फर्केर हेर्दा, आफैंलाई

गोविन्द गिरी प्रेरणा २०७७ वैशाख ५ गते ११:०३ मा प्रकाशित

गोविन्द गिरी प्रेरणा,

गत डिसेम्वरमा चिनवाट शुरु भएको कोरोना भाइरसले अहिले पूरै विश्व आक्रान्त छ । यो भाइरसवाट सङ्क्रमितहरुको सङ्ख्या वीसौं लाख नाघिसकेको छ र मृत्यु हुनेहरुको सङ्ख्या सवालाख नाघिसकेको छ । यस्तो दुर्दान्त समयमा टुप्लुक्क आइपुगेको छ, मेरो जन्म दिन । हरेक वर्ष बैशाख ५ गते आउनु भनेको मेरो जन्म दिन आउनु हो, यो समयको गतिशीलतासङ्गै, निरन्तरतासङ्गै हरेक वर्ष आइरहन्छ । यसपाली पनि आयो ।

२०१५ साल बैशाख ५ गते मेरो जन्म भएको हो, टेक्कर सिस्नेरीमा । त्यो हिसावले मैले अब ६३ मा पाइला टेकें । जीवनमा ६३ वर्षको उमेर भोग्न पाउनु आफैंमा सुखद कुरा हो । संसारमा कति विश्वविख्यात साहित्यकारहरु अल्पायुमा वितेर गएका छन्, बिभिन्न रोगले, अनुशासनहीन अनियन्त्रित खानपानले, दुर्घटनाले । कतिले त आफैंले मृत्युवरण गरेका पनि छन् । तर तिनीहरुले त्यति छोटो उमेरमा जीवन बिसाए पनि कताकता अनकण्टार मुलुकको म जस्तो मानिसले आज पनि तिनीहरुलाई चिन्नु, याद गर्नु भनेको यौटै कारणले हो, उनीहरुले दिएर गएको योगदान, उनीहरुले छाडेर गएको साहित्यिक विरासत, उनीहरुले फैलाएको विचारहरु नै हुन् । तिनीहरु त्यसमै बाँचेका हुन्, बाँचिरहन्छन् ।

म आफूलाई यसो हेर्दछु र सोच्दछु, मैले जीवनमा के गरें ? मैले छाडेर जाने कुरा के हो ? के मैले बाँचेको जीवन सार्थक थियो वा छ ?

टेक्करको त्यो अनकण्टार गाउँमा जन्मेको म २०२३ सालमा खाली खुट्टा हेटौंडा बसाईं सरेको हुँ । हेटौंडाबाट जुत्ता लाएर ट्रकमा चढेर काठमाडौं गएको थिएँ । अनि काठमाडौंबाट अत्याधुनिक जेट विमानमा अमेरिका पुगेको हुँ । यौटा ब्यक्तिको हिसावले यो जीवनको उकालीको यात्रा नै हो । एक प्रकारको प्रचण्ड सफलता नै हो ।

ईश्वरीय वरदान थियो कि के हो म जान्दिन २०३४ सालदेखि मैले साहित्य लेख्न थालें जुन आज पनि निरन्तर छ । साहित्यका सबै जसो बिधामा कृतिहरु लेखें, आजका मितिसम्म २५ थान मौलिक कृतिहरु प्रकाशित भएका छन् । अनुवाद र सम्पादन गरेका कृतिहरु १२ छन् । प्रकाशनका लागि झण्डै एक दर्जन कृतिहरु तयार छन् । लेख्ने काम निरन्तर गरिनै रहेको छु । मलाई कताकता लाग्छ, म शायद लेख्नकै लागि जन्मेको हुँ । मेरो लागि धर्म, अर्ध, काम , मोक्ष सवै लेखन नै हो । लेख्दा पाउने सन्तुष्टि, प्रकाशन हुँदा पाउने सन्तुष्टि अतुलनीय छ, त्यो कुनै सन्तुष्टिसँग दाँज्न सकिन्न । त्यो सुख कुनै सुखसँग दाँज्न सकिन्न ।

जीवन एक मानेमा उत्सव हो । हरेक दिन उत्सव हो । मानिसको जीवन धरतीका प्राणीहरुमध्ये सर्वोत्तम हो, सर्वोत्कृष्ट हो । यो जीवन आफैंमा उपहार हो । आफैंमा वरदान हो । दुनियाँमा गुनासोको कुनै अन्त छैन । असन्तुष्टिको कुनै अन्त छैन । अप्राप्तिको कुनै अन्त छैन । हासिल गर्न मन लागेका वस्तुहरुको कुनै अन्त छैन । ती सव हामीले पाएका, हासिल गरेका भन्दा अतुलनीय रुपले धेरै छन् । अव हासिल गरेका प्राप्तिवाट खुशी र सन्तुष्टि लिंदै जीवनलाई निरन्तरता दिने कि सदा असन्तुष्ट भएर दुखी भैरहने त्यसको रोजाई मानिसकै हातमा छ, मानिसकै सोचाइमा छ ।

आज मसँग जे छ, जति छ, त्यो सुखी हुनका लागि पर्याप्त छ । तर जे छैन ती मलाई दु:खी र असन्तुष्ट हुनका लागि जीवनपर्यन्त पर्याप्त छन् । रोज्ने मैले हो । मैले सुख र सन्तुष्टिको वाटो रोजेको छु । तर वेलाबेलामा असन्तुष्टिहरुले वाटो छेक्न आउँछन्, आत्म विश्वासलाई डग्मगाउन आउँछन् । यो भनेको एक प्रकारको अग्नि परीक्षा हो । अग्नि परीक्षा मानिसले पाइला पाइलामा ब्यहोर्न तयार हुनुपर्दछ । अनि प्रत्येक अग्नि परीक्षामा खरो उत्रनु पर्दछ । यो नै जीवनको सुन्दरता हो । चुनौती विनाको जीवन, काँढा विनाको वाटो, नुन मसला नहालेको अलिनो तरकारी हो । यसको स्वादै हुँदैन ।

मानिसले जीवन आफ्नो रोजाइले पाएको हैन । मृत्यु पनि उसले रोज्न पाउने हक छैन । यो गैर कानूनी हुन्छ । तर जीवनलाई फलाउने, फुलाउने, सुखी पार्ने रोजाई भने मानिसमा हुन्छ । यति राम्रो रोजाईलाई सदुपयोग गर्नु नै जीवनलाई वुझ्नु हो ।

पानी पर्यो भने छाता ओड्नु पर्छ, छाता बोकेर हिंडेको मानिसले पानी किन परेन भन्न मिल्दैन । जीवनमा जे समस्या आउँछ, त्यसलाई त्यही रुपमा स्वीकारेर समाधानको बाटो पहिल्याउने हो । अहिले विश्वमा कोरोनाको कहरले सिंगो मानब जातीमै भय, त्रास, सन्त्रास, छटपटी साराका सारा ल्याइदिएको छ । यो कोरोना भाइरस यसरी आउला र यस्तो बिध्वँस मच्चाउला भन्ने कसैले सोचेका थिएनन् । नोस्त्रेदामको भविष्यवाणी हेरेर र पछ्याएर संसार चलेको छैन र चल्न पनि सम्भव छैन । यसको अन्तिम रुप के हुने हो, समाधान कहिले हुने हो र कति मानिसको वली खाने हो, अझै कसैले अनुमान गर्न सकेका छैनन् । जे जस्ता अनुमानहरु थिए, ती परिवर्तन भएका छन् निरन्तर रुपमा ।

अब मेरो आफ्नै कुरा गर्ने हो भने, गत ७ मार्चदेखि म भारतको बृन्दावनमा छु । १३ देखि १६ मार्चमा दिल्लीमा सम्पन्न हुने दक्षिण एशियाली साहित्य महोत्सवमा भाग लिएर २० मार्चमा भिस्टारा एयरवेजबाट काठमाडौं जाने टिकट थियो । तर नेपाल सरकारले एनआरएन कार्ड होल्डरलाई अन एराइभल भिषा दिन बन्द गर्ने निर्णयसँगै मेरो यात्रामा पूर्ण बिराम लाग्यो । त्यसपछिको लकडाउन अझै जारी छ । यी सब सत्यबाट दु:खी भएर आफैंलाई दु:खी वनाउनु भन्दा म लेख्न जन्मेको मान्छे, मेरो कर्म लेखन हो भनेर लेखनमा समयको सदुपयोग गरेको छु । चिन्ता गरेर, दु:खी भएर पनि समय बिताउन सकिन्थ्यो । त्यसले कुनै फाइदा त हुने थिएन । मनोवल कमजोर हुन्थ्यो । तर लेखनले मलाई बलियो बनाएको छ । मैले लेख्छु भनेर सोचेको तर लेख्न अनुकूल नभएर दिमागमा डेरा जमाएर बसेका कतिपय बिषयमा लेख्न पाएर आल्हादित भएको छु । म जस्तो नेपाल हिंडेका तर वाटोमै अड्केका कति होलान् थाहा छैन । तर सामुन्ने आइपरेको समस्या झेल्नु र त्यसको समाधानको टुङ्गो पर्खनुको कुनै विकल्प छैन । आज गर्न सकिने काम आजै गर्नुपर्छ । मैले यसलाई मूल मन्त्रको रुपमा स्वीकारेको छु ।

आफैंलाई फर्केर हेर्दा, मैले बाँचेको ६२ वर्षको उमेर मैले सार्थक रुपमा बिताएँ भन्ने लाग्छ । बाँकी जीवन पनि पूर्ण सार्थक बनाउने हो, सिर्जनशील बनाउने हो, सुन्दर बनाउने हो ।

५ बैशाख २०७७, बृन्दावन भारत ।

प्रतिक्रिया