कोमल गज़ल:-

इनेप्लिज २०७६ पुष ६ गते १४:२४ मा प्रकाशित

पुरानै छ पूजा धुपौरा पुरानै
पुरानै छ थाली कचौरा पुरानै

भयो के र नौलो नयाँतन्त्रबाट
पकाइन्छ रोजै फुलौरा पुरानै

सधैँ भीड उर्लिन्छ नेतृत्व घेर्दै
पुरानै छ सारी र दौरा पुरानै

पुरानै छ खानापिना वा भतेर
बनेको छ छोला भटौरा पुरानै

भएको छ दुर्गन्धको रास ठूलो
अझै थुप्रिँदैछन् कुसौरा पुरानै

अनेकौँ व्यथाले विरामी छ देश
बढेकाबढ्यै छन् घमौरा पुरानै

छ उस्तै खुराफात उस्तै छ रोष
पुरानै छ गम्छा पछ्यौरा पुरानै

चपाएर नेता बसे स्वाद मानी
भयौँ आज हामी तितौरा पुरानै

©[email protected]
(भुजङ्गप्रयात छन्द )
-कोमल भट्ट
च.न.पा.१३,काठमाडौँ
हाल:-न्युयोर्क

प्रतिक्रिया