हर्के बोल्नु पर्छ बीर्खे उठ्नु पर्छ।

भूपनारायण घर्तीमगर २०७७ वैशाख ३० गते २१:०९ मा प्रकाशित

धेरै बोले जाली नेताहरू

धेरै उठे ठगी अगुवाहरू
तर बोलेन हाम्रो देशको शान
उठेन हाम्रो राष्ट्रिय स्वाभिमान ।

कर्कलो पातको पानी घर्के झैं
घर्कदै गयो हाम्रो स्वाधिनता
ग्रहणले ओझेल परेको जुन झैं
ओझेल पर्दै गयो हाम्रो अस्मिता ।

अब पनि चुप लागेर बस्न हुदैन
जननीको छातीमा डोजर चल्न दिईदैन
चारजात छत्तिस वर्ण एक हुनै पर्छ
अब हर्के बोल्नु पर्छ बीर्खे उठ्नु पर्छ।

मीठा मीठा भाषण धेरै सुनाए
झुटो सपना झन धेरै देखाए
तर मर्दै गयो हाम्रो सपना
पुरा हुदै गयो उनको चाहना।

ढाँटे ठगे हाम्रो ब्यापार गरे
संविधान सेना सब अधिन पारे
उद्योग धन्दा सबै मासी खाए
हामीलाई बिदेशीको गुलाम बनाए।

पृथ्वी नारायणको सेना बाटो खन्दै छ
नेशनल ट्रेडिङ्ग बनेर पी पी ई किन्दै छ
जनताले नै स्वाधिनताको बिगुल फुक्नु पर्छ
अब हर्के बोल्नु पर्छ बीर्खे उठ्नु पर्छ।

सीङ्गापुर स्वीट्जरल्याण्ड बनाउछौं भने
सपना बेच्दै हजारौंको जीवन छिने
बजेट जति सबै यीनको पेटमा गयो
देश कठै झन झन पर-निर्भर भयो।

अन्याय भ्रष्टाचारका उद्योग चलाई रहेछन्
देश र जनतालाई दुरावस्था बनाई रहेछन्
रोडपति जति हेर्दा हेर्दै करोडपति बनि सके
सात पुस्तालाई पुग्ने बन्दोबस्ती गरि सके।

देश बेच्दा मिचिदा यीनको मन दुखेन
लुटीदा आमाको अस्मिता
यीनको स्वाभिमान जागेन
मेची काली सुसाउदै
सँघर्षको शँखघोष गर्नै पर्छ
अब हर्के बोल्नु पर्छ बीर्खे उठ्नु पर्छ ।
अब हर्के बोल्नु पर्छ बीर्खे उठ्नु पर्छ।

-भूपनारायण घर्तीमगर

 

 

प्रतिक्रिया