रसियाली जनमैत्री विश्वविद्यालयमा नेपालविषयक चित्रकला प्रदर्शनी -कृष्णप्रकाश श्रेष्ठ

इनेप्लिज २०७६ माघ २६ गते १२:१८ मा प्रकाशित

रसियाली जनमैत्री विश्वविद्यालय स्थापनाको हीरक जयन्ती तथा ‘नेपाल पर्यटन वर्ष-२०२०’ को सन्दर्भमा रूस-नेपाल सहयोग तथा मैत्री समाजद्वारा नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) को समेत सहभागितामा नेपालविषयक चित्र र फोटोहरूको प्रदर्शनी, विश्वविद्यालयको स्थापनाको ६०-यौं वषान्त समारोहमा भाग लिन मित्रकुञ्जका अध्यक्ष ध्रुव महर्जनको नेतृत्वमा मास्को आइपुगेको पाँचसदस्यीय प्रमण्डलको स्वागत र रूसी एवं नेपाली संस्थाहरूको तर्फबाट हालसालै रूसी भाषामा प्रकाशित केही पुस्तकहरू विश्वविद्यालयको पुस्तकालयलाई हस्तान्तरण गर्नका लागि ७ फेब्रुअरी २०२० (शुक्रवार) का दिन रसियाली जनमैत्री विश्वविद्यालयको मूल भवनको केन्द्रीय प्राङ्गणमा एक समारोहको आयोजना गरिएको थियो ।

त्यहाँ चारैतिरका भित्ताहरू रूसी चित्रकार लिलिया स्लाभिन्स्कायाकृत नेपाली दृश्यावलीहरू चित्रित कलाकृतिहरूद्वारा सजाइएका थिए भने नेपाली छात्रछात्राहरू चाहिं नेपाली पोशाकमा सजिएका थिए । नेपाली छात्रसंघका अध्यक्ष प्रवल प्रधानले समारोहमा उपस्थित अतिथिहरूको हार्दिक स्वागत गर्दै समारोहको शुभारम्भ गरेपछि विश्वविद्यालयका प्रोरेक्टर (उपकुलपति) भ्लादिमिर एर्माकोभले संसारका छवटै महाद्वीपका १६७ देशका युवायुवतीहरूले विभिन्न विषयमा उच्च शिक्षा हासिल गरिरहेको रसियाली जनमैत्री विश्वविद्यालयलाई ‘सानो संयुक्त राष्ट्रसंघ’ को उपमा दिंदै यस विश्वविद्यालयबाट स्नातक बनेका नेपाललगायत विभिन्न देशका प्रतिनिधिहरू आफ्नो शिक्षादीक्षाको प्रमुख केन्द्रको साठियौं वाषिर्कोत्सवमा भाग लिन मास्को आइरहेको स्मरण गर्नुभयो र उपस्थित नेपाली छात्रछात्राहरूतिर सङ्केत गर्दै हाल यस विश्वविद्यालयमा नेपालका ३३ जना छात्रछात्राहरू अध्ययन गरिरहेको सूचित गर्नुभयो ।

रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेज्यूले नेपाललाई राष्ट्रिय विशेषज्ञहरूको तैयारीमा योगदान पुर्‍याउने विश्वविद्यालयको साठियौं वार्षिकोत्सवको उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै ‘नेपाल पर्यटन वर्ष-२०२०’ को समेत सन्दर्भ पारेर नेपाल विषयक चित्रकला-प्रदर्शनीको समेत आयोजना गरी आमन्त्रण गरिएकोमा विश्वविद्यालयका प्रोरेक्टर तथा नेपालको यात्रा गरी चित्र समेत लेख्ने रूसी कलाकारलगायत सबै सम्बन्धित व्यक्तित्वहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो । महामहिमज्यूले नेपालका पर्यटकीय गन्तव्यहरूको प्राकृतिक र सांस्कृतिक महत्वबारे चर्चा गर्दै बुद्धको जन्मस्थल लुम्बिनीमा निकट भविष्यमै रूसी बौद्धविहार पनि अस्तित्वमा आउने आशा व्यक्त गर्नुका साथै यस्तो पुनित कार्यको आयोजक रूस-नेपाल मैत्री समाजको सराहना गर्नुभयो र गतः वर्ष ११ हजार रसियालीहरूले नेपाल यात्रा गरेको तथ्याङ्क-बृद्धिका लागि उपस्थित सबैलाई अनुकूल समयमा नेपालको यात्रा गर्न पनि निम्त्याउनुभयो ।

रूसी चित्रकलाकार लिलिया स्लाभिन्स्कायाले सन् २०१२ देखि वेलावेलामा नेपालको मुस्ताङलगायत विभिन्न स्थानमा पुगेर प्राकृतिक दृश्यको छविचित्रका साथै नेपाली धरातल, सांस्कृतिक र शिल्पकलाका वस्तुहरू समेत चित्रकलाका कृतिहरूमा उतार्ने गरेको बताउँदै पृथ्वीका तीन प्रमुख क्षेत्रहरू अर्थात् उत्तरी ध्रुवप्रदेश, दक्षिणी ध्रुवप्रदेश र हिमालयका पर्वतश्रृंखलाको दृश्यावलोकन र चित्रलेखनमा आफ्नो विशेष अभिरुचि भएको र भविष्यमा आफूले तयार पारेका नेपालविषयक सम्पूर्ण चित्रहरूको प्रदर्शनी आयोजना गर्ने पनि चाहना रहेको जानकारी दिनुभयो ।

काठमाडौं विश्वविद्यालयका एक संस्थापक समेत रहनुभएका मित्रकुञ्जका संरक्षक प्रो.डा. भद्रमान तुलाधरले आफूले उच्च शिक्षा हासिल गरेको रसियाली जनमैत्री विश्वविद्यालयका वर्तमान कुलपति (रेक्टर) भ्लादिमिर फिलिप्पोभ आफ्नै सहपाठी हुनुभएकाले समेत जहिले पनि मास्को आउने अवसरको उपयोग गर्दै आएको बताउँदै रूसमा रहेका मित्रहरूसंग यस्तो सौहार्दपूर्ण र रमाइलो वातावरणमा भेटघाट गर्ने अवसर पाइएकोमा खुशी प्रकट गर्नुभयो ।

सन् १९६३ मा स्थापित सोभियत-नेपाल मैत्री समाजको उत्तराधिकारी रूस-नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले दुर्इ देशबीच जनस्तरबाट मैत्री विकासमा योगदान पुर्‍याउँदै आइरहेको यस संस्थाको साठियौं वाषिर्कोत्सव पनि धैरै टाढा नभएको जनाउँदै नेपालमा आफ्नो एक भातृसंस्था मित्रकुञ्जका अध्यक्ष ध्रुव महर्जनसहित डा. भद्रमान तुलाधर, डा. लोचनदेवी मानन्धर, डा. ऋषिकुमार काफ्ले, र्इ. सन्तोषकुमार पोखरेललाई मास्कोमा भेट्न पाइएकोमा हर्ष प्रकट गर्नुका साथै चित्रकलाकार लिलिया स्लाभिन्स्कायालाई नेपालविषयक कलाप्रदर्शनीको आयोजनाका लागि कृतज्ञता-ज्ञापनपत्र प्रदान गर्नुका साथै प्रदर्शनीको उद्घाटन समारोहमा उपस्थित अतिथिहरू सबैलाई यसै अवसरका लागि तयार पारिएको ब्याच र खादा लगाइदिएर स्वागत गर्नुभयो ।

मित्रकुञ्जका अध्यक्ष र्इ. ध्रुव महर्जनले रसियाली जनमैत्री विश्वविद्यालयको स्थापनाको ६० वर्ष पूरा हुने अवसरमा ८ फेब्रिअरीका दिन क्रेमलिन प्रासादमा आयोजना गरिने समारोहमा भाग लिन मास्को आएका पाँचसदस्यीय प्रतिनिधिमण्डलका सदस्यहरूको परिचय दिंदै रूस-नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष एवं छविचित्रकार बोरिस भेर्शिनिनलाई मित्रकुञ्जको तर्फबाट प्रदान गरिएको सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा यस पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) लाई पनि दुर्इ शब्द व्यक्त गर्ने अवसर प्रदान गरिएको थियो र रूसमा जनमैत्री विश्वविद्यालयको स्थापनाबारे घोषणा भएको तीन हप्तापहिले म मास्को राजकीय विश्वविद्यालयमा अध्ययनार्थ सोभियत संघ आइपुगेको स्मरण गर्दै त्यतिखेर लुकीछिपी राजनैतिक अर्थशास्त्रको व्याख्यान समेत सुन्ने गरेको क्रममा यस विश्वविद्यालयका पूर्वकुलपति भ्लादिमिर स्तानिस मेरा एक रूसी गुरु बन्न पुगेको स्मरण गर्दै आफूले यस विश्वविद्यालयमा पढेको नभए तापनि १० वर्षपहिले मनाइएको स्वर्णजयन्ती समारोहलगायत सबैजसो वार्षिकोत्सवमा सहभागी बन्दै आएको र पहिलो वाषिर्कोत्सवको समारोहमा नेपालका भिक्षु अमृतानन्द पनि बगलमै हुँदा गेरु वस्त्रधारी हुनाले मन्चमा बोलाउने सम्भावना देखेर ‘बुद्धको जन्मस्थल भारत होइन, नेपाल हो’ भन्न नबिर्सन अनुरोध गरेअनुसार नेपालका लब्धप्रतिष्ठ भिक्षुले आफ्नो वक्तव्यमा अंग्रेजी भाषामा यो सूचना प्रवाह गरेपछि रूसी पुस्तकहरूमा बुद्ध नेपालमा जन्मेको कुरा लेख्न थालेको सूचित गरेको थिएँ । अनि हालसालै प्राच्यविद्या संस्थानबाट रूसी भाषामा प्रकाशित मेरो पुस्तक ‘नेपालका पुराकथा र किम्बदन्ती’ एवं मेरो अनुवाद र सम्पादनमा रूसी भाषामा निस्केका ‘नेपाली साहित्य संगम’, ‘नेपाली कविता कुञ्ज’, ‘स्रष्टा र साहित्य’ शीर्षकका पुस्तकहरू विश्वविद्यालयको वैज्ञानिक पुस्तकालयकी प्रमुख एलेना युर्येभ्नालाई सुम्पिदिएको थिएँ ।

रसियाली जनमैत्री विश्वविद्यालयका न्यायशास्त्र संकायका प्राध्यापक र पछि प्रमुखसम्म बनेका मेरा चिरपरिचित रसियाली मित्र भालेरी बेलोभले विश्वविद्यालयका दिवंगत कुलपति भ्लादिमिर स्तानिसको साथमा काठमाडौं गई तत्कालीन राजा वीरेन्द्रलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरिएको क्षणको सुमधुर सम्झना गर्दै कैयौं नेपाली युवा-युवतीहरूले यस विश्वविद्यालयबाट दक्ष विशेषज्ञको डिग्री प्राप्त गरी नेपालको विकासकार्यमा योदान पुर्‍याइरहेको र कैयौ नेपालीहरूसित आफ्नो मैत्री सम्बन्ध कायम रहेको जनाउनुका साथै मेरा रसियाली गुरु भ्लादिमिर स्तानिसप्रति समर्पित गरी इराकका उनका शिष्य अब्देल जाख्रा कादेम एइफारीद्वारा लिखित “विकाशोन्मुख देशहरू र कार्ल मार्स्कको ‘पूँजी’” भन्ने शीर्षकमा प्रकाशित पुस्तक मलाई उपहारस्वरूप दिनुभएको थियो ।

नेपाली सारीमा सजिएकी पर्यटनको क्षेत्रमा कार्यरत रूसी युवती एलेना गोर्शकोभाले नेपालको कैयौं पल्ट यात्रा गरिसकेको बताउँदै छोटकरीमा नेपालका रमणीय दर्शनीय स्थलहरूको यात्रानुभव र नेपालीहरूको आतिथ्यसत्कार र मिलनसारिताको चर्चा गरेकी थिइन् ।

नेपाली छात्रसंघका अध्यक्ष प्रवल प्रधानबाट अतिथिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै रसियाली जनमैत्री विश्वविद्यालयको ६० वर्षप्रति समर्पित चित्रकलाप्रदर्शनीको उद्घाटन समारोहको समापन गरिएपछि त्यहाँ प्रदर्शित चित्रहरू हेर्दै विचारको आदानप्रदान गर्ने र फोटो खिच्ने क्रम शुरु भएको थियो ।

फोटो सौजन्य – बोरिस भेर्सिनिन र एलेना गोर्शकाया
दिनाङ्क – ८ फेब्रुअरी २०२० (शनिवार)
मस्को, रूस महासंघ ।

प्रतिक्रिया