न्युयोर्कमा नेपालीले बनाउने भए भब्य दुर्गा मन्दिर

सन्जोग आचार्य २०७६ पुष १९ गते १७:५७ मा प्रकाशित


सन्जोग आचार्य,

न्युयोर्क । विश्वप्रसिद्ध अमेरिकाको न्यूयोर्क शहरमा दुर्गा मन्दिर तथा संस्कृतिक केन्द्र बनाउने अभियानमा नेपाली समुदाय जुटेका छन् । सन् २०११ मा जमीन खरिद गरेको मन्दिरको हालै भवन नक्सा पास भएपछि यस क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायमा अहिले खुसीयाली छाएको छ ।

न्यूयोर्कको हेन्कक स्टीटको आठ हजार तीन सय पचास वर्ग स्क्वाएर फिट क्षेत्रफलमा बन्ने भब्य दुर्गा मन्दिर निर्माण प्रक्रिया अब तीब्र गतिमा अगाडि बढ्ने छ । मन्दिरको भवन नक्सा पास भएपछि रिजउड नेपाली समाजले मन्दिर निर्माण प्रक्रिया कछुवाको गतिमा नभएर खरायोको गति अगाडि बढाउने योजना बनाएको छ ।

करिब २० लाख डलर लागतमा बन्न लागेको यो बहुप्रतिक्षित योजनाको लागि कबोल गरेका दाताहरुले समयमानै रकम उपलब्ध नगराउन भने केही अप्ठ्यारो अबस्था सृजना भइरहेको रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले बताउनुभयो ।

सो मन्दिर निर्माणको लागि ३७ प्रतिशत रकम उठिसकेको छ भने थप ६३ प्रतिशत रकम उठ्न बाकीँ नै रहेको छ । अध्यक्ष भट्टले करिब आठ लाख अमेरिकन डलर उठिसकेको जनाउदैँ भन्नुभयो, “ थप कबोल रकम उपलब्ध गराउन हामीले दाताहरुलाई सन् २०२० को जुनसम्म समयसीमा दिएका छौ । ”

दुर्गा मन्दिर निर्माणको लागि १८० जनाले पाँच हजार डजरभन्दा माथि र १२ जनाले ३० हजार डजर भन्दा मााथि दान गर्ने कबोल गरेका थिए । रिजउड समाजका महासचिव दीपकराज काफ्ले अहिले आफूहरुको खातामा दुई लाख डलरभन्दा बढी रकम बाकी रहेको जनाउनुभयो । मन्दिर निर्माण प्रक्रिया जसरी पनि अगाडि बढ्ने त्यसको लागि बैंकसंग क्रृण सम्झौता देखि नयाँ दाताहरुको खोज गरिने काफ्लेको भनाई छ ।

दुर्गा मन्दिर निर्माणको लागि कबोल गरिए अनुसार अध्यक्ष राजेश भट्टले ७५ हजार एक डलर, महासचिव दीपकराज काफ्लेले २० हजार एक डलर र डा. प्रदिप शर्माले पनि कबोल गरेको ३० हजार डलर पूर्ण रुपमा उपलब्ध गराइसकेको रिजउड नेपाली समाजले जनाएको छ । थप सात सय भन्दा बढी दाताबाट बढीमा एक लाख २० हजार डलरदेखि पास सय डलरसम्म थप रकम उठ्न बाकी नै रहेको छ । रिजउड नेपाली समाजले रकम संकलन गर्नका लागि लगाएको महापुराणमा ठूला रकम कबोल गर्ने धेरै दाताहरुले हालसम्म पनि पूर्ण रुपमा रकम उपलब्ध गराउन सकेका छैनन् ।

इन्जिनीयर सुर्य लम्सालले दाताहरुले कबोल गरेको समयमा रकम उपलब्ध गर।एमा न्युयोर्कबासी नेपाली मात्र नभएर समग्र नेपालको लागि नै यो मन्दिर गौरब विषय बन्ने जनाउनुभयो । अत्याधुनिक प्रविधिबाट मन्दिर निार्माण गर्न लागेको जनाउदैँ लम्सालले भवन निर्माणको नक्सा पास भइ मन्दिर निर्माण कार्य अर्को चरणमा प्रवेश गरेकोले सबै दाताहरुबाट आफूहरुले सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

प्रतिक्रिया