कोरोना नियन्त्रण र रोकथामका लागि नेपाल सरकार थप एक्सनमा जाने (फोटो फिचर र भिडियो सहित)

टंक पन्त २०७६ चैत २३ गते १३:५७ मा प्रकाशित


बुटवल । नेपालमा कोरोना संक्रमणलाई नियन्त्रण र रोकथामका लागि सरकारले राज्यका सबै निकायलाई परिचालन गर्ने भएको छ ।

कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि सरकारले आफ्ना सबै निकायलाई थप प्रभावकारी रुपमा परिचालन गर्न लागेको कोरोना नियन्त्रण सम्वन्धी सरकारको उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलले जानकारी गराएका छन ।

अहिलेसम्म सरकारले आप्ना ठाउबाट कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि कुनै कसर बाकी राखेको छैन तर अहिले सम्म भए गरेका निर्णय र कामको सिकाइका आधारमा थप गंभीर भएर अगाडि बढनुपर्ने स्थिति आएको छ, पोखरेलले भने ।

नेपालमा १३ दिन देखि जारी रहेको लकडाउनलाई थप प्रभाबकारी बनाउने र आम नागरिकहरुलाई जतिसुकै अफ्ठ्यारो भएपनि सामना गरी धैर्यधारण गर्न सरकारले बिशेष आग्रह समेत गरेको छ । बिभिन्न प्रदेश सरकारले आआपना ठाउबाट कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभाबकारी भुमिका निभाएका छन ।

स्थानीय निकाय र जनता समेत सचेत

स्थानीय सरकारले आम नागरिकहरुलाई सक्रमणबाट जोगिन सचेतनाको अभियान चलाएका छन । त्यसैले सांझ बिहान खुलेका केही तरकारी पसल, खाद्यान्न पसल, औषधि पसलदेखि अन्य सामान्य पसलमा वस्नेहरुले हातमा पैसा नलिने , आफ्नो हातमा पञ्जा लगाउने , पञ्जाको अभावमा पोलिथिन बेर्ने , पैसा फिर्ता दिंदा सामानमै राखिदिने र बाहिरबाट पसलमा जानेहरुलाई कृपया नजिक नआउनुहोला भन्ने र पसलको अगाडि कोही हतारमा नछिरोस् भनी डोरी टाग्ने व्यवस्था गरेका छन ।
ग्रामिण क्षेत्रमा समेत मान्छेहरुमा सचेतनाको अब कुनै कमि छैन केबल लकडाउनबाट नागरिकहरुलाई परेको अफ्ट्यारोलाई कसरी सामना गर्ने भन्ने मात्रै राज्यका लागि चुनौति देखिएको छ । ५ नं प्रदेशको रुपन्देही , परासी , कपिलबस्तु , बाके, र बर्दियाका नेपाल भारत सीमानाबाट दुबै देशका नागरिकहरुलाई यथास्थानमा क्वारेण्टाइनमा राख्ने काम भएको छ ।

सीमा पारीका नेपाली बिरामी र सुत्केरीलाई नेपाल सरकारले ल्यायो

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले दिएको जानकारी अनुसार सुनौलीको सीमाना भारततर्फ चैत्र १७ गते सम्म ३ सय १२ जना नेपालीहरु बिभिन्न ठाउबाट आएका थिए । यता नेपाल तर्फ पनि भारतीयहरु १सय ५५ जना रहेका थिए । नेपाल र भारतका अधिकारीहरुबीच बैठक बसी नेपालतर्फ रहेका भारतीयलाई नेपाल सरकारले खाने बस्ने , सुत्ने ब्यबस्था गर्ने र भारततर्फ रहेका नेपालीहरुका लागि भारत सरकारले सुत्न,े खाने ब्यबस्था सहित कोरेण्टाइनमा राख्ने निर्णय भएको र सोही अनुसार काम भैरहेको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी गराएका छन ।

तर सुत्केरी भएका, सुत्केरी हुनेवाला र बिरामी भएकालाई पहिचान गरी नेपाल ल्याउने ब्यबस्था गरेका छौ– प्रजिअ पन्थले भने । प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली सीमा पारी गइ एक जना सुत्केरी महिला र उनको परिबार, गर्भवती महिला, उनका पति र बच्चालाई नेपाल ल्याइ प्रशासनले नै एम्बुलेन्स मार्फत उनीहरुकै घर तम्घास पठाएको पन्थले बताएका छन ।

दिल्लीबाट अप्रेशन गरी फर्केका अर्घाखाचीका मीनराज खनाल र उनका छोरा राहुल खनाललाई स्वेदेश ल्याई प्रशासनले नै एम्बुलेन्स मार्फत अर्घाखाची पठाइएको छ । त्यसपछि सीमाना अहिले ३ सय २ जना मात्र रहेका छन । उनीहरुको अबस्था कस्तो छ भन्ने कुराको जानकारी प्रशासनले निरन्तर लिइराखेको कुरा पनि प्रजिअ पन्थले स्पष्ट पारेका छन ।

स्थानीय प्रशासनले सीमानामा थप कडाइ पनि गरेको छ । सीमानामा एकले अर्कोलाई देख्ने गरी सुरक्षाकर्मी थप गरिएको छ । सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । लकडाउन पनि बुटवल भैरहवा जस्तो शहरमा पनि निकै प्रभाबकारी देखिएको छ । तीन दिन यता काठमाडौ, चितबन, हेटौडा, परासी शहर अबलोकन गर्दा रुपन्देही जिल्लामा लकडाउन निकै प्रभाबकारी भएको देखिएको छ ।

किसानले दुध पोख्न पर्ने स्थिति नहुंदा नहुदै पनि संकटका बेला अन्य समयमा जस्तो सहज भएन भनेर कतिपयले दुध पोखेर सामाजिक संजालमा राखेको प्रति पनि स्थानीय सरकारको गभीर ध्यानाकर्षंण भएको तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेब घिमिरेले बताएका छन ।

एम्वुलेन्सको हैरानी

कोरोना संक्रमणले गर्दा एम्बुलेन्सहरुले पनि हैरान गर्न थालेका छन । बिरामीहरुलाई कतै लैजान पर्ने भयो भने एम्बुलेन्सले नमान्ने समस्या देखिएको छ । यदि कोरोना संक्रमणले गर्दा कसैलाई केही भयो भने के गर्ने होला भन्ने हुन थालेको छ । कोरोना नलागेका बिरामीलाई केही हुंदा त परिवारले लैजान नमान्ने, एम्बुलेन्सले सेवा दिन नमान्ने स्थितिले गर्दा निकै अफ्ट्यारो हुन थालेको प्रजिअ पन्थले बताए ।

निजी अस्पतालको बेइमानी

नीजि अस्पतालहरुले बुटवल, भैरहवा, परासी, चितवन, बांके, कपिलबस्तु लगायतका जिल्लामा पनि ज्वरो आएर पुग्ने बिरामीलाई पनि लिने गरेका छैनन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पन्थले पनि यस्तो संकटका बेला निजी अस्पतालहरुले झन् सहयोग गर्नुपर्नेमा उल्टो असहयोग गरेको अनुभुति भएको जनाएका छन । त्यसबारेम मन्त्रीहरुले कारबाही गर्ने भन्ने गरेको भएपनि केही गर्न सकेका छैनन निजी अस्पताहरु छाडा जस्तै भएका छन । काठमाडौ लगायतका अन्य जिल्लामा पनि अधिकांश निजी अस्पतालहरुले संकटका बेला असहयोग गरेका छन ।

एक्सन कमिटी

५ नं प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलको नेतृत्वमा कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभाबकारी बनाउन एक्सन कमिटी बनाइएको छ । मन्त्री , सुरक्षा निकायका प्रमुख समेतको सहभागिता रहेको कमिटीले सिगो ५ नं प्रदेशमा लकडाउन लगायत कोरोना नियन्त्रण र रोकथामका लागि बिशेष काम गर्ने छ ।

आइतबार नै मुख्य मन्त्री पोख्रेलले रुपन्देही, कपिलबस्तु, परासीका प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुखसंग छलफल गरेका छन । सीमा क्षेत्रमा उच्च सतर्कता, लकडाउन ब्यबस्थापन , र कोरोना १९ रोकथामको थप तयारी सन्दर्भमा केन्द्र र प्रदेश सरकारको निर्णय कार्यान्वयन, सीमाबाट अबैध आवत जावत कडाइका साथ रोक्ने जस्ता बिषयमा छलफल भएको मुख्य मन्त्री पोख्रेलले बताएका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Posted by Enepalese on Sunday, 5 April 2020

प्रतिक्रिया