प्रवासबाट संगीतमा उदाउदै दिपक जंग मगर ।

इनेप्लिज २०७६ पुष २७ गते ६:५६ मा प्रकाशित


अग्लो, सलक्क मिलेको सुगठित ज्यान छ । आँखा हल्का सानो र चम्किलो छ । हल्का माथि ठाडो उठाएको सिलिक्क परेको कपाल छ । पूरै मंगोयिन चकलेटी अनुहार छ । कुनै कोरियन फिलिमको हिरो जस्तै देखिन्छन् । गायनमा बिषेश लगाव छ । अभिनयमा पनि त्यत्तिकै अभिरुची राख्छन् । गायन र मोडलिङलाई एकसाथ अगाडी बढाइरहेका उनै दिपक जंग मगर यतिबेला जापानमा बस्छन् अरु लाखौं नेपाली युवाहरु जस्तै आफ्नो सुन्दर सपनाहरु फुलाउदैछन् ।
पश्चिम नेपालको रुकुम जिल्लाको टकसेरा गाउमा बाबा नरेन्द्र बहादुर बुढामगर र आमा दिल कुमारी बुढा मगरको पहिलो सन्तानको रुपमा जन्मिएका दिपकको बा आमाले बसाई सराई गरि दाङ झरेपछि सुन्दर नगरी दाङमै हुर्कन बढ्न पाएको उनको बाल्यकाल सुखमय बित्योे ।

जब युवा अवस्थामा प्रबेश गर्यो उनको चंचल मनलाई बिस्तारै गीत संगीतले तरङ्गित बनाउन थाल्यो । उनलाई पनि नाच्न, गाउन र रमाउन मन पर्न थाल्यो । उनको बिषेश अभिरुची गायनमा बढ्न थाल्यो । त्यस समयमा नेपालका चर्चित म्युजिक ब्याण्डहरु ग्लुमी गाइज, मंगोयिन हर्ट, नेपथ्य, कन्दरा ब्याण्ड लगायतले नेपाली म्युजिकमा तहल्का मच्चाइरहेको थियो । दिपकलाई पनि ती ब्याण्डहरुको गीतले धेरै छुन्थ्यो । उनी ती ब्याण्डहरुका सबै गीत नछुटाई सुन्थे ।
रहरै रहरमा आफ्ना मिल्ने साथीहरुसंग मिलेर एउटा आफ्नै छुट्टै म्युजिक ब्याण्ड पनि स्थापना गरे । तर सदस्य साथीहरुको आ–आफ्नै ब्यावहारिक समस्या र आर्थिक अभावको कारण त्यस ब्याण्डलाई निरन्तरता दिन सकेनन् । उनको गायन सपना अधुरै रह्यो ।

यस बिचमा उनी पनि सन २०१५ तिर जापान भाषिए । अन्य आम नेपाली युवाहरुको जस्तै उनको पनि चाहना उस्तै थियो अलिकति दाम कमाउने, घर परिवारको आर्थिक अवस्था माथि उकास्ने ।

जापान बसाइको क्रममा उनको भेट गायक भुवन सिं थापा, कुशल संगीतकार तथा म्युजिक एरेन्जर सरोज लामा र कौडा बुढामगर लगायतसंग भयो । भेटघाट तथा चिनापर्चीको क्रममा प्रायजसो गीत संगीतको कुरा हुन्थ्यो । यसैक्रममा उनले आफ्नोे पुरानो अधुरो गायन सपनालाई फेरि ब्युताउने बिचार गरे ।

साथीभाईहरुको सल्लाह बमोजिम जापानमै एक साल अघी मुस्कुराउने आधार नामक गीतिभिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरे र उक्त गीत र भिडियोलाई दर्शक स्रोताहरुले अत्याधिक रुचाए ।

हालै मात्र उनै दिपक जंग मगरको अर्को दोस्रो गीत पनि बजारमा आएकोछ । यो नानीको चोलीमा बोल रहेको उक्त गीतको शब्द तिब्वत दर्लामी तथा संगीत सरोज लामाको रहेको छ । हाल यस गीतलाई पनि युट्युबमा बिषेश रुचाइएकोछ । भुवन सिं थापाको निर्देशन रहेको यस गीतमा पनि स्वयम् दिपक जंग मगरको साथमा कम्स्यो घलेको प्रमुख अभिनय देख्न सकिन्छ । भिडियोमा नेपाल जस्तै देखिने जापानको सुन्दर खोला र बन जंगलहरुको मनमोहक दृश्य देख्न सकिन्छ ।

यो सत्य हो कि नेपाली संगीत क्षेत्रलाई माथि उठाउन प्रवासमा रहेका गीतकार तथा गायक गायिकाहरुको ठुलो योगदान रहेकोछ । दिपक जंग मगर पनि प्रवासबाट संगीतमा उदाउदै गरेको एक प्रतिभावान गायक कलाकार हुन् । उनको आगमनलाई नेपाली संगीत क्षेत्रले दिल खोलेर स्वागत गरेको छ । उनको आगामी यात्रा सुखद रहोस् भन्ने हाम्रो कामना छ ।

प्रस्तुतीः
तिब्वत दर्लामी, काभ्रे

 

प्रतिक्रिया