कोरोनाले वदलिदिएको अमेरिकी तस्विर

किशोर सापकोटा २०७६ चैत ६ गते १८:४२ मा प्रकाशित

  • किशोर सापकोटा

अमेरिकी जीवनमा यति चांडै वदलाव आउन सक्छ भनेर कल्पना समेत गरिएको थिएन । आजकल घरवाट वाहिर निस्किदा लाग्छ, पहिला र अहिलेको अमेरिका वेग्लावेग्लै हो ।

अघिल्ला हप्ताहरुमा वजार जांदा लाग्थ्यो, यी स्टोरहरु  कहिले रित्तिएलान् ? अहिले वजार जांदा लाग्छ, यी स्टोरहरु अव कहिले भरिएलान्  ? ठुलाठुला स्टोरका ग्रोसरी आयल्समा सामान हाल्न नपाइ रितिन्छन् । ट्वाइलेट पेपर, हेन्ड सेनिटइजर, टिस्यु पेपर स्टोरमा नदेखिएको हप्तौ वित्यो । अमेरिकी सप्लाई चेन यति चांडै टुट्छ भन्ने अनुमान समेत गरिएको थिएन । सडकहरु विस्तारै विस्तारै सुनसान हुंदै गएका छन् । कोरोना आतंकको जगजगी यति वढेको छ कि हरेक परिवारदेखि सर्वत्र कोरोनाको असर वाहेकका कुरा हुंदैनन् ।

दुइ महिना अगाडि अमेरिकामा पहिलो संक्रमित पुष्टि भएपनि पछिल्लो दुइ हप्तावाट कोरोनाले डढेलोको रुप लिएको छ । कोरोना संक्रमण अहिले अमेरिकाका ५० वटै राज्यमा फैलिएको छ । पछिल्ला दुइ दिनमा कोरोना संक्रमितहरुको संख्या दोव्वर भएको छ । मंगलवार सांझसम्ममा संक्रमितहरुको संख्या ६ हजार ५ सय भएकोमा विहीवार सांझसम्ममा १४ हजार २६२ जनालाई संक्रमण भइसकेको छ । कोरोनाको कारण विहीवार मात्रै ६८ जनाको निधन भएपछि निधन हुनेको कुल संख्या २१८ पुगेको छ ।  हिजो मात्रै कोरोना संक्रमणवाट ६८ जना अमेरिकी नागरिकहरुले ज्यान गुमाए । न्यूजर्सीमा कोरोना भाइरसको कारण एकै परिवारका तीन जनाले ज्यान गुमाएको र अरु ४ जना गम्भीर विरामी भएको समाचारले अझ आतंक थपेको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले ८ हप्ताभित्र सो राज्यका ५६ प्रतिशत अमेरिकी नागरिक कोरोना संक्रमित हुन सक्ने भनी गरेको अनुमानले अझ अत्याएको छ न्युजर्सीकी ७३ वर्षीय ग्रेस फुस्कोले आफ्ना दुइ सन्तानले कोरोनाको कारण जीवन गुमाएको समेत थाहा नपाइ मृत्यु वरण गरिन् । सो परिवारका अरु चारजना वालवालिका पनि अस्पतालमा रहेको र तीनजनाको अवस्था चिन्ताजनक रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । अहिलेसम्ममा दुइजना कंग्रेसम्यानलाई कोरोना संक्रमण भएका समाचारहरु आइसकेका छन् र उनीहरुको सम्पर्कमा भएका अरु केही कंग्रेसम्यान पनि सेल्फ क्वारेन्टाइनमा वसेका छन् । अहिले सवैभन्दा ठुलो आतंक मानिसको मनमनमा रहेको छ । अस्पतालमा जचाउन नआएका वा रिपोर्ट आउन वांकी रहेकाहरुको संख्या कति होला ?

धेरै मानिसहरुलाई कोरोना भाइरसले वृद्ध उमेरका मानिसलाई मात्रै असर गर्छ भन्ने मान्यता थियो तर अमेरिकामा युवा अवस्थाका मानिसलाई पनि कोरोना संक्रमण भइरहेको छ । वालवालिका पनि संक्रमित भएकाछन् । संसारका धेरै मानिसहरुले अमेरिकाले कोरोनालाई सहजै नियन्त्रण गर्न सक्ला वा औषधि वनाउला भन्ने अपेक्षा गरेका थिए तर अवस्था अपेक्षा गरे जसरी अगाडि वढेको छैन । आज विहानैदेखि स्थास्थकर्मीहरुले आवश्यक सामग्रीको अभाव रहेको वताइरहेका छन् । अस्पतालको अवस्था झन्झन् दारुण वन्दै गएको छ । विरामीको सेवामा जुट्नु पर्ने स्वास्थकर्मीहरुले समेत यथेष्ट मात्रामा आफुलाई सुरक्षित वनाउन आवश्यक पञ्जा र मास्क पाउन नसक्नुले समग्र स्वास्थ अवस्थालाई जनाउंछ । अधिकांस अस्पतालका सघन उपचार कक्षहरु भरिएका छन् र अव आउने विरामीलाई कसरी उपचार दिने भन्ने चिन्ता थपिंदै गएको छ । आजवाट मात्रै म वसेको शहर लुइभेलमा अस्पतालहरुले विरामी कुरुवाहरु वस्न नपाउने नियम वनाएका छन् । हामी क्यान्सर पीडित आन्टीलाई अस्पतालमा एक्लै छाडेर घरमा वसिरहेका छौं ।

कोरोना भाइरसको वढ्दो संक्रमणलाई रोक्न अमेरिकी सरकारको क्रियाशिलता वढेको छ । जनतालाई कसरी राहत दिने भन्नेमा सरकार तत्पर रहेको छ । हरेक वयस्कलाई मासिक १ हजार डलर र अन्य आर्थिक सहयोग दिनेदेखि निशुल्क उपचारसम्मका राहत प्याकेजको तयारीमा सरकार जुटेको छ । सरकारले आश्वस्त पार्न खोजेपनि जनता आश्वस्त हुन सकेका छैनन् । आश्वस्त पनि कसरी हुने ? यो महिनामात्रै १० लाख भन्दा वढी अमेरिकीले रोजगारी गुमाउंदैछन् । वजार एक हप्तामा रित्तिएको छ । यो क्रम वढ्दै जांदा उपचार पाइन्छ भन्ने स्थिति पनि देखिएको छैन । सरकारले दिएको आर्थिक राहतले केही किनेर खान पाइन्छ भन्ने स्थिति छैन । धेरै रेष्टुरेन्टहरु वन्द छन्, स्टोर रित्तिएका छन् । अव त सुरक्षाको चासो पनि त्यत्तिकै वढ्दै गएको छ । अत्यावश्यक अवस्थामा वाहेक प्रहरी सेवा उपलव्ध नहुन सक्ने अवस्था सिर्जना भएको छ।

कोरोनाले अमेरिकामा रहेको नेपाली समाजलाई पनि प्रभावित वनाएको छ । अमेरिकाभित्र रहेका नेपाली समाजमा हुने सामाजिक कार्यक्रमहरु पूर्णत कटौति भएका छन् । वल्लोघर पल्लोघर आउजाऊ वन्द भएको छ । कोही आएर घण्टी वजाइ हालेमा हत्तपत्त ढोका खोलिदैन । कोहीकोही जव्वर हुन्छन्, ढोका नखोलुन्जेल घण्टी वजाइरहन्छन्, त्यस्ता पाहुनाहरु कतिवेला घरवाट गइदिन्छन् भनेर प्रतिक्षा हुन्छ । ममी दिनदिनै घरको मुल ढोकाको हेन्डिल पुस्नुहुन्छ ताकि वाहिरी मानिसहरुले छोएर त्यो हेन्डिलमा संक्रमण नछाडिदिउन । म वसेको शहर लुइभेल र छिमेकी शहर सिन्सिनाटीमा समेत नेपालीभाषी परिवारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसले समेत मानिसहरुलाई अझ तनाव थपेको छ । नेपाली स्टोर संचालकहरु समेत आफ्ना पसल खोल्न डराएका छन्, ग्राहकहरु जान डराएका छन् तथापि पसल खोल्नुपर्ने वा पसलमा जानैपर्ने वाध्यतामा मानिसहरु रहेकाछन् । अमेरिकामा आफ्नो व्यवसाय राम्रोगरी अगाडि वढाउंदै गएका नेपाली उद्यमीलाई कोरोनाले ठुलो आर्थिक क्षति पुर्याएको छ ।

कोरोनावाट जोगिने सवैभन्दा ठुलो उपाय भनेको सावधानी मात्रै हो । तर चाहेर पनि सावधानी अपनाउन त्यति सजिलो भने छैन । यत्रतत्र सर्वत्रवाट कोरोना संक्रमण आउन सक्छ । मेरो परिवारका दुइ सदस्य नर्स छन् । नर्सहरुले आफ्नो कर्तव्य पुरा गर्नुनै पर्छ । वुवा वालमार्ट एशोसियट हुनुहुन्छ । यतिवेला एउटै परिवारमा कोवाट को जोगिने जस्तो अवस्था सिर्जना भएको छ । छोराछोरीलाई आमावाट टाढा राख्नुपर्ने अवस्था छ । वजारवाट केही न केही हरेक दिन ल्याउनुपर्छ, यसरी ल्याएका सामानहरुवाट भाइरस नआइदिओस् भन्ने कामना वाहेक केही गर्न सकिदैन ।

कोरोना आतंक कहिले सकिन्छ न त कुनै अनुमान गर्न सकिन्छ न त कुनै औषधि नै छ । यसले कति भयावाह स्थितिलाई निम्ता दिन्छ भन्ने अनुमान समेत गर्न सकिएको छैन । वन्द भएका शैक्षिकि संस्थाहरु र रोजगारी केन्द्रहरु कहिले देखि सुचारु हुन्छन् भन्ने पनि अनुमान छैन । यात्रा प्रतिवन्ध वा यात्रु नभएर रोकिएका विमानहरुले कहिले देखि सुचारु हुन्छन् भन्ने पनि अनुमान गर्न कथिन छ । अमेरिकामा दैनिक ४४ हजार उडान हुने र करिव २७ लाख मानिसहरु दैनिक उड्ने तथ्यांकले देखाउंछ तर अधिकांस विमानस्थलहरु सुनसान छन् । विमान कम्पनीहरुले आफुलाई वचाउन सरकारसंग राहत माग गरेका छन् । सर्वत्र वढ्दो यात्रा प्रतिवन्धले अमेरिकावाट विदेश गएका परिवारका सदस्यहरु विदेशमानै रोकिएका छन्, जसले पारिवारिक तनाव थपेको छ । परिस्थिति यसरी प्रतिकुल हुंदै गएको छ कि यसको असर अमेरिकी अर्थतन्त्रमा वर्षौसम्म रहन सक्नेछ ।

काममा जान नपाएका कामदारदेखि स्कुल जान नपाएका विद्यार्थी घरमा छन् । कुनै काम नभएपछि धेरै मानिसहरुको दिन फिल्म हेरेर वित्ने गरेको छ तर यो क्रम कति चल्छ भन्ने यकिन छैन । नेट्फ्लिक्स, युट्युव लगायत इन्टरनेटवेस्ड टेलिभिजनले इन्टरनेटमा समेत भार वढेको वताइएको छ । यही क्रम वढ्दै जांदा कुनैपनि समय इन्टरनेटमा पनि रुकावट आउन सक्ने हो कि भन्ने आशंका पनि छ । विश्वका १ सय ४५ देशमा पुगी सकेको कोरोनाले सर्वत्र असर पुर्याएपनि आर्थिक रुपमा ठुला र विकसित मुलुकलाई नै वढी असर पुर्याउने भएको छ ।

त्रसित मानिसका आंखा अगाडि मृत्यु नाचिरहेको छ आभाष हुन्छ । संसारका मानिसहरु उत्कृष्ट स्वास्थ सेवाका लागि अमेरिका रोज्छन् तर यतिवेला अमेरिकी स्वास्थ सेवा आफैं पीडित छ । चुपचाप पर्खिएर सरकारको कोरोना विरुद्धको अभियानमा सहयोग गर्नुभन्दा अर्को कुनै विकल्प छैन । शायद वरिष्ठ गीतकार कृष्णहरि वरालले संसारको यही अवस्थालाई वर्णन गर्नका लागि नै यी शव्द लेखेका होलान् – मर्ने कसैलाई रहर हुंदैन, तर नमरेको प्रहर हुंदैन, भागेर जाऊ, कुन ठाऊ जाउं, मान्छे नमर्ने शहर हुंदैन ।

प्रतिक्रिया