भावको मुस्कानमा आउँछे उनी

अलका मल्ल, काठमाडौँ २०७६ चैत २९ गते ११:३२ मा प्रकाशित

म डुबेथें उनको चञ्चल बैसमा
उनकै रुपको प्रशंसामा तल्लीन
शर्मालु उनका सरस आँखाहरुले
भाग्य रेखा कोरिरहे जस्तो ।

भावमा डुबेर उनको काख
लाग्छ कहिले सिरानी
कहिले लाग्छ नछुट्टिने हात
तिनै हुन् जसलाई मैले देखें ।

एकोहोरो साथ पाइरहे जस्तो
उनी बाहेक कोही नभए जस्तो
चाँजो पाँजो मिलिरहे जस्तो
आखिर साथ तिनीनै हुन् कि ?

जो निस्वार्थ साथमा तल्लिन
आँसुको अर्थ बुझ्ने ब्यक्तित्व
जसले मलाई एकोहोरिएर
स्पर्श गरिरहेको अनुभूति हुन्छ ।

उनी तिनीनै हुन् जसलाई
मैले सपना अनि बिपनामा
अटुट देख्ने गर्थें, बस उनी
जो भावको मुस्कानमा आउँछे ।

उनी तिनै रुपमती हुन्
जो बिहानीको सिरेटो संगै
उषाको किरण बोकी ल्याउँछे
जसले बाँच्ने साहस दिन्छे ।

उनी तिनै हुन् जो संधै
भावको स्पर्शमा आउँछे ।

अलका मल्ल, काठमाडौ

प्रतिक्रिया