स्वास्थ्य चौकीलाई पिपिइ सामग्री , एचआइभी संक्रमितलाई खाद्यान्न

इनेप्लिज २०७७ वैशाख ५ गते १५:३६ मा प्रकाशित

गुल्मी । ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा कोही पनि बिरामी आएमा तत्कालै उपचार गर्न चिकित्सकलाई हिच्किचाउन नपर्ने गरी सामाजिक संघसंस्थाहरुले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), सेनिटाइजर, र मास्क उपलब्ध गराएका छन ।

लायन्स क्लब अफ गुल्मी, लायन्स क्लब अफ लर्डबुद्ध लगायतका संघसंस्थाहरुले बिभिन्न जिल्लामा स्वास्थ्य संबन्धी सामान्य सामग्रीहरु उपलब्ध गराएको छ । क्लबका सदस्यहरुले आर्थिक सहयोग संकलन गरी पिपिइ सेटहरु, सेनिटाइजर, मास्क उपलब्ध गराएको लायन्स क्लब लर्ड बुद्धका सस्थापक अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताएका छन ।

गुल्मीको छत्रकोट गाउंपालिकाका अध्यक्ष मधुककृष्ण पन्तलाई सो क्षेत्रका स्वास्थ्य चोकीका लागि क्लबका अध्यक्ष भण्डारीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन । हस्तान्तरण समारोहमा गाउपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारी , लायन्स क्लबकी रिजनचेयरपर्सन यमुना भण्डारी, क्लबकै ओमबहादुर ढेगा मगर लगायतको सहभागिता थियो । गुल्मी लायन्स क्लबले पनि जिल्लाका अन्य ठाउमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

एचआइभी संक्रमितलाई खाद्यान्न

लकडाउनको कारण खाद्य सामग्रीको समस्या भोगिरहेका एचआइभी संक्रमित तथा प्रभावितहरुलार्इ शान्ति फाउण्डेशनले टियर फण्ड नेपाल, फेमिली एण्ड परियोजना तथा अन्य ब्याक्तिगत सहयोगद्वारा राहत वितरण गरेकोछ ।

काठमाडौंको कुमारीगालमा जम्मा २२ जनालाइ खाद्य सामग्री वितरण गरेको शान्ति फाउण्डेशनकी अध्यक्ष सन्जमाया तामाङले जानकारी दिएकी छन । नेपालमा कुल १७ हजार ९ सय ८७ जना एचआइभी संक्रमितहरुले एआइभी औषधि सेवन गरिरहेका छन ।

ठूलो सख्यामा औषधि लिने काठमाण्डौ स्थित शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै दुइ हजार ४ सय ५० ले औषधि लिदै आइरहेका छन । सरकारले निःशुल्क रुपमा प्रदान गर्दै आएको एआरभी औषधि एचआइभी संक्रमितहरुले भाइरसको प्रभाव कम गर्न दैनिक रुपमा सेवन गर्ने गर्छन । लकडाउनका कारण औषधी लिनको लागी घण्टौ हिडन पर्ने र सबैले नसक्ने हुदा शान्ति फाउण्डेशनले संक्रमितहरुको घरमा नै गएर औषधि वितरण गरिरहेको छ ।
नेपाल सरकारको तथ्यांकमा नेपालमा २९ हजार ९ सय ४४ जना एचआईभी एड्स संक्रमित रहेका छन जस्मा पुरुषको सख्या १७ हजार ७ सय ३२ छ भने महिलाको सख्या १२ हजार २ सय १२ रहेको छ । त्यसैगरी एक हजार २ सय ९६ जना बालबालिकामा पनि एचआइभि सक्रमण रहेको बताइएको छ ।

नेपालमा दैनिक दुइ जना एचआइभी संक्रमित थपिने गरेको र वर्षमा ८ सय ९५ जनाको एचआइभि एडसको कारणले ज्यान जाने गरेको छ । सरकारले सन २०२० भित्र ९० प्रतिशत संक्रमितहरुको पहिचान गर्ने, ९० प्रतिशत संक्रमितहरुलाइ एआरभीको पहुचमा ल्याइ यसैमा टिकाइ राख्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया