प्रियतमा तिमी दूर भैदियौ
किन बटारियौ क्रूर भैदियौ
तिमी हराउँदा हर्ष टाढियो
अमन चैन वा शान्ति भाँडियो
सरस भावमा गुन्गुनाउँथ्यौ
अति समीपमा बस्न आउँथ्यौ
क्षण बहारका स्वप्न झैँ भए
हृदय शून्य भो दर्द झाङ्गिए
नयनबीचमा घुम्दछ्यौ अझै
सुखद कल्पना छर्दछ्यौ अझै
नबन निर्दयी फर्क पासमा
मिलन सम्झिँदै बस्छु आसमा
सकल सिर्जना ठप्प भैसके
मृदुल चाहना वैलिँदै गए
तिमी उदाउँदा देह फुल्दछ
विरह वेदना शीघ्र भुल्दछ
(इन्दिरा छन्द)
विश्व कविता दिवस 2020
-कोमल भट्ट
च.न.पा-१३,काठमाडौँ
हाल:-न्युयोर्क
प्रतिक्रिया