प्रेमको उद्घोष

बिमला निरौला २०७६ माघ २९ गते २२:२० मा प्रकाशित

धर्ती चिहाउने मुहूर्तसंगै
प्रेमकै लप्कोमा होमीएकी म
जीवनको पलपल प्रेमकै लागी समर्पित
र प्रेमकै रसमा सिङ्गारिएर
प्रेमकै आडले उक्लिँदै छु ।

आकृतीले यो धारा छामे पछी,
शरीरले मातृत्व अंगाले पछी,
प्रकृतीको गुन्जनमा कर्णहरु रमाएबाट,
पाऊहरुले भूमीको स्पर्स संगै
अबोध नयनहरुले ब्रमाण्ड चियाउन थालेदेखी,
बिना दिवस नै अद्रिष्ट
र आघोषित प्रेम थालेकी हुँ ।

हो प्रेम गरेकी हुँ मैले,
पलपल हरपल
धरतीमा भित्राउने जन्मकर्तालाई,
प्राण दिएर अमृत पिलाउने जन्मदातालाई,
संसार टेकाउने जन्म भूमीलाई,
प्राण अडाउने बायुमण्डललाई,
ओत दिने बिशाल आकाशलाई,
जिवन्त राख्ने घाम र पानीलाई,
अनि

मैलाई हेरेर मुसुक्क मुस्कुराउने जुनतारालाई ।

अगाध प्रेम गरेकै हुं मैले
फूलसंग,पातसँग र पुर्ण बृक्षसँग ।
पशु पन्छी र जीव जीवात्मासँग ।
ती हरिया पर्बतसंग, कन्चन हिमालसंग ।
निलो सगर र गहिरो सागरसँग ।
खुशी बोकेर उदाउने मिर्मिरेसंग,
गोधुली र सन्ध्या संग,
पीडाहरु लुकाईदिने अँधेरी रातसंग,
आफ्नै मन झैं रंगिन इन्द्रेणीसंग ।
तेस्तै,

खुशी छछल्काउने ओंठका मुस्कानसँग,
र मनको बिरह पखाल्ने अश्रुका थोपाहरुसंग ।

यो अनन्त प्रेम मैले निसङ्कोच गरेकी हुं,
ऋतुसंग, प्रकृतीसँग ,सङ्गीतसँग र शब्दहरुसँग ।
अनि बेजोड प्रेम गरेकै हुं भावना, कलम र कलासंग ।
मैले हर्दम प्रेम गरेकी हुं मेरा हर सम्बन्धसंग ,
कर्तब्य र कर्मसंग, सोच र बिबेकसंग ।
अद्भुद प्रेम गरेकी हुं
मेरा इष्ठ, मित्र, हितैषी र परिवारलाई ।
अनि अझै धेरै प्रेम गरेकी हुं मैले तिमीलाई !

यो प्रेम दिवसमा आफ्नो प्रेमको
खुल्लेयाम उद्घोष गर्दैछु,
मैले प्रेम गरेकी हुं र गरी नै रहनेछु
र सबै भन्दा बढी, आफैंले आफैंसँग !
अनि आफैंले र आफैंलाई !!

( सबैलाई प्रेम दिवसको शुभकामना )

बिमला निरौला

प्रतिक्रिया