सलाम छ तिमीलाई

बिमला निरौला-(फेरफ्याक्स भि ए ) २०७६ चैत १६ गते १२:०८ मा प्रकाशित

कन्चन सफा सेता कवज त्यस्तै निर्मल तिम्रा मन,
धर्म, सत्य नौतिक अनि आत्मीय र आफ्नो पन ।
झुकेनन् कहीं तिम्रो सोच ब्यक्तीगत सुख माझ
गर्यौ त्याग लगन धेर सलाम छ यो युगको आज ।

निजी स्वार्थ पर राखी बिशुद्ध कर्म गर्न खोज्यौ,
समाजलाई जीवन सुम्पि सेवाको त्यो मार्ग रोज्यौ ।
पिडाका तिखा काँडाहरुले मुटु छेड्दा नि घरी घरी
कोमल बन्यौ बिरामीलाई सुन्दर फूलको थुङ्गा सरी।

मिठो बोली मुस्कान अनि करुन्य छन् तिम्रा काम
बिरामीको भरोशामा बन्छ्यौ पर्दा बाबा आमा ।
तिम्रै हातमा राखिदिए अघि सार्न आफ्नो जीवन
तिनका हर घाऊ बिच घुल्छौ बनि शितल मलम।

बिश्व भर महमारी रोगको प्रलय आईपर्दा
बाँच्ने आश आङ्कुर्दैछन् तिम्रा स्पर्शले गर्दा ।
टुंगिए झैं भाथ्यो जीवन धिप् धिप् ज्योती बल्न थाल्यो
बिसर्जन झैं बन्या शरीर अब चलमल गर्न थाल्यो ।

इतिहासको सङ्कट र निकृष्ठ पल पन्छाएर
धैर्यका साथ उद्धार गर्यौ जीवनी यी बचाएर ।
मृत्युसँग लडी आफैं धुकधुकीमा प्राण भर्यौ
पुण्य अनि पवित्र यो मानवताको सम्मान गर्यौ ।

पुजनीय बन्यौ आज स्वास्थ्यकर्मी सेवक सारा
आँखाका हौ नानी तिमी नभका चम्किला तारा ।
संकटको यो आंधी बिच हामी सबै तिम्रो भर
सलाम छ तिमीहरुलाई कर्म प्रती छ आभार ।
सलाम छ तिमीहरुलाई कर्म प्रती छ आभार ।।

प्रतिक्रिया