कोमल गज़ल :-

इनेप्लिज २०७६ मंसिर २५ गते २३:२९ मा प्रकाशित

न भानुले छेक्छु अकास भन्छ
न सिन्धु फैलाउँछु त्रास भन्छ

विशाल गर्दैन घमण्ड कैले
निकृष्ट गर्जेर म खास भन्छ

कहाँ छ माया ममता नशामा
भुलेर संसार गिलास भन्छ

नराख विश्वास दुराशयीमा
छकाउँदै छर्छु मिठास भन्छ

सके सुनौँ क्रन्दन निम्छराको
सधैँ रुँदै गाँस,कपास भन्छ

हुँदैन चोखो मन दुर्मनाको
प्रणाम गर्दा परिहास भन्छ

जिम्दै छ सामन्त विचारधारा
गरीबलाई अझ दास भन्छ

खुदै छ सस्ता बकवास गर्ने
उही गुणी बात बतास भन्छ

उमेदले भन्छ बढौँ अगाडि
निराशले छोड प्रयास भन्छ

विरक्तियो ‘कोमल’ जिन्दगानी
उराठलाग्दो छ प्रवास भन्छ

(उपेन्द्रवज्रा छन्द)
५मा विश्राम

 -कोमल भट्ट
च.न.पा -१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया