पञ्च र श्रवणको साँगीतिक धुनमा दर्शक लठ्ठिए

इनेप्लिज २०७६ पुष २७ गते १६:०९ मा प्रकाशित

काठमाडौं

अढाई दशकदेखि जापानमा रहेर ‘चौतारी समुह’ सांगीतिक समुह मार्फत त्यहाँ नेपाली धुन प्रस्तुत गर्दै आएका पञ्च लामा र श्रबण लामाले ललितपुरमा आफ्ना धुनबाट दर्शकको मन जितेका छन् ।

ललितपुरको जाउलाखेल स्थित डिएभी स्कुलको बुद्ध हलमा शनिबार साँझ यी दाजु भाईले नेपाली मौलिक धुनहरुको सँगीतिक कार्यक्रम ‘चौतारी साँझ’ प्रस्तुत गरे । कार्यक्रममा पुगेका करिब ८ सय दर्शक पञ्च र श्रबणको सँगीतिक धुनमा करिब दुई घन्टा मन्त्रमुग्द भए ।

आयोकज संस्था चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सुरुवातमा पञ्च लामाको ३५ वर्षीय साँगीतिक यात्राको बारेमा लघु बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

करिब दुई घन्टाको बसाईमा कार्यक्रममा पञ्च लामाले आफैं सृजना गरेको१६ ओटा सँगीतिक धुनहरु प्रस्तुत गरे । उनले ती धुन सृजनाको कथा, धुनको मौलिकता र आफ्नो सँगीतिक जीवनको आरोह अबरोहका प्रसँग बाचन सहित धुनहरु प्रस्तुत गरेका हुन् ।

पञ्चलाई सो साँगीतिक साँझमा चौतारी व्यान्डका श्रबण लामाले तवलामा, जापानी कलाकार तेराकादो मित्सुगुले गिटारमा, अनुप दासले बेस गिटारमा र शम्भु बानियाँले पर्कसनमा साथ दिएका थिए ।

गोरखाको मनकामना आसपासको धुनलाई समेटेर तयार गरिएको मनकामना धुनबाट पञ्चले सो मौलिक धुन साँझ सुरुवात गरेका थिए । त्यसपछि उनले सपनाको जँगल…र सिन्धुपालचोकको सेलो धुन प्रस्तुत गरे ।

सोही क्रममा पञ्चले प्रस्तुत गरेको धुन उज्यालो तिरको यात्रा…ले नेपालदेखि जापानसम्मको उनको सँगीतिक यात्रा र टोक्यो साँझ…धुनले नेपाल र जापानी लोकधुनको फ्युजन स्वाद दर्शाएको थियो ।

रेडियो नेपालको लागि आफुले अढाई दशकअघि सृजना गरेको बनचरी धुन र झ्याउरे धुन पनि पञ्चले कार्यक्रममा प्रस्तुत गरे । पञ्चले कार्यक्रमको मध्यान्तरपछि आमाको प्राथना…, सुन्दर नेपाल, नाच्ने चरी..धुन प्रस्तुत गरे । कार्यक्रममा पञ्चसँग बाँकी चार कलाकारले बाद्यबादनमा गरेको जुगलबन्दीमा दर्शकहरु निकै रमाए ।

कार्यक्रमको उत्तराद्धमा उनले एकान्छा…, हिमालको…, आकाश मार्ग.., लाम्बडा…जस्ता धुनहरु प्रस्तुत गरे । उनको यो नेपालमा ११ औं चौतारी साँझ हो । हरेक वर्ष नेपाल आएर नयाँ धुन बनाउने पञ्चले ती धुनलाई चौतारी साँझमा प्रस्तुत गरेका छन् ।


कार्यक्रम सँयोजक एवम् सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले स्वागत मन्तव्यसँगै पञ्च लामा र श्रबण लामाको सँगीतिक यात्राबारे जानकारी गराएका थिए ।

दुई घन्टासम्म चलेको यो साँगीतिक साँझमा पञ्च र श्रबणका मौलिक धुन सुन्न नेकपाका स्थायी समिति सदस्य रघुजी पन्त र जनसाँसस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, सेक्सोफोन बादक शुभबहादुर सुनाम, सितारबादक डा. धुर्वेसचन्द्र रेग्मीलगायत विभिन्न बाँसुरी बादकहरु कार्यक्रममा सहभागी थिए ।

चेतना सन्देश नेपालद्धारा सर्लाहीको घुर्कौलीमा सञ्चालित द्धन्द्ध पीडित बालगृहका लागि पञ्च लामाले सो कार्यक्रममा ११ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेको सो कार्यक्रममा बोल्दै चेतना सन्देश नेपाल सञ्चलानमा पञ्च र श्रबण लामाको अतुलनीय योगदान रहेको चेतना सन्देश नेपालकी सदस्य आरती लामाले बताईन् ।

प्रतिक्रिया