वडा सदस्यहरुले मागे बाइक, मासिक २० हजार र साठी प्रतिशत बजेट

सञ्जय साह मित्र २०७६ माघ ११ गते १३:५३ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहटको गढीमाई नगरपालिकाका वडा सदस्यहरुले नगरपालिकाको बजेट र सुविधा सबैमा बराबर हिस्सेदारी हुनुपर्ने माग गरेका छन् । वडा सदस्यहरुको भेलाले नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुले नगरपालिकाबाट अनेक सुविधा लिइरहेको भन्दै सबै किसिमको सुविधा र बजेटमा आफ्नो पनि पहुँच हुनुपर्ने माग गर्ने निर्णय गरेको छ । वडा सदस्यहरुको माग पूरा नभए आन्दोलन गर्ने निर्णय पनि गरेका छन् ।

नगर प्रमुख र कार्यालय प्रमुखहरुसित नगरपालिकाद्वारा अहिलेसम्म गरिएको सम्पूर्ण खर्चको हिसाब–किताब वडा सदस्यसमक्ष पेश गरिनुपर्ने, नगरपालिकाबाट वडामा जाने सम्पूर्ण बजेटको ४० प्रतिशत दिनुपर्ने तथा बाँकी ६० प्रतिशत बजेटमध्ये चारजना वडा सदस्यले बराबरी बाँडेर वडामा विकास गर्नुपर्ने, वडामा आएको बजेटको खर्च वडा सदस्यहरुको हस्ताक्षर हुनुपर्ने, हरेक वडा सदस्यलाई एक–एक थान हिरो स्पेलेन्डर बाइक, त्यसको लागि हरेक महिना २० लिटर पेट्रोल, अतिथि सत्कारको लागि मासिक २० हजार रुपैया कार्यपालिकासित माग गर्ने र त्यसको लागि नियम बनाउने माग गर्ने निर्णय गर्दै ७ दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने निर्णय गरेका छन् ।

वडा सदस्यहरुको भेलाले नेवालाल राउतको अगुवाईमा निर्णय कार्यान्वयनको लागि एउटा समितिसमेत गठन गरेको छ । १२ माघ आइतवारका दिन बिहान ११ बजे नगरपालिकामा सबै मागको ज्ञापनपत्र बुझाउने वडा सदस्य कुमारसानु साहले जानकारी गराएका छन् ।
विकास बजेटमा अगुवाइ गर्ने विषयमा छलफल गर्न सकिने तर व्यक्तिगत सुविधा र सबारी साधनको विषय तथा मासिक रकमको विषयमा कुनै पनि हालतमा केही गर्न नसकिने नगर प्रमुख श्यामप्रसाद यादवले प्रतिक्रिया दिएका छन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया