कोमल गजल:-

इनेप्लिज २०७६ माघ २१ गते ०:०० मा प्रकाशित

 

बोल्न सक्नेकै रैछ मेरो देश जहाँ बोल्नेको पीठो पनि बिक्छ
आँखामा छारो हाल्न सक्यो भने कुहिएको लिटो पनि बिक्छ

नैतिकता र इमान्दारी एकादेशको कथा भैसके आजभोली
नूनको सोझो गर्ने कतै पाइन्न बरु नूनको ढिको पनि बिक्छ

पतिपत्नीको पवित्र नाता समेत विवादित हुन थाल्यो ऐले
नियतमा खोट पैदा भए पछि मायाको चिनो पनि बिक्छ

आँशु नै आँशुको संसारमा परिकल्पना नै हुँदैन हाँसोको
चर्को अभावले पिल्सिनु पर्दा श्रद्धाञ्जलीको दियो पनि बिक्छ

यस्तो उस्तो भनेर हेँला गरिने निम्छरालाई मात्रै त हो नि
ठूलाबडाको स्वामित्व भएको हुनु पर्छ तीतो पनि बिक्छ

थोरै आम्दानी भएकाहरूलाई छाक टार्न पाएदेखि पुग्यो
सकरखन्ड पिँडालुको के कुरा भो तरुलको जिलो पनि बिक्छ

मन परेको मान्छेको दुर्गन्ध पनि सुवासना ठान्छन् सबै
प्रभुको कृपादृष्टि हुनु पर्छ चम्कनु र लिखो पनि बिक्छ

नेतालाई थाहाछ नेपालीहरू सरल र “कोमल” छन् भन्ने कुरा
त्यसैले त श्रीखण्डको भाउमा नारनपातीको गिँडोपनि बिक्छ

-कोमल भट्ट
च.न.पा-१३,काठमाडौँ
हाल:-प्रवास

प्रतिक्रिया