भारतीय चलचित्रसम्राट् राज कपूरको ९५-यौं जन्मजयन्तीको सन्दर्भमा ‘राज कपूर र म’

इनेप्लिज २०७६ माघ ५ गते २१:४३ मा प्रकाशित

कृष्णप्रकाश श्रेष्ठ

हिन्दी फिल्मी जगत्का विश्वविख्यात चलचित्रकर्मी तथा चलचित्र-निर्देशक राज कपूरको नाम नसुन्ने त संसारमा विरलै मानिस होलान् । मैले पनि रूसमा अध्ययनार्थ आउनुभन्दा पहिले नै उनको नाम मात्र सुनेको नभई उनले अभिनय गरेका केही विश्वप्रसिद्ध चलचित्रहरू समेत हेर्ने सम्भावना पाएको थिएँ । मात्र यही माध्यमबाट उनलाई र अभिनेत्री नर्गिसलाई पनि मैले चिनेको हुँ । तर यस संस्मरणात्मक आलेखको शीर्षक नै ‘राज कपूर र म’ राखिनुको मुख्य कारण यो होइन र हुन पनि सक्तैन । मैले जस्तै गरी उनलाई चिन्ने मानिस त संसारमा कति छन् कति ? तसर्थ जसले पनि त यस्तो शीर्षक राखेर संस्मरण लेख्न नसक्ने त कुरै भएन । मैले यस्तो शीर्षक राख्नुको कारणबारे नै सर्वप्रथम चर्चा गर्न चाहन्छु ।

सन् १९६० मा सोभियत राजधानीमा अध्ययनार्थ आउँदा मस्कोमा नेपालको नाम सुन्ने मानिस कतै भेट्न सकिन्नथ्यो । त्यतिखेर रूसमा आजझैं अंग्रेजी जान्ने मान्छे पनि पाउन मुश्किल थियो । पहिलो भेटपरिचयमा नै रूसीहरूले मलाई सोध्ने पहिलो प्रश्न नै हुन्थ्योः
‘कहाँबाट आएका हौ ?’

रूसी भाषा उति राम्रो बोल्न नजाने पनि यस्ता सामान्य प्रश्नको उत्तर दिन त सिकिसकेको थिएँ र तत्कालै उत्तर फर्काउँथेंः
‘नेपालबाट !’

रूसीहरू केही अकमक्क परेर मेरो उच्चारण सच्याएझैं गरी भन्दथेः
‘नेआपल ?’

यसरी रूसीहरूले मलाई इटलीवासीको पगरी गुथाइदिन्थे, यद्यपि त्यस देशलाई मैले भूगोलको किताब र मानचित्रमा बाहेक जीवनमा देखेकै थिइनँ ।
‘नेआपल होइन, नेपाल !?’

मेरो जवाफले त रूसीहरु बिखलबन्दमा परिहाल्दथे । अनि मैले आफ्नो मातृभूमिको र आफ्नो पनि परिचय दिने एउटा सजिलो उपाय तत्कालै आविष्कार गर्नुपरेको थियो । त्यो आविष्कारको अचूक कुन्जी थियोः ‘राज कपूर’ ।

 

 

त्यतिखेर रूसीहरूमध्ये राज कपूरको नाम नसुन्ने त कोही पनि थिएन । उनको चलचित्र ‘आवारा’ सन् १९५४ मै मस्कोको त्यतिखेरको प्रख्यात चलचित्रभवन ‘उदारनिक’ मा प्रदर्शन भइसकेको थियो र त्यसपछि पनि मस्कोको मात्र नभई सोभियत संघकै विभिन्न शहरका चलचित्रभवनहरूमा समेत ‘आवारा’, ‘श्रीमान् ४२०’ र ‘दो बीघा जमीन’ चलचित्रहरूको व्यापक प्रदर्शन भएको थियो । म मस्कोमा आउँदा यी र अन्य भारतीय फिल्महरू हेर्न जाँदा रूसी महिलाहरू चलचित्रको कथानकको मार्मिक क्षणहरूमा रोएको समेत अनुभव गर्न सकिन्थ्यो । तसर्थ ‘राज कपूर’ को नाम लिने बित्तिकै रूसीहरू मलाई ‘भारतबाट आएको’ भन्ने सम्झन्थे र म उनीहरूलाई ‘भारतको उत्तरतर्फ रहेको हिमालय भएको देश नेपालबाट’ भनेर बुझाउँथे । हिमालयको नाम सुन्नासाथ उनीहरू ‘झोमोलुङ्मा’ को पनि नाम लिन्थे । त्यतिखेर रूसीहरू कसैले पनि आजको जस्तै गरी विश्वको यस सर्वोच्च हिमशिखरलाई ‘एभरेष्ट’ भन्ने गरेका थिएनन्, न त ‘सगरमाथा’ नै भन्दथे । रूसीहरूले ‘झोमोलुङ्मा’ को नाम लिनासाथ म पनि त्यो नेपालमै छ भन्न पछि पर्दैनथें । यसरी मस्कोमा मेरा पहिला दिनहरूमा राज कपूरको माध्यमबाट नै म आफ्नो र आफ्नो मातृभूमिको पनि परिचय दिन समर्थ बनेको थिएँ ।

भारतीय महान् चलचित्र-निर्देशक तथा कलाकारको ९५-यौं जन्मजयन्तीको अवसरमा १८ जगवरी (शनिश्चरवार) का दिन मस्कोको ‘म्युजिक हल’ मा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । मेरा भारतीय र रूसी मित्रहरूको तर्फबाट मैले पनि त्यसमा सहभागी हुने निमन्त्रणा पाएको थिएँ । प्रेक्षालयबाहिर प्रवेशकक्ष राज कपूरको कलाकारितासित सम्बन्धित फोटोसामग्रीहरूद्वारा सजाइएको थियो । त्यहीं नै सामोसा आदि भारतीय पकवान पनि चाख्न सकिन्थ्यो । म पनि त्यहाँ बसेर चियापानमा सरीक भएको थिएँ र त्यहाँको एक-दुई दृश्य यस आलेखको लागि खिंच्तै थिएँ ।

मस्को कन्सर्ट हलमा भारतीयहरू मात्र नभई भारतसित कुनै न कुनै किसिमले सम्बन्धित रूसीहरूको पनि मनग्गे उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै रूसका लागि भारतीय राजदूत बाल बेंकटेश बर्माले भन्नुभएझैं त्यहाँ ‘एक विशाल परिवारको रूपमा कलाकार, सांस्कृतिक कार्यकर्ता, कूटनीतिज्ञ, रूसलाई मात्र नभई सम्पूर्ण विश्वलाई नै फासीवादबाट मुक्ति दिने महान् देशभक्तिपूर्ण युद्धका भेटेरान लगायत विभिन्न पुस्ताका रसियाली र भारतीयहरूको उपस्थिति’ थियो । सोभियत-भारत संयुक्त चलचित्र ‘मेरा नाम है जोकर’ मा राज कपूरको साथमा अभिनय गर्ने रूसी चलचित्र अभिनेत्री लगायत विभिन्न गण्यमान्य व्यक्तित्वहरूलाई भारतीय राजदूतबाट दोसल्ला ओढाएर सम्मान गरिनुका साथै राज कपूरको विषयमा उनकी सुपुत्री ऋतुनन्दालिखित पुस्तकसहित स्नेहोपहार प्रदान गरिएको थियो भने राजदूत-दम्पतिलाई पनि कुनै समय मास्को यात्राकालमा राज कपूरलाई उपहार दिइएको जस्तै चिनियाँ माटोको फूलदानी उपहार दिइएको थियो । यसै क्रममा छात॥भरि तक्मैतक्माले सुसज्जित वयोबृद्ध भेटेरानले युद्धमा वीरगति क्राप्त गर्ने सैनिकको विषयमा कवि भिसोत्स्कीरचित कविता अति प्रभावशाली पाराले प्रस्तुत गर्दा सबैले करतलध्वगिब्वारा उगको सम्मान दर्शाएका थिए । तत्पश्चात् भारतीय गायक-गायिकाले धेरै वर्षपहिले नै रूसीमा समेत अनुवाद भएको ‘आवारा हुँ’ लगायत राज कपूरकृत चलचित्रका गीतहरू प्रस्तुत गरेका थिए भने भारतीथ तथा रूसी कलाकारहरूको संयुक्त अभियनमा नृत्यहरूको प्रस्तुति पनि निकै मनमोहक थियो । अन्त्यमा ‘आवारा’ चलचित्रको प्रदर्शन गरिएको थियो ।

यो सब दृश्य हेरिरहँदा मेरो मानसपटलमा रूस आउनुभन्दा पहिले काठमाडौंको केन्द्रमै, हाल विशालबजार रहेको स्थानमा रहेको पहिलेको सभागृहमा ‘आवारा’ लगायत भारतीय चलचित्रहरू हेरेको सम्झनाका झिल्काहरू तँछाड्-मछमाड् गर्दै झल्झल्ती आइरहेका थिए । त्यतिखेर नेपाली भाषामा कुनै चलचित्र बनेको थिएन । नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ बम्बईमा बनेको छ भन्ने सुनिएको थियो । त्यतिखेर काठमाडौंमा चलचित्रभवनहरू पनि मलाई थाहा भएअनुसार उक्त सभागृहको अतिरिक्त ‘रञ्जना’ र अर्को एउटा ‘जय नेपाल’ हो वा यस्तै नामको चलचित्र भवनका साथै पाटनमा पनि एउटा चलचित्र भवन मात्र थियो र जताततै हिन्दी फिल्महरू नै चलेका हुन्थे र हामी त्यतिखेरका युवाहरू पनि हिन्दी गीत नै गुन्गुनाउने गर्दथ्यौं । मस्को आएपछि मात्र मैले पहिला नेपाली चलचित्रहरूमध्ये ‘आमा’ र ‘बाँध’ हेर्ने सम्भावना पाएको थिएँ । झण्डै २०-२५ वर्षअघि नेवारी (नेपालभाषा) मा ‘सिलु’ शीर्षकमा पहिलो चलचित्र निर्माण गरिएको भन्ने सुनेको हुँ । अहिले त नेपालका विभिन्न राष्ट्रीय भाषाहरूमा समेत चलचित्रहरू निर्माण भइरहेका छन्, तर मस्कोमा तिनको दर्शन पाउनु दुर्लभ नै छ ।
मस्को आउनुभन्दा पहिले सिनेकलाकारहरूमध्ये मलाई राज कपूर र नर्गिसका साथै गायिकामा लता मंगेशकरको मात्र नाम थाहा थियो । सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरलाई मैले सोभियत कालमै मस्कोमा भारतीय सांस्कृतिक मेला सम्पन्न भएको समयमा निकै नजिकबाट देख्ने समेत सम्भावना पाएको थिएँ । अन्त्यमा आज भारतीय चलचित्रसम्राट् भन्न सकिने राज कपूरको ९५-यौं जन्मजयन्तीको अवसरमा आफ्ना दौंतरी नेपालीहरूको तर्फबाट समेत भारतीय महान् कलाकार एवं चलचित्र-निर्देशकप्रति कृतज्ञतापूर्वक श्रद्धाञ्जली अर्पण गर्नु म आफ्नो कर्तव्य ठान्दछु ।

केही सम्बन्धित फोटोसहित ।
दिनांक : १९ जनवरी २०२०,
मस्को, रूस महासंघ ।

प्रतिक्रिया