परिवार दलद्धारा एक सय क्वीण्टल चामल सहयोग

इनेप्लिज २०७७ वैशाख १३ गते १६:१० मा प्रकाशित

काठमाडौं ।नेपाल परिवार दलले कोरोना महामारीका सन्दर्भमा अफ्ठ्यारोमा पर्नेहरुलाई स्थानीय सरकारको समन्वयमा बितरण गर्ने गरी एक सय क्वीण्टल चामल सहयोग गर्ने भएको छ ।

सो पार्टीका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले लामो समयदेखिको लकडाउनले गर्दा प्रभावित बनेका अति बिपन्न नेपाली समुदायलाई सहयोग गर्ने उद्धेश्यले सय क्वीण्टल चामल सहयोग गर्ने निर्णय गरेको छ ।

परिबार दलले यसअघि पत्रकार महासंघ र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री, माक्स, सेनिटाइजर समेत सहयोग गरेको थियो । राहत सामग्री स्थानीय निकाय तथा सुरक्षाकर्मीहरुसंगको समन्वयनमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार वितरणको व्यवस्था मिलाउन परिवार दलले जिल्ला समन्वय समितिलाई निर्देश गरेको छ ।

बैठकले महामारीको कारण सामाजिक अस्थिरता , बेरोजगार र हिंसा बढ्न सक्ने खतरा प्रति सरकारलाई सचेत बनाउदै तुरुन्त कोभिड १९ पिडितहरुको लागि राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

परिवार दलले केही समय अघि सयुक्त राज्य अमेरिका र बिद्रोही तालिवान बीच भएको ससर्त शान्ति सम्झौता तथा संयुक्त राष्ट्र संघका महासचिब महामहिम एन्टोनियो गुटेरेसले कोभिड १९ को बिरुद्धमा प्रभाबकारी तरिकाले लड्नको लागी मार्च २३ मा विश्वभर युद्ध लडिरहेका सबैसँग युद्धविरामको लागि गर्नु भएको प्रस्तावलाइ स्वागत गरेको छ ।

बैठकले कोभिड १९ संग लड्दै गर्दा र कोभिड १९ पश्चातको समेत परिस्थितिलाई ध्यानमा राखी नेपाल परिवार दलले प्रशिक्षण, सदस्यता वितरण तथा नवीकरण, चन्दादान र सहयोग, सूचना, बैठक, सार्बजनिक सुनुवाई आदि अनलाइन प्रणालीद्वारा गर्ने प्रबिधि विकास गर्न सूचना प्रबिधि विभाग गठन गर्ने निर्णय पनि गरेको छ ।

राजनैतिक दलले आफ्नो औचित्यको पुष्टी चुनौती र संकटको घडीमानै गर्नु पर्ने हुन्छ भन्दै बैठकले महामारीमा नेपाल परिवार दलका सबै तह र तप्काका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई कोरोनाभाइरस बिरुद्धको अभियानमा लाग्न परिवार दलले आग्रह गरेको छ सो दलले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिकमा सामजिक एकता, सहयोग, प्रेम, सदभाव र भाइचाराको भावना फैलाउँदै सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि चालेका सबै कदमहरुलाई सहयोग गर्न पनि अनुरोध गरेको छ । बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिदै कोभिड १९ को रोकथाममा सरकारले गरेको प्रयासको प्रशंसा समेत गरेको छ ।

सो दलले एक्काइसौं शताब्दीको आधुनिक राज्य उदारवादी, लोकतान्त्रिक र कल्याणकारी चरित्रको हुनु पर्छ भन्दै राज्यले स्वास्थ्य र शिक्षाको पूर्ण जिम्मेवारी लिनुपर्ने अबस्था आएको बताएको छ ।
परिबार दलले संकीर्ण राष्ट्रवाद, पृथकतावाद वा स्वार्थीपन बाट माथि उठी नयाँ भूमण्डलीकरण, सहकार्य, मानवीयता र परोपकारका साथ साझा लक्ष्य फेला पार्न तयारीमा लाग्नुपर्ने बेला आइसकेको बताएको छ ।

नयाँ राजनीतिक, आर्थिक तथा सामाजिक प्रणाली सहितको नयाँ विश्व व्यवस्थाको स्थापना अपरिहार्य भएकोले सरकारले यिनै तथ्यहरुलाई विश्लेषण गरी आफ्नो आगामी यात्रा तय गर्न पनि परिबारदलले सुझाब दिएको छ ।

प्रतिक्रिया