आमा

पीताम्बर पाण्डेय २०७७ वैशाख ११ गते १६:३७ मा प्रकाशित

​यो जीवनमा कुनै एक चिज मागे म पुर्याइ दिन्छु भन्छन भगवानले भने मभन्ने थिए- जीवन लामो होस् तर त्यो जीवनको अन्तिम क्षण सम्म म आफ्नीआमाको हँसिलो अनुहार देख्न पाइ रहूँ।

कारण धेरै छन् तर प्रमुख कारण योहो कि म आफ्नी आमा कै एक अंश हुँ र सृष्टिकर्ता बिनाको मेरो अस्तित्वअर्थहीन पाउँछु।

मेरी आमा मेरो जीवनको सृष्टिकर्ता मात्र हैन।

मेरो शिशुकालका संवेदनशील समय र परिस्थितीहरुको संरक्षक अनि बाल्यकालबाटै ज्ञान संस्कारको ज्योतिले सबै कुकर्मका सम्भावित बाटोहरुको नाश गर्नेअर्थात ब्रम्हा, बिष्णु र महेश्वर सबै उनै हुन्।

हरेक घरमा देवता आँफै आउननभ्याउने भएर त होला, हरेक मानव जीवन लाई आफ्नी आमा सँग जोडेर पठाइ दिएका, घर-घरमा आमा दिएका। अनि आनन्ददायक कुरा यो छ कि सबै सन्ततीलाई आ-आफ्नी आमा प्यारी अनि हरेक आमालाई आफू भन्दा प्यारा आफ्ना सन्तान।

यस्ती आदरणीय आमालाई म कहिले प्रकृति सँग जोडेर हेर्छु त कहिले जीवनसँग। तर सबैमा सर्वोच्च नै पाउँछु।

आमा तिमी नदी हौ, ममताकी। तिमी सागर हौ, मातृप्रेमकी। अनि महासागर हौ स्नेह र करुणाकी। सन्तानको निमित्त आफ्नो लागि केही पनि नराख्ने तिमी मात्र त हौ भगवान, यो दुनियाँकी। तर यो बुझ्न त्यति सजिलो रहेनछ। गल्ती गर्दा अरुको अगाडि मलाई पिट्थ्यौ, म रुन्थें तर मलाई पिट्ने आमा तिम्रो आँखामा पनि आँशु किन आउँथ्यो, म बुझ्न सक्थिन। घरमा अन्न-सब्जी सकिंदा समेत पाहुना-पाछा र कदाचित् माग्नेहरुको लागि समेत कसरी खाना पुर्याउने गर्थ्यौ, त्यो मैले कहिल्यै बुझ्न सक्थिन। तिम्रो कला र बिveक कति अतुलनीय छ आमा। म सानो थिए, तिमी त धेरै ठूली। तर तिमी ठूलीभए पनि मेरो कचौरामा दुध तिम्रोमा भन्दा सधैं किन धेरै हुन्थ्यो, म कहिल्यै बुझ्थिन। तिम्रो माया कति अपार छ। कैयौँ पटक आधा पेट त कहिले भोकै सुथ्यौ तर म कहिल्यै भोकै सुतेको जान्न परेन छर-छिमेकी कहाँ किन गई रहन्थ्यौ होलीसायद मेरै लागि पो थियो कि? त्यो म कहिल्यै बुझ्न सकिन। सन्तानको निम्ति तिम्रो मातृस्नेह कति आदरणीय छ, त्यो म बल्ल बुझ्दै छु। भाँडा भरी तरकारी हुन्थ्यो, सबैले खाएर उठ्थे, अनि अन्तिममा आफ्ना लागि केहि रस बनाइ रहेकी हुन्थ्यौ। मलाई लग्थ्यो तिमीले छुट्टै बिशेष केहि बनाएर खाने गर्दथ्यौ, म कति अबुझ थिए। स्थिति जस्तो सुकै होस्, गोठका गाई, बाख्रा त भोकै सुत्न परेन, मलाई किन भोकै सुत्न दिन्थ्यौ र आमा तिमीले? त्यो त म अहिले बल्ल सोच्दै छु अनि त्यसैले त भन्दै छु कि तिमी मेरी मात्रै हैन जगतकी भगवान् हौ।

​धेरै चिन्तन पश्चात मेरो अबुझ मस्तिष्कले निस्कर्ष निकाल्दछ – यो सबै तिमीले मात्र गर्न सक्दछौ किन भने तिमी “आमा” हौ। थोरै बुझे पनि यो शब्द को अर्थ खोजेर नै सकिदो रहेनछ। म जति नै घोत्लिएर सोचुँ, अनि मेरो मनोबेग जति नै रफ्तारमा दौडियोस्, तिमो मातृप्रेमको हिसाब गणना गर्न सकिदैन। तिम्रो देदीप्यमान ममताको गहिराइ नाप्न सकिदैन। अनि म जतिसुकै पढुँ, तर तिम्रो बयान गर्ने उच्च-शब्द नै पाउँदिन। अनि मेरोअन्तरमनमा एक प्रश्न सृजना हुन्छ आखिर आमा तिमी को हौ?

म फेरी बाल्यकाल सम्झन्छु। म रिसाइ बसे तिमी बोलाई रहन्थ्यौ। म बोली रहे तिमी सुनी रहन्थ्यौ। मेरो आँखामा आँशु देखे पनि तिमी रुन्थ्यौ, म खुशीले पागल हुँदा पनि तिमी रुन्थ्यौ, म कसरी बुझुँ कि तिमी को हौ!

​महिनौ पेटमा राखेर जन्म दियौ। मेरा प्रत्येक रातहरुमा आफु जागेर सुतायौ। मेरा प्रत्येक रुवाइमा आत्तियौ, हाँसोमा रमायौ। म सानो नाजुक फूल जस्तो नाबालकलाई यति ठूलो बनाउदा सम्म कति दु:ख खेप्यौ, त्यो त कल्पना बाहिरको कुरा रहेछ। त्यो मातृ-ॠण घटाऊन म आमा को लागि के गरेँ त भनि सोच्दा आज म अहँ त्यस्तो केही पाउँदिन।

म त यति अभागी रहेछु कि मैले पहिलो पटक “आमा” भनेर कहिले बोलाएँ भन्ने पनि याद छैन। चाहे म संसार देखुँ, तर तिम्रो जस्तो सुन्दर अनुहार म कहीँ कतै देख्न पाउँदिन। उन्नतिको शिखर र सबैको वाह वाहमा बाँचु, तर मेरो लागि तिम्रो जस्तो खुशीको मिठो हाँसो म कहीँ-कसै बाट पाउँदिन। मायाको भोक र प्रेमको प्यासले चाहे सारा संसार चहारुँ, तर तिम्रो काखको न्यानोको असीम आनन्द र संरक्षण म कहीँ पाउदिन। स्वर्गिय आनन्दको बैभव-गगनमा नाचुँ, रमाउन खोजुँ तर तिम्रो कपडाको जस्तो दिव्य सुगन्ध म कहीँ भेट्दिन। आमा म तिमीलाई ममताकी नदी मान्दछु, मातृप्रेमकी सागर र अनि ममता र करुणाकी महासागर पनि मान्दछु।

म उपमा तिमीलाई धर्तीको दिन्छु। तुलना केवल पृथ्वी सँग मात्र हैन पुरा ब्रम्हाण्ड सँग गर्दछु। तर जे भने पनि तिम्रो निम्ति यि सबै शब्द र शब्दभावहरु फिक्का र अमूर्त लाग्न छोड्दैन। खै कुन शब्दले बयान गरुँ आमा कि तिमी को हौ?!

अन्तत निष्कर्श निकाल्दछु आमातिमी चाहे जो सुकै होउतर मेरो लागिआदिदेवी हौ जसलाई  सधैं शिर्शस्थानमा राखेर पूजा गर्न पाइ रहूँ

मातृ-औँशी/आमाको मुख हेर्ने दिनको सबै जनालाई धेरै-धेरै शुभकामना, सम्पूर्ण माताहरुलाई हृदयभावले प्रणाम !

Follow the writer at:
https://www.facebook.com/PitambarOfficial

प्रतिक्रिया