एकाकीपनाले कठ्याङ्ग्रीएको बखत
शरद्को घामसरी
तिम्रो आगमन !
कुहिरोमा रुमल्लिरहेथेँ
सुरज को छविसँग
शीतका थोपा पग्लिएँ म,
वेगले उडेँ
सिरेटो छिचोल्दै
तिम्रो स्पर्श ओढ्न;
तर
मध्यान्ह पनि
निछ्याम नै भो
एकलास यो जीवन को;
सगरको शोभा तिमी !
धर्तीको धूलो म !
बादल मडारियो
पुन: एकपटक
एकान्तको
तिम्रो अपेक्षामा
धर्ती गुमाएँ
न आकाशै पएँ
तिमीलाई खोज्दा
आफैबाट हराएँ
शायद
यो ज्ञात भए
म तिम्रो खोजमा
निक्लने थिईन
की
तिमीलाई खोज्दाखोज्दै
म आफैमा नै
यस्तरी हराउनेछु
ताकि
तिम्रो खोजले पनि
मलाई
फेला पार्न नसकोस्!
– अस्मिता आचार्य
– टेक्सास, अमेरिका
प्रतिक्रिया