रूसका प्रादेशिक साहित्यकर्मीहरूको वृहत् सम्मेलन – कृष्णप्रकाश श्रेष्ठ

इनेप्लिज २०७६ माघ २० गते १७:४१ मा प्रकाशित

रूसको राजधानीमा अवस्थित सामाजिक सभाको भव्य भवनको सातौं तलामा ३० जनवरी २०२० (वृहस्पतिवार) का दिन बिहानदेखि साँझसम्म साहित्य महोत्सव समारोह कोषको पत्रिका-सञ्जाल ‘लिफ्फ्त’ का क्षेत्रीय सम्पादकहरूको आठौं अधिवेशन, यूरेसिया जन परिषदअन्तरगत साहित्य समितिको तृतीय वार्षिक सभा तथा रसियाली जन परिषदअन्तर्गत साहित्य समितिको द्वितीय वार्षिक सभा संयुक्त रूपमा संचालित तीन बैठकमा सुसम्पन्न भयो । उपरोक्त तीनओटै साहित्यिक संगठनको नेतृत्व गर्ने कवयित्री मार्गारिता आलमुहामेदोभा (साहित्यिक नाम – मार्गारिता आल) को सभापतित्वमा सञ्चालित त्यस साहित्य सम्मेलनका अतिथिको रूपमा रूसी वाङ्मय प्रज्ञाप्रतिष्ठानका प्राज्ञ गेओर्गी ओसिपोभ, मास्कोस्थित गोर्की साहित्य संस्थानका प्रोरेक्टर (उपकुलपति) सेर्गेइ दिमित्रेन्को प्रभृतिका साथै नेपाली साहित्यकर्मीको हैसियतले यस पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) लाई पनि निम्त्याइएको थियो ।

प्रथम बैठकमा रूस महासंधका विभिन्न अञ्चलको प्रतिनिधित्व गर्ने साहित्य महोत्सव समारोह कोषको पत्रिका-सञ्जाल ‘लिफ्फ्त’ का कतिपय सम्पादकहरूले यस बहुजनजातीय ‘लिफ्फ्त’ पत्रिकाको प्रकाशनसामु रहेका आर्थिक अभाव, गुणस्तरीय सामग्री र स्थानीय स्रष्टाहरूका कृतिहरूको रूसी भाषामा र रूसी भाषाका कृतिहरूको जनभाषाहरूमा अनुवादकहरूको अभाव, सम्पादकहरूको पेशागत ज्ञानको कमी आदि विभिन्न समस्याहरू र उपलब्धिहरूबारे चर्चा र विचारको आदान-प्रदान गरेका थिए । गोर्की साहित्य संस्थानका प्रोरेक्टर दिमित्रेन्कोले विभिन्न अञ्चलका लागि वार्षिक ३० जनालाई अध्ययनार्थ छात्रवृत्ति प्रदान गरिने हुँदा सम्पादकहरूको गुणस्तर वृद्धिमा यसको उपयोगबाट सहयोग प्राप्त हुने स्मरण गराउनुभयो भने सम्मेलनमा उपस्थित अन्य विशेषज्ञहरूद्वारा पनि राय-सल्लाह व्यक्त गरिएको थियो । गुणस्तरीय पत्रिका तयार पार्न सकिएको खण्डमा आर्थिक समस्याको समाधन समेत निकाल्न सकिने विचार मार्गारिता आलबाट उदाहरणसहित व्यक्त गरिएको थियो । यसरी गहन विचार-विमर्शपश्चात् ठोस निर्णयहरू लिइएका थिए । स्मरण रहोस्, रूसी भाषामा ‘लितेरातुर्नी फेस्टिभाल फेस्टिभालेइ’ भनिने साहित्यिक संस्थाको नामको आद्याक्षर जोडेर पत्रिकाको शीर्षक ‘लिफ्फ्त’ राखिएको हो र रूसी भाषामा उच्चारणसाम्यको दृष्टिले यसको अर्थ ‘माथि उचाल्नु’ अर्थात् भावार्थ चाहिं ‘विकास गर्नु’ भन्ने हुन्छ । नेपालीमा उल्था गर्दा ‘साहित्यिक महोत्सव समारोह’ भनिने संगठनको पत्रिकाको उद्देश्य पनि साहित्यिक उत्थान नै हो । सभापतिको आसनबाट मार्गारिता आलद्वारा गतः वर्ष ‘लिफ्फ्त’ पत्रिकाको प्रकाशन र अन्य साहित्यिक गतिविधिमा रियाजान अञ्चल प्रथम र साइबेरियाको त्युमेन अञ्चल द्वितीय भएको घोषणा गर्नुभयो ।

सम्मेलनको द्वितीय बैठकमा यूरेसिया जन परिषदअन्तर्गत साहित्यिक समितिको वार्षिक सभाको भव्य उद्घाटन भयो । यूरेसिया जन परिषदकी प्रथम उपाध्यक्ष स्वेतलाना स्मिपर््रभति पदाधिकारीहरूको वक्तव्यपश्चात् सम्मेलनका अतिथिहरूको सम्मान र उनीहरूबाट मन्तव्य प्रस्तुतिको कार्यक्रम सम्पन्न गरियो । मलाई मन्चमा बोल्ने अवसर प्रदान गरिख्दा मैले नेपालमा ज्ञानकी देवी सरस्वतीको पूजा गर्ने वसन्त पञ्चमीकै दिन रूसका विभिन्न अञ्चलका लेखककविहरूको सम्मेलनको सहभागी भई नयाँ रूसी मित्रहरूसित परिचित हुन पाउँदा खुशी लागेको अभिव्यक्ति दिंदा ताली बजाएर स्वागत गरिएको थियो । नेपाल र रूसबीच साहित्यिक आदानप्रदान र अनुवादको चर्चा गर्दा सानो कविता नेपालीमा सुनाउने अनुरोध गरियो र मैले लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ र अलेक्सान्द्र पुश्किनको ‘जिप्सी’ काव्यको दोहोरो अनुवाद एउटै गातामा प्रकाशित द्विभाषिक पुस्तकबाट ‘जिप्सी’ को प्रारम्भिक अंश पाठ गरेको थिएँ । क्रिमियाको फिओदोसियाको पुस्तकालयका लागि किताब दिने अनुरोध पनि सम्मेलनका अध्यक्षलाई उपहारस्वरूप पुस्तकहरू पछि उपलब्ध गराउने वचन दिई रूसी भाषामा ‘नेपाली कविता कुञ्ज’, ‘स्वस्थानी’, ‘नेपालमा पशुपन्छीको पूजा’ लगायत केही पुस्तक ओक्साना भात्सलाई सुम्पिदिएँ । आफ्नो मन्तव्यको अन्त्यमा मैले हाम्रा दुर्इ देशका जनताबीच साहित्यिक सम्बन्धको गहन विकासका लागि संयुक्त प्रयासबाट रूसका विभिन्न अञ्चलका कविताहरूको नेपालीमा र नेपाली कविताहरू रूसी भाषामा अनुवाद गरी प्रकाशनार्थ संकलन तयार पार्ने आह्वान गर्दै ‘पर्यटन वर्ष’ घोषित सन् २०२० मा वा अनुकूल समयमा बुद्धको जन्मभूमि नेपालको यात्रा गर्ने आग्रह गरेको थिएँ । सम्मेलनले रूसी पेन-सेन्टरका उपाध्यक्ष बोरिस एभ्सेएभलाई सहअध्यक्षको पदमा निर्वाचित गर्नुका साथै सचिवको रिक्त पदमा मारिना कोलोभाजोभालाई सर्वसम्मतिबाट निर्वाचित गरेको थियो ।

सम्मेलनको तेस्रो बैठकमा विगतका कमजोरी र उपलब्धिहरूको समीक्षा गरिनुका साथै भावी कार्यक्रमको रूपरेखा खिंचिएको थियो । साहित्यिक महोत्सवको आयोजना लगायत अंशतः यूरेशियाका प्रतिनिधि स्रष्टाहरूका साहित्यिक कृतिहरूको रूसी भाषामा अनुवाद समेत गरी ‘यूरेशियाको छवि’ वा कुनै राम्रो शीर्षक सोचेर हरेक क्षेत्र वा गणतन्त्रप्रति समर्पित बेग्लाबेग्लै संकलन प्रकाशित गर्दै जाने समेत निर्णय लिइएको छ । यस वर्षको मोटमोटी कार्यक्रममा आगामी १ जूनमा मस्कोमा साहित्य महोत्सव समारोहको आयोजना, ३ जुलाईमा रसियाली पुस्तक प्रकाशन संघ र प्रेस एजेन्सीसँग सहकार्य गर्दै मस्को लालमैदानमा सम्पन्न हुने पुस्तक मेलाअन्तर्गत कार्यक्रम, फासीवादविरुद्ध महान देशभक्तिपूर्ण युद्ध (सन् १९४१-१९४५) मा विजयप्राप्तिको ७५-रौं वाषिर्कोत्सवप्रति समर्पित कार्यशाला आदि समावेश गरिएका छन् ।

अन्त्यमा विशिष्ट योगदान दिने व्यक्तित्वहरू र संस्थालाई समेत पदक, सम्मानपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो । विभिन्न क्षेत्रका निवासीहरूलाई एकबद्ध पार्दै सांस्कृतिक आदानप्रदानद्वारा आपसी सद्भाव र मैत्री सम्बन्धको सुदृढीकरणमा योगदान पुर्‍याए वापत् यूरेसिया जन परिषदअन्तरगत साहित्यिक संगठनलाई प्रदान गरिएको स्वर्णपदक त्यस संगठनकी अध्यक्ष मार्गारिता आललाई हस्तान्तरण गरिएको थियो । साहित्यिक विकासमा योगदान पुर्‍याउने ‘लिफ्फ्त’ पत्रिकाका कतिपय सम्पादकहरूलाई पदक र प्रसंशापत्र प्रदान गरिनुका साथै सम्मेलनमा उपस्थित सबै साहित्यकर्मीहरूलाई सम्मेलनमा सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । मलाई पनि यस्तो प्रमाणपत्रका साथै यूरेसिया एवं रूस जन परिषदको साहित्यिक संगठन तथा साहित्य महोत्सव समारोह कोष ‘लिफ्फ्त’ को तर्फबाट ‘साहित्यमा उच्चतम नागरिक अडान तथा सिर्जनात्मक अन्तरसहयोगका लागि’ भन्ने अभिलेखअङ्कित ‘कृतज्ञता ज्ञापनपत्र’ प्रदान गरिएको थियो ।
विशेष खुशीको कुरा के भने सन् २०२० को आरम्भमै रूसका विभिन्न अञ्चलका साहित्यकर्मीहरूसित मेरो व्यक्तिगत चिनापर्ची भएको छ । उदाहरणार्थ, यूरेशिया जन परिषदको साहित्यिक संगठनकी नवनिर्वाचित सचिव मारिना कोलोभाजोभाका अतिरिक्त मस्कोबाट पश्मिचमा पर्ने बेलारूस गणतन्त्रका साहित्यकार अलेक्सान्द्र रात्केभिच, दक्षिणमा क्रिमिया गणतन्त्रका साहित्यकार अलेक्सान्द्र आकुल्येभ, सेभास्तोपोल (क्रिमिया) का साहित्यकार कन्स्तान्तिन स्वीरिदोभ, फेओदोसिया (क्रिमिया) की लेखिका ओक्साना भात्स्क, सोची (क्रास्नोदार अञ्चल) का कवि अलेक्सान्द्र भेप्य्रोक, उत्तर-पूर्वमा त्युमेन अञ्चल (साइबेरिया) की कवयित्री एकातेरिना भोलोदिना प्रभृति लेखक-कवि तथा सम्पादकहरूसंग र खास गरी रूसमा बौद्धधर्माबलम्बीहरूको बसोवास रहेको तुभा गणतन्त्रकी कवयित्री जोया दोन्गाकका साथै कवि मार सालिम र यूरोपमै बौद्धधर्माबलम्बीहरूको बसोवासको एक मात्र क्षेत्र काल्मिकिया गणतन्त्रकी कवयित्री भालेन्टिना बूभान र लेखिका एलेना ओल्झेएभा (साहित्यिक उपनामः दिलभ्रिन ओक्न) संग परिचित हुने र पुस्तकोपहार आदान-प्रदान गर्ने सुअवसर प्राप्त भएको थियो । यस भेट-परिचयको क्रममा आपसी परिचय गर्नुका साथै संयुक्त रूपले नेपाली तथा रूसी भाषासाहित्यको पारस्परिक अनुवादको समेत योजना बनाउने सम्भावना पाइएको छ ।

उल्लासपूर्ण वातावरणमा सम्मेलनको विर्सजनपश्चात् जलपानका लागि मध्यान्तरपछि रूसका विभिन्न जनजातिहरूको राष्ट्रिय पोशाकधारी शौकीन कलाकारहरूबाट विभिन्न राष्ट्रीय वाद्यबाजाहरूको धून र लयमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । यसरी सन् २०२० को पहिलो महिनाको अन्तिमतिरको साँझपख मस्कोका सडकहरूमा केही दिनअघि मात्र पर्न थालेको सेतो हिउँका कणहरू फुरफुर उडिरहेका थिए भने रूसका राष्ट्रीय जनगीत र लयहरूको गुञ्जन जारी रहेको रूसको सामाजिक सभाको भवनमा चाहिं रमाइलो साँझ निकै बेरसम्म लम्बिएको थियो ।

दिनाङ्क – ३१ जनवरी २०२०,
मस्को, रूस महासंघ ।

प्रतिक्रिया