रौतहट,
रौतहटका सञ्चारकर्मीहरुले अनाथहरुलाई सहयोग गरेका छन्।सञ्चारकर्मीहरुले पाएको सहयोग आफूले नलिई अनाथालयलाई हस्तान्तरण गरेका हुन्।
रौतहटको ईशनाथ नगरपालिकाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर समितिले रौतहट जिल्लाका क्रियाशील पत्रकारहरुलाई खाद्यान्न तथा व्यक्तिगत सरसफाइ सामग्री हस्तान्तरण गरेको थियो ।नगर अध्यक्ष मोहन मेहताले नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेको सामग्रीमध्ये गौरस्थित नेपाल भारत मैत्री अनाथालयलाई चार बोरा खाद्यान्न तथा अन्य सामग्री हस्तान्तरण गरिएको थियो।
आइतबार गरुडास्थित वंशीराम जयसवाल अनाथालयलाई १५ बोरा चामलका साथै अन्य सामग्री हस्तान्तरण गरिएको छ । बोरामा २५ किलो बासमती चामल भएको सचिव श्रेष्ठले बताएका छन्।
चामलको बोरासँगै दाल, नून, खानेतेल, साबुन, सेनेटाइजर, हैन्डवास, टूथ पेस्ट, ब्रस लगायतका सामग्री पनि रहेका छन्।
जिल्लाका १५ सञ्चारकर्मीको सहयोग अनाथालयलाई हस्तान्तरण गर्दै सचिव श्रेष्ठले अनाथाश्रममा रहेका बालबालिकालाई कठिन आफूहरुले पाएको सहयोग हस्तान्तरण गर्न पाउँदा आफूहरुलाई सन्तोष लागेको बताएका छन्।
दिनरात जोखिममा रहेर काम गर्नुपर्ने सञ्चारकर्मीहरुले आफ्नो भागको खाद्यान्न तथा सरसफाइ सामग्री अनाथालयलाई हस्तान्तरण गरेकोमा संस्थापक वंशीराम जयसवालले अनाथ बालबालिकाहरुको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।
अनाथालयमा ३४ बालबालिका रहेका छन् । अनाथ बालबालिकाको सम्पूर्ण भरणपोषण र अभिभावकत्व अनाथालयले ग्रहण गरेको छ ।
प्रतिक्रिया