वदलिंदो काठमाडौंको दृश्यलाई शव्दमा उतार्ने कोसिस गरेको छु : साहित्यकार पराजुली

इनेप्लिज २०७६ चैत ७ गते २२:५६ मा प्रकाशित


राजेन्द्र पराजुली एउटा यस्तो साहित्यकार हुन्, जो मनको आदेश लेख्छन् । व्रम्हले सत्य जे देख्छ, त्यही गर्छन । जहां रमाउंछन्, त्यहां काम गर्छन, जुन दिन चित्त वुझ्दैन, त्यही दिनदेखि कामवाट समेत अलग हुन्छन् । पछिल्लो समय त उनले कहांकहां काम गरे, के के काम गरे भन्ने समेत गणना गर्न छाडिसकेका थिए । तर उनको यही मनमौजी जीवनलाई लिपिवद्ध गर्न कसैले प्रेरित गर्यो र लेखे आफ्नै जीवनका कथा समेटेर संस्मरणात्मक पुस्तक ‘कोटेश्वरको केटो’ । माओवादी विद्रोहको कथा समेटिएको उपन्यास ‘अनायिका’, राजनीतिक कथाहरु भन्ने ‘शुक्रराज शास्त्रीको चस्मा‘, सामाजिक र राजनीतिक कथा भन्ने ‘अघोरी‘ जस्ता साहित्यिक कृतिका जन्मदाता पराजुली आफ्ना कितावहरुको विमोचन भने गर्न रुचाउंदैनन् । धेरै साहित्यकारहरुले कोरोना संक्रमणको कारण आफ्नो पुस्तक विमोचन रोकिराखेको समयमा उनले भने कोटेश्वरको केटोलाई पाठकवीच पठाइदिएका छन् । प्रस्तुत छ इनेप्लिजले पुस्तकको विषयमा साहित्यकार पराजुलीसंग गरेको कुराकानी

तपाईंको संस्मरण ‘कोटेश्वरको केटो’ सार्वजनिक भएको छ, यसले कुन समयको कस्तो कथा भन्छ ?

यसले आजभन्दा चार–साढे चार दशकअघिको कोटेश्वर र काठमाडौंको कथा भन्छ । त्यसबखतको काँठको दृश्य देखाउँछ, सांस्कृतिकता, सामाजिकता, जीवनशैली, प्राकृतिकतालाई शब्दमा कहन्छ । म आफू जोडिएको पत्रकारिता र साहित्यका विडम्बना र सामथ्र्य पनि बताउँछ ।

तपाईं काठमाडौंमा जन्मनु भयो र हुर्कनु भयो, तपाईंको यो पुस्तकले बदलिँदो काठमाडौंको चरित्रचित्रण गरेको छ कि आफ्ना कथा मात्रै भन्छ ?

यसमा मैले मुख्य रुपमा बदलिँदो काठमाडौंको विषयलाई सम्झने प्रयास गरेको छु । आफ्नो बाल्यकाललाई सम्झने क्रममा मैले पुस्तकको पहिलो अध्यायको शीर्षक ‘कोटेश्वर’ राखेको छु । उक्त अध्यायमा त्यसबखतको कोटेश्वर र काठमाडौंको अवस्था चित्रण गर्ने प्रयास गरेको छु ।
यो मैले भोगेको, देखेको र अनुभूत गरेका सन्दर्भहरुको स्मरणको पुस्तक भएकाले यसमा आफ्नै अनुभव बढी त हुने नै भयो । तर आफ्ना कुरा भनिरहँदा मैले काँठ कोटेश्वरले भोग्नुपरेको सांस्कृतिक संक्रमण, राज्यपीडालगायतलाई बढी उजागर गरेको छु । त्यसबखतको काठमाडौंको पूर्वी भेग कोटेश्वर कस्तो थियो भन्ने सन्दर्भमा बढी केन्द्रित छु, त्यसकारण पनि यो पुस्तकले वैकल्पिक इतिहास बन्ने सामथ्र्य राख्ला कि भन्ने पनि लागेको छ । साथमा मैले आफ्नो निजी जीवनका संघर्ष, सफलता–असफलतालाई पनि यसमा उनेको छु । मैले आजीविका चलाइरहेको पेसा पत्रकारिताका विशेषगरी अँध्यारा पाटालाई केलाउने प्रयत्न पनि गरेको छु ।

धेरै साहित्यकारहरुले कोरोना संक्रमणको कारण अहिले आफ्ना पुस्तकको विमोचन समेत रोकेर राखेका छन्, तपाइले त वजारमा पठाइदिनु भयो । किन ?

म राम्रा पुस्तकहरुको लामो आयु हुन्छ भन्ने कुरामा विश्वास गर्छु  । कोरोनाको कारण धेरै मानिसहरु अहिले घरमा वस्नु परेको छ, यो अवस्थामा कोटेश्वरको केटो उहांहरुको दिन विताउने माध्यम हुनेछ । जसले अहिले किन्न भ्याउनु हुन्न, अवश्य पनि कोरोना संक्रमण अन्त्य भएपछि किन्नुहुनेछ ।

तपाईं कथा, निबन्ध, उपन्यास, कविता, संस्मरण, फिचर सबैतिर छाउनु भएको छ । एउटा मान्छे यति धेरैतिर बाँडिँदा कस्तो अनुभूति हुन्छ ?

मेरो मूल विधा कथा हो । साहित्य यात्राका आरम्भका दिनमा कविता लेखेको हुँ, अहिले खासै लेखेको छैन । उमेरले यो अंकमा टेकिसकेपछि संस्मरण त म मात्रै होइन, जोकोही अन्य लेखकले पनि लेख्छन् नै । आफ्ना अनुभव, भोगेको र देखेको कुरा लेख्दा पछिल्लो पुस्तालाई फाइदै होला, त्यही कारण संस्मरण लेख्नु आवश्यक देखेँ । संस्मरण पनि निबन्धको एउटा रुप नै हो । फिचर पत्रकारितामा लेख्नैपर्ने कुरा भइहाल्यो । म खासमा धेरैतिर बाँडिएको छैन, कथामा केन्द्रित छु । त्यही कारण त अन्य विधा (कविता, उपन्यास र संस्मरण) का एक एकवटा पुस्तक आउँदा कथाका पाँच वटा पुस्तक आइसके ।

नेपालका अधिकांश साहित्यकारका कृति क्रमशः कमजोर हुँदै गइरहेको देखिन्छ । तर तपाईंका कृतिमा भने सधैं एकरुपता छ, न धेरै उत्कृष्ट न कमजोर । आफ्नो एउटा स्तर कायम राख्नुभएको छ, कसरी मूल्यांकन गर्नु हुन्छ आफ्नो लेखनीको ?

तपाईंले भनेको कुरामा आंशिक सत्यता छ । कपितय नेपाली लेखकका पहिलो कृति राम्रो भएको र त्यसपछि कमजोर हुँदै गएको देखिन्छ, सबैको त्यस्तो छैन । मेरो सवालमा म अघिल्लो कृतिभन्दा नयाँ कृति कुनै न कुनै रुपमा स्तरीय हुनुपर्छ भन्ने मान्यता राख्छु । त्यसका निम्ति कडा मेहनत गर्छु । मेरा कृतिका ह्वात्तै हजारौं पाठक नबढे पनि क्रमशः पाठक वृद्धि भइरहेको पाएको छु । कथा भन्ने नयाँ शिल्प, शैली र भाषिक स्तरीयताका निम्ति मेहनत गरिरहेको छु । अघिल्लो कृतिभन्दा नयाँ कृति कसरी र कुन ढंगमा स्तरीय पार्ने भन्ने विषयमा गृहकार्य गर्छु, मेहनत गर्छु । म आफ्नो लेखनमा अझै मेहनत, थप अध्ययन र अनुसन्धान गर्नु आवश्यक देख्छु, त्यो गर्दै आएको पनि छु ।

साहित्यकारहरुका आआफ्नै क्याम्प छन् । तपाईंको पनि थियो, नारायण ढकाल, हरि अधिकारी, नयनराज पाण्डे, अच्युत वाग्ले आदिसँगै तपाईं हुनु हुन्थ्यो, ती अहिले पनि छन् कि छिन्नभिन्न सक्यो ?

म क्याम्प र गुटउपगुटमा विश्वास गर्दिनँ । साहित्य लेख्ने र त्यसलाई पठनीय बनाउने भन्ने विषय नितान्त निजी परिश्रमको कुरा हो । पुराना कतिपय मित्रहरु आफ्नै लहरमा लहरिइरहेका छन्, आफ्नै पेसाव्यवसायमा व्यस्त छन् । म सधैं एक्लै उभिएको र एक्लै हिँडिरहेको मानिस हुँ । साहित्यमा मात्र होइन, जीवनका हरेक क्षेत्रमा म एक्लै उभिन चाहने मानिस हुँ । मलाई कसैले पनि हात समातेर तान्दै यो क्षेत्र (साहित्य, पत्रकारिता)मा अघि बढाएका होइनन् । म जे छु, आफ्नै मेहनत र संघर्षले भएको हुँ । र, यसमै मलाई आनन्द पनि छ ।

नेपाली साहित्य लेखन अहिले प्रवासबाट पनि तीव्र रुपमा अघि बढिरहेको छ । डायस्पोरा साहित्यलाई कसरी लिनु भएको छ ?

डायस्पोरिक लेखनलाई अहिले जसरी बुझिएको देखिन्छ, त्यो बुझाइ नै गलत छ । कोही केही दिन, महिना वा समयका लागि कुनै देश जाँदा लेखिएको साहित्य डायस्पोरिक लेखन होइन । यसको परिभाषा नै बेग्लै छ । पछिल्लो समय प्रवासमा रहेर केही लेखकले राम्रो लेखिरहेको देख्छु । तर राम्रो लेख्नेले भन्दा हल्ला गर्न जान्नेले स्थान पाइरहेको देख्छु । प्रवासमा रहेर राम्रो लेख्नेले जहिले पनि नेपाली साहित्यलाई फैलाउन मद्दत गरिरहेका छन् ।

ईनेप्लिजमार्फत् आफ्ना पाठकलाई केही भन्न चाहनु हुन्छ ?

पहिलो कुरा त, मेरा कृतिहरु पढ्न म तपाईंहरुलाई अनुरोध गर्छु । मेरा रचनामा रहेका कमजोरी र सबल पक्षबारे प्रतिक्रिया दिनुभयो भने मैले आगामी कृतिमा त्यसलाई सुधार्न र थप मेहनत गर्न पाउने छु ।

तपाइको अघिल्लो कथा संग्रह अघोरी त अमाजोन डटकम मार्फत अन्तराष्ट्रिय वजारमा पुगेको थियो । कोटेश्वरको केटो विदेशमा बस्ने नेपालीले कसरी पढ्न पाउलान् ?

प्रविधिको फड्कोले संसारका जुनसुकै कुनामा रहेका पाठकले पनि पुस्तक मगाउन सक्ने भएका छन् । नेपालमा पनि त्यसरी पुस्तक पठाइदिने कम्पनीहरु खुलेका छन् । तिनै माध्यमबाट मगाएर विदेशमा रहेका नेपाली पाठकले मेरा कृति पढ्न पाउने छन् । मेरो प्रकाशकले मलाइ दिएको जानकारी अनुसार, किताव यात्राले विदेशमा समेत पठाउने भएको छ ।

प्रतिक्रिया