आत्तिएर केहि हुन्न मन शान्त पारौं
विपतको यो घडीलाई सबै मिलि टारौ ।।
मन लागे गीत गाउ नाचौ घरभित्र
लखर लखर घरबाहिर डुल्नुहुन्न मित्र ।।
छोराछोरी संग मिलि रमाइलो गर्दा
मख्ख पर्छन् उनीहरू संगै खेल खेल्दा ।।
सुनाएर राम्रा कथा अनि ज्ञानका कुरा
समयको सदुपयोग गरौ मित्र पूरा ।।
बेला यस्तै पर्यो हेर जान बाहिर नसकिने
परिश्रम गरि दुई छाक, ढुक्क खान नसकिने ।।
घरैभित्र बस्नु पर्ने आयो कस्तो दिन हेर
घरैभित्र बसे पनि नफाल न दिन खेर ।।
घरैभित्र बसी केहि सृजनाका काम गर
सक्छौँ चित्र बनाई थोरै त्यसमै बुट्टा भर ।।
खुसी बाजा बजाएर आउनु पर्छ भन्ने छैन
खुसी खोज्न अन्त कतै जानु पर्छ भन्ने होइन ।।
साना साना कुरामा नि खुसी हुन खोज्नु पर्छ
आफैँभित्र चम्किएको उज्यालोलाई रोज्नु पर्छ ।।
अस्त व्यस्त जीवनको थोरै छुट्टि जस्तो ठान
प्रकृतिले यहि गरायो भन्ने सोची सन्तोष मान ।।
फिलिम हेर मन लागे युटुवमा सुन गीत
बेला यहि हो रमाउने आफ्नै परिवार सित ।।
यस्तो मौका फेरि फेरि आउँदैन पक्कै मित्र
बाहिर फेर नडुलेर विन्ती घरमै बस भित्र ।।
विष्णु पगेनी सिग्देल तनहुँ नेपाल । हाल: मेरिल्याण्ड, अमेरिका ।।
प्रतिक्रिया