व सफल हुनेछ। हामी आम नेपालीको इच्छा र चाहना यहीं नै हो।

यो सन्दर्भमा एउटा अत्यन्तै सफल उदाहरणको रुपमा अहिले म बस्दै आएको कर्मभुमी कतारलाई हामी लिन सक्छौं। मैले कतारको ईतिहासको बारेमा धेरै अध्ययन त गरेको छुइन तर दि पेनिन्सुला कतारका एडिटर–इन–चीफ डा खालिद अल–शफीको एउटा लेखकमा उनले ’१९ औं शताब्दीको शुरुदेखि नै कतारले राजनीतिक र भौगोलिक परिवेशमा झेल्नु परेका धेरै षडयन्त्र तथा उत्पीडनका चुनौतीहरूलाई उपलब्धीमा रूपान्तरण गर्दै आएको छ। पछिल्लो पटक हामी माथि अन्यायपूर्णरुपमा घेराबन्दी गरिएको आज १,००० दिन बित्तै गर्दा यस बाट हामीले राजनीतिक, आर्थिक, कूटनीतिक र ऐतिहासिक रुपमा थुप्रै उपयोगी पाठहरू सिकेका छौं र हामी वास्तविकता, तथ्य र एउटा महत्वाकांक्षाका साथ भविष्यको सामना गर्न तयार छौं’ भनेर लेखेको पढ्दा यहाँको लिडरशीपमा रहेको अदम्य साहस र आत्मविश्वासले मलाई नतमस्तक बनायोे।

मेरो आफ्नै अनुभवमा पनि कतारले लगभग विगत ३ बर्ष बाट आफु माथि अन्यायपूर्णरुपमा लगाइएको नाकाबन्दीको सामना गरिरहेको छ। छिमेकी देशले ऊ संग जोडीएका स्थल, जल र हवाई सबै मार्गहरुको प्रयोग गर्न नदिएको अवस्थामा नाकाबन्दीको सुरुवातका २–४ दिन सागसब्जी तथा डेयरी प्रडक्टहरुको अभाव पो हुने हो कि भने जस्तो पनि भएको थियो तर त्यसको केही दिन भित्रैमा सबैकुराहरु पहिलाको जस्तै सामान्य बनेको थियो। त्यसपछिका दिन देखि आज सम्म आइपुग्दा कतारवासीले कहिल्यै नाकाबन्दी रहेको महसुस गर्नु परेको छैन। आज कतार सागसब्जी दुध दही लगायतका थुप्रै दैनिक उपभोग्य बस्तुहरुको उत्पादन र आपूर्तिमा एकप्रकारले आत्मनिर्भर बनेको अवस्था छ। अहिले कातार आफ्ना यस्ता उत्पादनहरुलाई आउँदा दिनमा अन्य मुलुकहरुमा निर्यात गर्ने लक्ष्य राखेर काम गरिरहेको छ।

तर यसको विपरित हामी भने भारतले हामी माथि जति पटक र जतिसुकै थिचोमिचो अन्याय अत्याचार गरे पनि सुन देखी नुन सबै र सधैं लागि उसै संग भरपर्नु परेको अवस्था छ। हाम्रो यस्तो अवस्थाले हामी सामान्य नागरिकलाई जति पीडा हुन्छ, यो पीडा हाम्रा नेताहरुलाई चै महसुस हुन्छ कि हुँदैन होला ?

खैर भविश्यमा यस्तो अवस्थाको अन्त्य गर्ने उदेश्यले तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा चीन संग सन् २०१६ मा पारवहन सम्झौता भएको पनि थियो। यो सम्झौता भए संगै नेपाले चीन लगायत अन्य तेस्रो मुलुक बाट पनि चीनका बन्दरगाह प्रयोग गरेर वस्तु आयात र निर्यात गर्न पाउने र यसले भारत संगको एकाधिकार तोडेको भनेर यसलाई त्यतिबेलाको ठूलो उपलब्धी मानिएको छ। तर प्राप्त सुविधाको व्यावहारिक प्रयोग गर्ने दिशामा भने अहिले सम्म कुनै ठोस प्रगति भएको देखिदैन, शायद हामी अर्को नाकाबन्दीको पर्खाइमा छौ।

आयात निर्यात तथा अन्तर्रा्ष्ट्रिय बजारमा हाम्रो नेपालको प्रभावलाई हेर्दा मलाई हाम्रो अर्को छिमेकी मुलुक बंगलादेशको सम्झना आउछ। सन् १९७१ भने पछि बंगलादेश एउटा स्वतन्त्र मुलुक बनेको धेरै भएको छैन। बंगलादेश र म झन्डै दामले रहेछौं हेहेहे। अर्थात हाम्रो देश संगको तुलनामा बंगलादेश धेरै कान्छो। क्षेत्रफलका हिसाबले पनि हामी भन्दा सानो। जनसंख्या भने हाम्रो भन्दा झन्डै ६ गुणा धेरै। त्यस देशका जनताको प्रति व्यक्ति आय भने हाम्रो भन्दा डबल। विश्व बजारमा बंगलादेशको पकड हाम्रो भन्दा धेरै सशक्त छ। प्रविधिको प्रयोग तथा रोजगारीका अवसरहरु सिर्जना गर्ने कुरामा उनिहरु हामी भन्दा धेरै अगाडि छन्। उनिहरु हाम्रो जस्तो आर्थिक सहायतामा हैन व्यापारमा विश्वास गर्छन्। केहि कमीकमजोरीहरु त्यहाँ पनि होलान्, तर हामी एउटा कुरा भने निर्धक्क संग भन्न सक्छौँ त्यो भर्खर जन्मिएको सानो देशले हाम्रो देशको तुलनामा धेरै अब्बल दर्जाका नेताहरु पाएको रहेछ।

हाम्रो देश नेपाल जसको हजारौं वर्षको आफ्नै ईतिहास छ जो कहिल्यै कसैको अधिनमा परेन। अंग्रेजसंग युद्ध लड्ने हामी स्वाधिन र स्वाभिमानी वीर नेपाली। संसारको सबै भन्दा अग्लो शिखर सगरमाथाको देश। गौतम बुद्धको देश। यि सबैले विश्वमा हाम्रो आफ्नै आन मान र सान छ। तर यि सबै भएर पनि हामी विकास र समृद्धिका हिसाबले विश्वका अन्य थुप्रै देशहरु भन्दा धेरै पछाडि छौं, किन?

हाम्रो देशमा अनेकन् स्रोत तथा सम्भावना नै सम्भावना भएर पनि हामी सधैं परनिर्भरको परनिर्भर। यसको मतलब समस्या कहाँ र केमा छ ? यो बिषयमा हाम्रा नेताहरू अझै गम्भीर नबन्ने हो भने अब कहिले बन्ने ? हामी अझै कहिले सम्म अरुको सहायता लिएर बाच्ने ? अब अमेरिका, चीन, बेलायत, जापान लगायतका अन्य दाता राष्ट्रहरु संग हामीलाई ’एड् हैन ट्रेड्’ देउ भनेर भन्न माग्न सक्नु पर्यो र हाम्रा निति नियमहरुलाई पनि त्यसैअनुसार अपग्रेड गरेर लैजानु पर्यो।

जसका कारण रोजगारका नयाँ नयाँ अवसरहरुको सिर्जन हुने छ। यसले हाम्रो युवा जनशक्तिलाई बिदेश पलायन हुन बाट रोक्ने छ। हाम्रा युवा साथीहरु मलेसिया तथा मध्य पूर्वमाका देशहरुमा पसिना बगाउनुको बदलामा आफ्नै राष्ट्रको विकास र समृद्धिमा जुट्नु हुनेछ। फलस्वरुप हामी र हाम्रो देश चाँडै आत्मनिर्भर बन्ने छ।

एउटा देशका लागि सार्वभौमा रुपमा स्वतन्त्र भएर रहन जति महत्वपूर्ण छ उसकालागी आत्मनिर्भर बनेर रहन पनि उत्तिकै महत्वपूर्ण छ भन्ने कुरालाई हामी कसैले नबिर्सौं अन्यथा भारत जस्तो छिमेकिले हमीलाई सधैं हेपि रहनेछ।

रमेश ढकाल
भद्रपुर झापा (हाल दोहा, कतार)
[email protected]

प्रतिक्रिया