कविता-म

प्रा. डा. मोहनप्रसाद तिमल्सिना २०७७ वैशाख २० गते २२:१७ मा प्रकाशित

आमा बा गुरुबा र सन्त सबको सत्कर्मको पालक
झर्ना, छाल, हिमाल वा बगरमा मै घुम्छु- मै धावक
टारी, टार र खेतका सब कुना सिञ्चेर आफैँ जल
छाडी मोह विदेश, देशभरमा आफैं बनूँ बादल ।१।

मै भन्ने सब सत्य-तथ्य तरिका देखेँ चमत्कार यो
मै जान्ने किन जान्नु जान्नु दुनियाँ कस्को भयो हार यो
जित्दैमा पनि जीत जीत नहुने ‘मै’ बन्नु ‘मै हूँ’ किन
यो हो स्वर्ग रमाइलो गति हुने आत्मा जितेको दिन ।२।

नौलो ठाउँ छ दिव्य अद्भूत कला मै तत्वको खोजमा
मेरो अर्थ मभित्र भित्र भुइँमा मै भित्र यो देहमा
भत्केमा पनि भाव बन्दछ नयाँ मान्छे बनेको म हुँ
मै भन्दै अझ उठ्छ देश दिनहुँ मान्छे भनेको म हुँ ।३।

आत्माको अनुरूप रूप रङमा रङ्गी रहेको म छु
सारा स्वार्थ विलीन हुन्छ कि भनी जङ्गी रहेको म छु
मेरो स्वार्थ मभित्र भित्र छ अझै खोक्रो भएँ दिन्दिन
के हो आत्मपरात्म यो क्षितिजको आफू स्वयं चिन्दिनँ ।४।

मेरो स्वर्ग छ कल्पना हृदयमा आकाशभन्दा पर
साँच्चै स्वर्ग छ कल्पना मगजमा भेटिन्छ त्यो सत्वर
साँचो ईश्वर भेट्छु भेट्दछु सुधा प्युँदै त्यसैमा रहूँ
धर्तीपुत्र बनी सुकर्म सुखमा ज्यूँदै त्यसैमा रहूँ ।५।

कलंकी, काठमाडौँ ।

प्रतिक्रिया