लकडाउन – आत्म मूल्याकंन

अलका मल्ल, काठमाडौं २०७६ चैत १९ गते १०:४१ मा प्रकाशित

भनिन्छ मानिसको भाग्य, समय, परिस्थिति, प्राकृतिक नियम, दैवी प्रकोपलाई कसैले रोक्न सक्दैनन् । कोही भन्छन् मानिस यो प्रकृतिको एउटा हिस्सा हो तर कोही भन्छन् मानिस इश्वरको अर्को रुप हो, मानिसमा इश्वरको बास हुन्छ । प्रकृतिले रुपहरु फेर्दै गर्दा मानिस त्यसै अनुरुप प्रकृतिलाई सजाउने, बचाउने दिनचर्याको पालना गर्दै आएका हुन्छन् । प्रकृति जतिसुकै भयावह अवस्थामा किन नहोस् प्रकृतिलाई संरक्षण गर्ने कार्य मानिसले गरिरहेका हुन्छन् । प्राणिको कयौं जुनी पछि मानिसको जुनिमा जन्म लिन्छौं भन्ने कुरा पनि हामीले इतिहासमा पढ्दै सुन्दै आएका छौं ।

संसारका हामी जस्तै सबै मानिसहरु अनेकौं नयाँ नयाँ रोगहरुसंग लडिरहन परेकाछन् ।आजको परिस्थितिमा भन्न्ने हो भने कोरना भनिने नयाँ रोगको महामारीले संसार त्रसित भइरहेका छन् जसलाई निवारण गर्न यो अवस्थामा सर्व प्रथम डाक्टर बाहेक अरु कसैले सकेका छैनन् त्यसैले डाक्टरलाई हामी भगवान् को स्वरुप मान्न हिचकिचाउन पछि नपरे हुन्छ । त्यसो त डाक्टरको एकल प्रयासले यसको निवारण हुन संभव छैन, डाक्टरको साथसाथै नर्स, संचारकर्मी, पत्रकार, प्रहरी, स्वयं सेवकहरु पनि निस्वार्थ रुपमा लागी परेका छन् ।अर्को कुरो हामीहरुले कोरोना महामारीका कारण लकडाउनको नियम पालना गर्नु पनि रोगको आँकडा घटाउनु हो । यो सरुवा रोग भएको कारणले हामीले सतर्कता अपनाउनु नितान्त आवश्यक छ । आजसम्म संसारका २०१ वटा देशहरुमा यो रोग फैलिसकेको छ भन्ने कुरा समाचारबाट थाहा पाइरहेका छौं तर यो रोग कहाँबाट कसरी फैलियो भन्ने बास्तविक तथ्य पत्ता लगाइ यकिन गर्न अप्ठेरो स्थितिमा छ ।

यो अवस्थामा हामीले मानव प्रति करुणा, दया माया जगाउनु अति आवश्यक देखिन्छ । हुन त देशका धनाद्यहरु र मानवता भएकाहरु बिस्तारै गरिब गुरुवा, असाहय, बुढापाकाहरुको उपकारको निम्ति लागी परेका उदाहरणहरु पनि समाचारमा प्रसस्तै सुन्न देख्न पाइरहेका छौं ।संसारका सबै देशहरुमा समाचार कोरनामय बन्दै गइरहेका छन् । लेखहरु पढ्न खोज्दा पनि प्रायःकोरनाकै बारेमा लेखिएका हुन्छन् । छिमेकीहरुसंग यसो कुरा गर्न गर्न खोज्यो पृथ्वीको भार कम हुन लागेको रे ! भविष्यवााणी गर्ने गुरुहरु भन्छन् यो महामारी धेरै बर्ष अगाडीको भविष्यवाणी, कोही भन्छन् रोग फैलाउने कार्यमा देश देशले राजनिति खेलिरहेछन् ।

यो लक डाउनमा आफूले आफूलाई चिन्ने मौका वा आत्म मूल्याकंन गर्ने अवसर पाएका छौं । परिवारसंग बसेर गर्न बाँकी सल्लाह गर्न पाएका छौं । कार्यालयमा काम गरेर थकित हामी समय समयमा घुम्न जान्छौं र बजारमा आँखाले देखेका सामानहरु प्रति आकर्षित भइ फ्याट्ट किनी हाल्ने बानी कन्ट्रोल हुंदै गएको देखिन्छ । घरैमा पकाएर खाने भएकोले खानाहरु स्वस्थ्यकर खाने बानी बस्न थालेको छ। परिस्थिति अनुसार जे पनि गर्न सक्छन् भन्ने कुरो अहिले प्रमाण स्वरुप देख्न पाएका छौं । बर्षौ लाग्ने भवन वा अस्पतालहरु पनि अहिले केहि दिनमानै तयार हुन थालेका छन् । अरुमा निर्भर हुनेहरु आ-आफ्नो काममा स्वाबलम्बन बन्न प्रयास गर्दै छन् ।

आजको अवस्थाले फेसबुकको प्रचलनमा पनि रंगरुप परिवर्तित भइरहेको देख्न सक्छौं । अलिक दिन अगाडिका फेसबुकका पानाहरुमा घुमेको, रेष्टुरेन्ट गएर खाएका फोटोहरु अपलोड गरिएको प्रशस्तै देख्थ्र्यौ भने अहिले सबैजनाले लकडाउनमा समयको सदुपयोग गरी मनोरनजनात्मक टिकटक, गीतहरु, पुराना फोटोहरुको खोजी गर्दै राख्न थालेका छन् जसले हामीलाई एक किसिमको नयाँपन झल्किएको बोध हुन थालेको छ । यो समय हामीमा भएको सीप सदुपयोग गर्ने अवसरको रुपमा लिंदा फरक नपर्ला । “रोइ रहनु भन्दा गाइ रहनु बेस” यो हाम्रो पुरानो उखान टुक्का हो । समय अहिले यस्तै भएको छ । चिन्ताले कुनै समस्याको हल कदापी हुन सक्दैन ।

हुन त यो मानव जीवनमा बैज्ञानिकरका साथसाथै रोगहरुको निवारण पनि तिब्र रुपमा पत्ता लाग्दै छन् त्यसैले यो दैवी प्रकोप र प्राकृतिक चक्रसंग मानिस कुनै पनि परिस्थितिमा लड्न अग्रसर भइरहन्छन् । यस्तो क्षमता अरु प्राणिमा नभइ मानिसमानै हुन्छ । त्यसैले मानिस भगवानको अर्को रुप हो भने प्रकृतिको पनि एक अंश हो भन्ने कुरो बुझिन्छ ।

मरेर केहि लानु छैन । हामी जसरी जन्म्यौं अन्त्यमा त्यसरीनै खाली हात बिदा हुनु पर्छ । लोभ लालच, घमण्ड, इर्ष्या भन्ने कुरा क्षणिक हुन् भन्ने कुरा हामीले यो लकडाउनका दिनहरुमा अझ बढि मनन् गर्न पाएका छौं ।

हामी मानवको धर्म पनि यहीनै हो । आफू सुरक्षित तरिकाले बाँचौं र अरुलाई पनि बचाउन आफूले के कति कदम चाल्न सकिन्छ सोही तवरले बचाऔं । यहीनै हामी मानवको कर्म कर्तब्य र धर्म हो ।

अलका मल्ल, काठमाडौं

प्रतिक्रिया