आमा । तिम्रो मीठो साथ छुटेपछि रोएँ
विधाताले प्यारो काख लुटेपछि रोएँ
घुमेकाछन् नयनमा वात्सल्यका दिन
नियतिले झुक्याएर कुटेपछि रोएँ
अन्त्य भयो सहाराको भएँ एक्लो जस्तै
ममताको न्यानो आँचल टुटेपछि रोएँ
तिमीसँगै बाटो लागे सुख शान्ति मेरा
आफ्नो भाग्य सिसा सरि फुटेपछि रोएँ
कैले फसेँ उष्णतामा कैले तुषारोमा
कैले चर्को वर्षातले चुटेपछि रोएँ
के गरेर तिर्ने मैले तिम्रो भारा अब
घनघोर विपत्तिले भुटेपछि रोएँ
आशंका र अन्योलले निलेकाछन् रोज
दुर्दशाको कालो बादल जुटेपछि रोएँ
(माता तीर्थे औंशी २०७७)
-कोमल भट्ट
च.न.पा.१३,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
प्रतिक्रिया