पोर्तुगलमा नेपाली संक्रमित छैनन्, क्वारेन्टाइनमा ३ जना मात्र नेपाली (भिडियोसहित)

इनेप्लिज २०७६ चैत ९ गते २३:५४ मा प्रकाशित

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलमा एकजना नेपालीलाई कोरोना संक्रमण भएको र क्वारेन्टाइनमा ७४ जना नेपाली राखिएको समाचार गलत भएको दावी गरिएको छ । आप्रवासीहरुका लागि उच्च आयुक्तको कार्यालय (एसीएम) र सीमा तथा आप्रवासी हेर्ने निकाय (सेफ) सँग समन्वय गरेर क्वारेन्टाइन शिविरमा पुगेका कमल भट्टराईले वास्तविकता बाहिर ल्याएका छन् । उनीहरुलाई इबी २,३ सातो आन्तोनिउ विद्यालय फारोमा राखिएको छ ।

‘विद्यालयमा ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सबै दक्षिण एशियाका छन् ।’ भट्टराईले नमस्ते नेपालीसँग भने, ‘नेपाली तीनजना, बंगाली तीनजना, पाकिस्तानी सातजना र भारतीय ३९ जनालाई विद्यालयमा राखिएको छ ।’

भट्टराईले अरु पाँचजनालाई अलग्गै राखिएको प्रष्ट्याएका छन् । ती पाँचमध्ये तीनजनालाई संक्रमणको पुष्टि भएको छ भने दुई जनालाई कोरोनाको लक्षण देखिएकाले अलग्गै राखिएको तर संक्रमणको पुष्टि भैनसकेको स्वास्थ्यकर्मीले बताएका छन् । ती पाँचैजना भारतीय रहेको भट्टराईले बताए । शिविरमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र रेडक्रसका प्रतिनिधिहरु खटिएका छन् ।

पोर्तुगीस खाना उपलब्ध गराएकोमा क्वारेन्टाइनमा भएकाले असन्तुष्टि प्रकट गरेपछि स्थानीय प्रशासनले विहीबार बेलुकीदेखि नै इन्डियन खाना उपलब्ध गराउने भएको छ । दुईहप्तापछि कोरोनाको संक्रमण नदेखिएमा क्वारेन्टाइनमा राखिएकाहरुलाई ससम्मान फिर्ता पठाइने छ । आज भएको छलफलपछि इन्डियन खाना उपलब्ध गराइने भएको हो । आजैदेखि थप कपडा पनि उपलब्ध गराइने भएको छ ।

शिविरमा रहेका सबैलाई कामगरेबापत पाउने तलब र सामाजिक सुरक्षा कोष (ट्याक्स) सरकारले उपलब्ध गराउने भएको छ । क्वारेन्टाइनमा राखिएकाहरुलाई सेवा सुविधासहित सरकारले तलब र ट्याक्ससहित उपलब्ध गराउने कुरा सुनेपछि तीन नेपाली युवकहरुले खुशी प्रकट गरे । यद्यपि आफूहरु स्वस्थ हुँदा हुँदै सामुहिक क्वारेन्टाइनमा राखेकोप्रति गुनासो व्यक्त गरेका छन् ।

पोर्तुगलका लागि गैरआवासीय राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले पोर्तुगलको घटनाबारे नेपालमा रिपोर्टिङ गरिसकेको बताएका छन् । अधिकारीले सरकारको निर्देशनबमोजिम निकट भविष्यमै यसबारे सम्बोधन गर्ने बताए । कुनै समस्या परेमा फोन नम्बर +३३ ६ २६८३ ८०९३ र ईमेल ठेगाना [email protected] मार्फत राजदूतावाससँग सम्पर्क गर्न सकिने कुरा उनले जानकारी दिएका छन् ।

यसबारे बुझ्न लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालसँग भने टेलिफोन सम्पर्क हुन सकेको सकेन ।

प्रतिक्रिया