दुख्दै छु म आज यहाँ

- बिष्णु पगेनी सिग्देल २०७७ वैशाख ३ गते २०:५३ मा प्रकाशित

दुख्दै छु म आज यहाँ, खोजिरहेछु तिम्रै भर
तिमीलाई भने लाग्छ केवल मै फर्कन्छु भन्ने डर ।।
हिजो दुख पर्दा त्यहाँ आँसु यता झरिरहयो
आज दुख पर्दा यहाँ तिमीलाई पीर परिरह्यो ।।

यस्तो बेला आशा थियो साहानभूति देखाउनेछौ
यो मुटुमा भाइचाराको मीठो माया लेखाउनेछौ । ।
यति कठोर बन्न सक्छौ पत्याउदिन रत्तिभरि
दुई चार शब्द पोख्न आटेँ मनको पीर निभ्ने गरि ।।

जब कुनै नेपालीको अविरल आँसु झर्थ्यो
गर्न के सक्छु होला मलाई जहिले पीर पर्थ्यो ।।
साथीभाइ जुटाएर थोरै सहयोग गर्दा खेरि
मन सार्है खुसी हुन्थ्यो घाउमा मलम छर्दा खेरि ।।

जति त्यहाँ पीडित थिए सुन्न खोज्थेँ सबको कथा
गास काटि काटि यहाँ टाल्न खोज्थेँ थोरै व्यथा ।।
जब देश दुख्यो त्यहाँ, देश बचाउँन हिडिँरहे
अहिले आफू दुख्दै गर्दा तिम्रा वचन सुनिरहे । ।

भन्दै छौ रे ठूलो स्वरले दिनुहुन्न तिनलाई आउन
यहि नबसी सुख खोज्न कल्ले भन्यो विदेश जान ।।
राजनीतिको भक्ति गाउने पुगिहाल्थे धेरै माथि
डिग्री भको कागजको आएन नि पालो साथी ।।

बस्न मन त थियो साथी मेरै देश कति कति
परदेशिने विवशता मेरा अघि धेरै माथि ।।
रहेनछ भाग्य मेरो आफ्नै देशमा बस्ने साथी
प्रत्येक पल देश सम्झेर पोल्ने गर्छ देब्रे छाती ।।

पसिनाले पैसा साटी परिवार रमाउनु छ
साँवा सहित रीन तिर्न अलि पैसा कमाउनुछ ।।
पचास डिग्री घामले पनि पोल्न छाड्यो साथी मलाई
माइनस तीसको चिसो पनि लाग्न थाल्यो जाती मलाई ।।

जहाँ गए नि जहाँ भए नि म नेपाली होइन र?
मुटुभित्र तिम्रोजस्तो माया देशको छैन र?
नेपालीले दुख पाउँदा मन तिम्रो रुदैन र?
दुख साट्न पाए हुन्थ्यो भन्ने तिमीलाई हुँदैन र?

दुख्दै छु म आज यहाँ खोजिरहेछु तिम्रै भर
तिमीलाई भने लाग्छ केवल मै फर्कन्छु भन्ने डर ।।
हिजो दुख पर्दा त्यहाँ आँसु यता झरिरहयो
आज दुख पर्दा यहाँ तिमीलाई पीर परिरह्यो ।।

– बिष्णु पगेनी सिग्देल
तनहूँ, नेपाल, – हाल मेरिल्याण्ड, अमेरिका ।

प्रतिक्रिया