बिहीबार, माघ ९ २०७६
काठमाडौं १५:३०
वासिङटन डिसी 04:45

एक वर्षभित्र रूसी भाषामा नेपालबारे पाँच विषयका छ पुस्तक

कृष्णप्रकाश श्रेष्ठ २०७६ पुष १२ गते १५:०३ मा प्रकाशित

कृष्णप्रकाश श्रेष्ठ

बित्नै आँटेको सन् २०१९ रूसी भाषामा नेपाल विषयक पुस्तक प्रकाशनको क्षेत्रमा निकै उपलब्धिमूलक रहेको छ । नेपाली पाठकवृन्दले रूसी भाषामा निस्कने गरेका नेपालविषयक लेख र पुस्तकबारे अत्तोपत्तो नै नपाउने बुझेर म आज केही शब्द कोर्न बसेको छु ।

सोभियत संघको विघटनपश्चात् रूसमा नेपालका विभिन्न क्षेत्रहरूको अध्ययनमा खडेरी परेको प्रतीत भइरहेको थियो । नेपालको अध्ययनमा आफ्नो जीवन अर्पण गर्ने सोभियत नेपालविदहरूको संख्या हाल एक औंलामा गन्न पनि नपुग्ने अवस्था छ । तर रूसमा नेपालको बारेमा जान्न चाहनेहरूको संख्या घटेको छ भन्ने यसको अर्थ होइन । नेपालमा पछिल्लो समयमा भएका युगान्तकारी परिवर्तनप्रति रूसी मित्रहरू अनभिज्ञ छैनन् । संचारमाध्यमको वर्तमान द्रुततर विकासले अहिले रूसमा पहिलेको तुलनामा नेपालको नाम सुन्ने र नेपालबारे धेरथोर जानकारी राख्ने मानिसहरूको संख्या ह्वात्तै बढेको छ । तर नेपालको साहित्य, संस्कृति, कलाबारे गहन अध्ययन गर्न चाहनेहरूका समक्ष अद्यापि भाषाको पर्खाल कायम छ । पछिल्लो समयमा निजी क्षेत्रमा नेपालीहरूको समेत प्रयासबाट रूसमा नेपालविद्याको विकास एकदमै अबरुद्ध चाहिं भएको छैन । यसको पुष्टि यसै वर्ष रूसी भाषामा प्रकाशित नेपालसम्बन्धी किम्बदन्ती, इतिहास, संस्कृति, यात्रावृतान्त, साहित्य आदि पाँच विषयका छओटा गहकिला पुस्तकहरूको प्रकाशनबाट भएको छ भन्न सकिन्छ । निसन्देह नै यो उपलब्धि ग्रन्थकारहरूको यही एक वर्षको क्रियाकलापको परिणाम भने अवश्य पनि होइन । अब म लामो भूमिका बाँध्नपट्टि नलागेर आफ्नो आलेखको मूल विषयवस्तुमै प्रवेश गर्न चाहन्छु ।

सर्वप्रथम यसै वर्षको आरम्भमा यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) को दशौं वर्षको तपस्यापश्चात् नेपालका पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तरमा हिमालदेखि दक्षिण तराईसम्मकै लेखकलाई प्राप्त भएका सम्पूर्ण सामग्रीहरूको आधारमा आफ्नै शब्दमा वर्णन गरी रूसी भाषामा पुराकथा र किम्बदन्तीहरू लेखी तयार पारिएको ‘नेपालका पुराकथा र किम्बदन्ती’ शीर्षकको पुस्तक रूस विज्ञान प्रज्ञाप्रतिष्ठान प्राच्यविद्या संस्थानबाट प्रकाशमा ल्याइयो । यस पुस्तकको तीन खण्डमा समाविष्ट २२८ पुराकथा र किम्बदन्तीहरूलाई पहिलोपल्ट वर्गीकरण समेत गरी विषयगत २१ अध्यायमा लेखकद्वारा तयार पारिएको ६९६ पृष्ठको यस्तो वृहत् ग्रन्थ नेपालीमा समेत चद्यउपि उपलब्ध छैन र रूसी भाषामा पहिलोपल्ट प्रकाशित हुन पुगेको छ । यस ग्रन्थको शुरुमा विषयसूचीपश्चात् लेखकको प्रस्थावना र लेखकबाटै तयार पारिएको नेपालका पुराकथा र किम्बदन्तीको संकलन, अध्ययन, अनुसन्धानको इतिहास, नेपाली र नेवारी (नेपालभाषा) मा निस्केका विषयगत पुस्तकहरूको परिचय र नेपालका विभिन्न जातिहरूमा प्रचलित किम्बदन्तीहरूको वर्गीकरणको औचित्यसहित संक्षिप्त विवेचना प्रस्तुत गरिएको प्राक्कथनका साथै रूसी पाठकहरूले नेपाली ठेट नाम र पारिभाषिक शब्दहरूको अर्थ सहजै बुझ्न सकून् भन्ने उद्देश्यले पुस्तकको पुछारमा व्याख्यासहित शब्दावली र स्रोत ग्रन्थसूची पनि समावेश गरिएको छ । यस ग्रन्थको विषयवस्तुबारे नेपालीहरूले पुछारमा अंग्रेजी भाषा समाविष्ट सारसंक्षेप र अध्यायसूचक विषयसूचीको शीर्षकबाट नै अनुमान लगाउन सक्ने भए तापनि के उल्लेख गर्न चाहन्छु भने यस ग्रन्थको लेखनमा नेपालका विभिन्न जाति (नेवार, खश, किरात, मैथिल, थारू, धिमाल आदि) र अन्य नृवंशात्मक समूहका साथै हिन्दू, बौद्ध, किरात र स्थानीय धर्माबलम्बीहरूमा प्रचलित पुराकथा र किम्बदन्तीहरूको लेखनमा नेपाली र नेवारी (नेपालभाषा) मा उपलब्ध लोकसाहित्यका पुस्तक तथा पत्रपत्रिकामा प्रकाशित सामग्रीहरूको सधन्यवाद उपयोग गरिएको छ ।

सन् २०१९ को आरम्भतिरै कैयौंपल्ट नेपालका विभिन्न भागहरूको यात्रा गर्ने मेरा रूसी मित्रद्वय कोजोरेजोभ पिता-पुत्र (एभ्गेनी र इभान) को रङ्गीन सचित्र ग्रन्थ ‘हिमालयको आकर्षण’ शीर्षकमा ‘मकालु’ उपशीर्षकसहित मुखपृष्ठमा पहाडको प्रतीकात्मक खाकाचित्रसहित ‘रहस्यमय पर्वतको मोहनी’ भन्ने आदर्शोक्ति बोकेको बडेमानको ठेली प्रकाशित भयो । ठूलो साइजको ३२८ पृष्ठ भएको यो ग्रन्थ एक वर्षअघि ‘हिमालयको आकर्षण’ भन्ने साझा शीर्षकमा ‘सगरमाथा’ उपशीर्षक दिएर प्रकाशित गरिएको त्यस्तै आकारप्रकारको पहिलो खण्डकै क्रमिक दोस्रो ठेली हो । दागेस्तानको राजधानी माखाच्कालामा सन् १९५४ मा जन्मिएका एभ्गेनी कोजोरेजोभले १२० भन्दा बढी शिखरहरूमाथि आरोहण गरिसकेका छन् । उनी एक अनुभवी पर्वतारोही मात्र नभई विगतमा अर्थशास्त्रमा विद्यावारिधिको प्राज्ञिक उपाधिप्राप्त एक कुशल प्राध्यापक समेत हुन् । तसर्थ उनको लेखनमा एक वैज्ञानिक कार्यकर्ताको विश्लेषणात्मक दृष्टिकोणको समेत झल्को पाइनु स्वाभाविकै हो । भूमिकाको अतिरिक्त यस पुस्तकमा समाविष्ट ‘काठमाडौंको यात्रापथ’, ‘पूर्वी नेपालका कुनाकाप्चामा’, ‘अत्युच्च हिमाली बाटोमा’ र ‘पाटनका घुम्तीहरू’ शीर्षकमा चार अध्याय र पुछारमा शब्दावली, सन्दर्भ ग्रन्थसूची र चित्र-दिग्दर्शिका पनि समाविष्ट छन् । यहाँनेर के पनि बताइहालौं भने यस ग्रन्थमा समावेश गरिएका २५० भन्दा बढी ठूला र साना सबै छविचित्रहरू उनकै सुपुत्र छविचित्रकार इभानकै क्यामराबाट खिंचिएका हुन् । सन् १९८८ मा जन्मेका इभानले पनि आफ्ना पिताको साथमा धेरैपल्ट नेपालका डाँडाकाँडाहरू चहारिसकेका छन् । उनले सन् २०१२ मा ‘हिमालयको अन्तरचिन्तन’ शीर्षकमा नेपालविषयक फोटोअल्बम प्रकाशित गरिसकेका छन् । स्मरणीय के पनि छ भने दागेस्तानका विश्वप्रसिद्ध जनकवि रासुल हाम्जातोभको नेपालविषयक ‘जीवित देवी कुमारी’ र ‘जीवनचक्र’ शीर्षकका दुर्इ काव्य समावेश गरेर नेपाली भाषामा ती काव्यहरूको मेरो अनुवादसहित सन् २०१३ मा प्रकाशित त्रिभाषिक (आभार, रूसी र नेपाली) सचित्रग्रन्थ ‘दुर्इ देवताप्रति’ पनि नेपाल र दागेस्तानका दृश्यहरू उतारिएका इभानकै रङ्गीन चित्रहरूद्वारा सिंगारिएका थिए । यस ग्रन्थको सम्पूर्ण विषयवस्तुको सारसंक्षेप समेत यहाँ प्रस्तुत गर्नु सम्भव छैन, तर यस ग्रन्थका पानाहरू पल्टाउँदै चित्रहरू मात्र हेर्ने हो भने पनि रूसी भाषा नबुझ्ने पाठकले समेत नेपालबारे सर्सर्ती परिचय पाउन सक्तछ ।

रूस विज्ञान प्रज्ञाप्रतिष्ठान प्राच्यविद्या संस्थानबाट प्रकाशित अर्को पुस्तक ‘शिलाभिलेखहरूको प्रमाणानुसार प्रारम्भिक नेपालको इतिहास’ शीर्षकमा प्रकाशित भयो । यस पुस्तकका लेखक हुन् संस्कृतभाषाका विद्वान् एवं प्रसिद्ध नेपालविद् दिमित्री लेल्युखिन । उनीसँग मेरो राम्रो व्यक्तिगत सम्बन्ध कायम थियो र उनैको परामर्शपश्चात् नेपालविषयक लेख वा पुस्तक प्रकाशनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालबारे लेख्नेहरूको एक क्लबको रूपमा रूस नेपालविद्या केन्द्र स्थापना गरिएको घोषणा सन् २००३ को श्रीपञ्चमीका दिन नेपाली राजदूतावासको प्रांगणमा आयोजित कार्यक्रममा गरिएको थियो । नेपालको लिच्छविकालीन शिलाभिलेखका विशेषज्ञले नेपालबारे कैयौं गहकिला लेखहरू विभिन्न संकलनहरूमा प्रकाशित गरिसकेका थिए र उनलाई मैले वेला-वेलामा पुस्तक प्रकाशनका लागि घच्घच्याउने समेत गरेको थिएँ । अन्त्यमा उनले मलाई किताब तयार पारिएको सूचना दिएका थिए । सन् १९५६ मा जन्मी ५८ वर्षको परिपक्व उमेरमा १७ सेप्टेम्बर २०१४ मा उनको देहान्त भयो र उनले आफ्नो पुस्तकको कलेवर देख्न पाएनन् । दिवंगत दिमित्री लेल्युदिनको स्मृतिमा संस्कृत साहित्यका अनुसन्धाता रूसी विदुषी एलेना त्युलिनाको सम्पादनमा नेपालविषयक उनको त्यो गहन अनुसन्धानमूलक पुस्तक अहिले मेरो हातमा छ । त्यस पुस्तकमा सम्पादकीय प्रस्तावना र लेखकीय प्राक्कथन र पुछारमा उपसंहार, सन्दर्भ ग्रन्थसूची र अंग्रेजी भाषामा सारसंक्षेपका अतिरिक्त स्रोतको रूपमा लिच्छविकालीन शिलाभिलेख तथा गोपालराज-वंशावलीको विवेचना पनि प्रस्तुत गरिनुका साथै ‘नेपालको प्रारम्भिक समाजको सामाजिक संरचना’, ‘नेपालमा प्रारम्भिक राज्यको आन्तरिक संरचनाका विशेषताहरू’ र ‘केन्द्रीय सत्ता-संगठनका विशेषताहरू’ भन्ने शीर्षकअन्तर्गत मूल तीन अध्याय रहेका छन् । लिच्छविकालीन शिलाभिलेखहरूको अध्ययन र रूसी भाषामा तिनको अनुवाद गरी कम्प्युटरमा समेत समावेशार्थ जीवन अर्पण गर्ने रूसी विद्वानको लेखनीबाट निसृत यस्तो महत्वपूर्ण पुस्तक नेपालीमा अनुवाद हुन सके नेपालीहरूले पनि उनको विचार र निष्कर्षाट अवगत हुने मौका पाउने थिए ।

यस सालको चौथो पुस्तक चाहिं ‘सेन्ट-पिर्टसबुर्ग प्राच्यविद्या’ प्रकाशनगृहबाट ‘नेपालः मान्छे, देवता, पशुपन्छी’ शीर्षकमा प्रकाशित भएको छ । उपहार र बिक्री-वितरणका लागि दुर्इ बेग्लाबेग्लै बान्कीमा प्रकाशमा ल्याइएको यस पुस्तककी लेखिका हुन् इतिहासविषयमा महाविद्यावारिधि प्राज्ञिक उपाधिधारी रूसी विदुषी मार्गारिता आल्बेदिल । मा ल्याइएको छ । गतः वर्षसेन्ट-पिर्टसबर्ुगमा अस्तित्वमा आएको रसियाली हिमालय तथा तिब्बत अनुसन्धानकर्ता संघकी उपाध्यक्षका साथै प्राच्यविद्या विभागकी प्रमुख रहेकी लेखिकाले अहिलेसम्म भारतको इतिहास, धर्म र संस्कृतिको विषयमा ११ वटा पुस्तक र नेपालको विषयवस्तुमा समेत केही लेखहरू प्रकाशित गरिसकेकी छन् र यो उनको रसियाली आधारभूत अनुसन्धान कोषको ‘लोकप्रिय वैज्ञानिक श्रृङ्खला’ परियोजनाअन्तर्गतको आर्थिक सहयोगमा प्रकाशित नेपालको संस्कृतिविषयक पहिलो पुस्तक हो । उनी रूसको सांस्कृतिक राजधानी मानिने सेन्ट-पिर्टसबुर्गकी बासिन्दा हुन् र उनले मलाई ‘सहयोगको अपेक्षासहित श्री कृष्णप्रकाश श्रेष्ठलाई’ भन्ने वाक्यांशपश्चात् मिति १७.०९.१९ र स्वहस्ताक्षरसहित २०८ (१६० र ४८) पृष्ठको आफ्नो पुस्तक उपहारस्वरूप पठाएकी छन् । नेपालको यात्रा गर्ने पहिला रूसी इभान पाभ्लोभिच मिनोभको स्मृतिप्रति समर्पित यस पुस्तकको गातामा बौद्धनाथ स्तुपको तस्वीरअङ्कित छ भने भित्रपट्ट चाहिं ‘ऐतिहासिक भूगोल’, ‘हिमाली राज्यका वासिन्दा’, ‘जीवित देवी’, ‘हिन्दू धर्मका प्रमुख देवताहरू’, ‘बुद्धको जन्मभूमि’ र ‘नेपाली पशुपन्छीजगत्’ शीर्षकका ६ अध्यायका अतिरिक्त आरम्भमा भूमिका र पुछारमा उपसंहार तथा ग्रन्थसूचीका साथै बीचमा गाभिएको पूरै २४ पृष्ठमा चाहिं नेपालविषयक रङ्गीन तस्बीरहरू पनि समावेश गरिएका छन् ।

यस वर्षको पाँचौ पुस्तक चाहिं माथि उल्लिखित एभ्गेनी र इभान कोजोरेजोभद्वयकै ‘हिमालयको आकर्षण’ श्रृङ्खलाकै ‘मनास्लु’ शीर्षक बोकेको उनीहरूकै प्रयासबाट छापिएको तेस्रो सचित्र ग्रन्थ हो । यस तेस्रो सचित्र ठेलीमा पूर्ववत् भूमिका, शब्दावली, ग्रन्थसूची र चित्र-निर्देशिकासहित ‘स्वयम्भू’, ‘लाङटाङ’, ‘मनास्लु वरिपरि’ र ‘विशाल भक्तपुरमा’ नामक चार अध्याय रहेका छन् । नेपालविषयक रङ्गीन तस्वीरहरूसहित प्रकाशित यस ‘मनास्लु’ शीर्षकअन्तर्गतका ३२८ पृष्ठको ठेलीको प्रारम्भ चाहिं मेरै मन्तव्यबाट गरिएको छ । त्यसको प्रारम्भिक अनुच्छेदको निम्न नेपाली अनुवाद पाठकवृन्दसमक्ष प्रस्तुत गर्न चाहन्छुः
‘मेरो अगडि ‘हिमालयको आकर्षण’ भन्ने साझा शीर्षक भएका दुर्इ ठेली छन् । छिटै नै तेस्रौ ठेली पनि प्रकाशमा आउने आशा छ । पहिलो ठेलीको गातामा सगरमाथा र दोस्रो ठेलीको गातामा मकास्लु हिमशिखरको रङ्गीन तस्बीर छापिएका छन् । हिमशिखरको सेतो हिउँमा ज्वलन्त आभा टल्किने सूर्योदय र सूर्यास्तको अनुपम क्षण क्यामरामा बन्द गर्नु अवश्य नै सहज हुँदैन । तर इभान कोजोरेजोभ भने यस्तो क्षणलाई समात्न पोख्त छन् र उनी त्यो अलौकिक दृश्यानुभूति रसियाली पाठकहरूलाई समेत बाँड्ने गर्दछन् । अनि उनका बुवा एभ्गेनी कोजोरेजोभ चाहिं आफ्नो यात्रानुभूतिसम्बन्धी रमाइला वर्णनद्वारा पाठकको जिज्ञाशा शान्त पार्न खप्पीस छन् । उनी देशदेशावरको यात्रा गर्न मन पराउँछन् र नेपालको इतिहास र संस्कृतिको स्वाध्ययन गर्दै सुबोध भाषाको माध्यमबाट गहन विषयतर्फ पनि पाठकलाई ठट्यौलो पाराले आकर्षित गर्न सक्षम छन् । यसरी पिता र पुत्र दुवैजनाले उच्चस्थलीय मेरो हिमाली मातृभूमिको गहनतातिर तपाईंहरूलाई आकर्षित गर्ने जमर्को गरिरहेका छन्’ ।

बित्नै आँटेको यस वर्षको अन्तिम छैटौं पुस्तक यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) को अनुवाद र सम्पाबनमा तयार पारिएको नेपाली आख्यान (कथा, संस्मरण, नियात्रा, आधुनिक लोककथा, एकाङ्की) तथा कविता विधाको संकलन ‘नेपाली साहित्य संगम’ हो । नेपाली र नेवारी (नेपालभाषा) का समेत गरी बीसौं र एक्काइसौं शताब्दीका ४८ जना प्रतिनिधि लेखककविहरूका आधा सयभन्दा बढी आख्यान र कविताहरू समाविष्ट २४८ पृष्ठको यस पुस्तकको प्रकाशन गैरआवासीय नेपाली संघ रूसको आर्थिक सहयोगमा अन्तरराष्ट्रिय समन्वय परिषद भाषासाहित्य उपसमितिका तर्फबाट भएको हो । यसमा समाविष्ट लेखककविहरूमध्ये स्वनामधन्य महाकवि लक्ष्मीप्रसाद देवकोटा, शहीद शुक्रराज शास्त्री, कविकेशरी चित्तधर हृदय, नाटककार हृदयचन्द्रसिंह प्रधान, युगकवि सिद्धिचरण श्रेष्ठ, दार्शनिक कवि बालकृष्ण सम, कवयित्री पारिजात प्रभृत्ति कतिपय दिवंगत स्रष्टाहरूको छविचित्र गाताको चौथो पृष्ठमा दिइएको छ । आख्यान र कविता गरी दुर्इ खण्डमा विभाजित यस पुस्तकको आरम्भका ३० पृष्ठमा रूसी र नेपालीमा समेत विषयसूची, प्रकाशकको तर्फबाट भाषाशाहित्य उपसमितिका संयोजक एवं यूरोप क्षेत्र उपसंयोजक गोविन्दप्रसाद गौतमको प्रस्तावना, रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेको शुभेच्छा-सन्देश, गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्टको शुभकामना, रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौतमको शुभेच्छा-सन्देश, अन्तरराष्ट्रीय समन्वय परिषदका पूर्वअध्यक्ष जीबा लामिछानेको मन्तव्य, लेखापरीक्षण समितिका संयोजक तथा विश्व नेपाली साहित्ग महासंघ रूस शाखाका महासचिव डा. मनमूर्ति भुर्त्यालद्वारा व्यक्त हार्दिक आभारका साथै रूसमा नेपाली साहित्यको अनुवदको संक्षिप्त इतिहास झल्कने गरी यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) बाट तयार पारिएको प्राक्कथन समावेश गरिएको छ । रूसी भाषामा अनूदित नेपालको राष्ट्रगानद्वारा आरम्भ गरिएको ‘नेपाली साहित्य संगम’ को विमोचन काठमाडौंमा गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको क्रममा गतः शरद्मा नेपाल पज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट गरिएको थियो भने लोकार्पण चाहिं गैरआवासीय नेपाली संघ रूसको आयोजनामा मास्कोस्थित नेपाली राजदूतावासमा २२ डिसम्बर (आइतवार) का दिन सुसम्पन्न सम्मान, पुस्तक विमोचन र मिलन समारोहमा नेपाली राजदूत ऋषिराम घिमिरे, गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष डा. बद्री केसी तथा रूस-नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभबाट भयो । रसियाली मित्रहरूलाई आधुनिक नेपाली आख्यान र कविताको सम्यक् परिचय दिने यो पुस्तक नेपाली र रूसी स्रष्टाहरूको संयुक्त परिश्रमको फल हो । यसमा समाविष्ट गद्यकृति र काव्यकृतिको रूसी अनुवादको सम्पादन र कविताको छन्दोबद्ध अनुवादमा सहयोग पुर्‍याउने रुस लेखक संघ मस्को नगर संगठनका उपाध्यक्ष भ्लादिमिर सिल्किन र दोनवर्ती रोस्तोभनिवासी कवि इगोर एलिसेएभ प्रभृत्ति रूसी कवि-कवयित्रीहरूमध्ये त्यस समारोहमा उपस्थित ल्युदमिला आभ्देएभा, ल्युदमिला साल्तिकोभा, तामारा पोत्योमकिना, ताच्याना चेग्लोभा, फातिमा सोलो, नेल्ली कोपेइकिनाद्वारा आफ्नो छोटो मन्तव्यसहित रूसी भाषामा अनूदित केही कविताको वाचन पनि गरिएको थियो ।

रूसमा बसोवास गरिरहेका नेपालीहरू र तिनका रूसी मित्रहरूको उल्लेखनीय उपस्थिति रहेको त्यसै भव्य समारोहमा ‘गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद् भाषासाहित्य उपसमिति प्रथम अन्तरराष्ट्रीय सम्मेलन – २०१९’ द्वारा ‘प्रवासमा रहेर नेपाली भाषा र साहित्यको विकास र श्रीबृद्धिका लागि’ प्रदान गरिएको सम्मानपत्र पनि यस पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) लाई हस्तान्तरण गरिएको थियो ।

२७ डिसम्बर २०१९ (शुक्रवार),
मस्को, रूस महासंघ ।

प्रतिक्रिया