दोषी मैं हुँ अरूलाई किन .. सुभद्रा पराजुली, भर्जिनिया

इनेप्लिज २०७६ मंसिर ५ गते २३:३१ मा प्रकाशित

हिंडनु पर्छ अब यात्राहरू आफ्नै पैतालामा
असहज नै किन नहोस गन्तव्य यस्को
छ्यापेर हिलो अरूलाई दोष दिंदैमा
राष्ट्रभक्तिको खादा थाप्न पाईन्छ र ?

मेरो कर्तव्य बिर्सिएर आराममा छु हजुर
उनको विवेकले भ्याएन म कराएर हुन्छ र?
उम्केको माछा ठूलो, “म भएको भए “
यो मेरो स्वाभाव, भै ‘गो छोडौं यी सबै गफ !

देखाउने दाँत र चपाउनेको फरक थाहा छैन र ?
कता छ मेरो “ नागरिकता” अनि मेरो “ राष्ट्रियता ?
शब्दावली थुपार्दैमा म राष्ट्रभक्त कसरी भनौं
आँफ्ना यात्राहरू कतै टाढा दौडाएर म
राष्ट्रवादी कसरी बनौं
गाँस बास कपास र सुख सयल खोज्दैमा बेफूर्सदी म
तिम्रो राष्ट्रप्रेमलाई कसरी नज़रअन्दाज़ गरौं !

यो मनको के नै कुरा भयो र ?
दौडिरहन्छ हरेकपल यहाँ वहाँ जताततै
छिनछिनमा परिवर्तित ईछ्याहरू ठोक्किने ठाउँ पनि फरकै हुन्छन् ,
यसैलाई भजाएर म “राष्ट्रिय माला” खोज्ने ?
हैट ! दुश्साहास भयो राष्टप्रेमका नाममा
आफ्ना भावनाका छल्काईमा अनि
लगामविना दौडि रहने कोरा स्वार्थी कल्पनाहरूमा !

म प्रेमीमा पर्दिन राष्ट्रभक्तिको
ख़ाली देखाउँछु छु भनेर ,
नपत्याए यथार्थ छर्लग छ नि
के छ र योगदान मैले पस्किएको?
छोडेर हिड्नु मेरै रोजाई हो !

पाखोबारी मेरो बाँझैं रोईरहदाँ
सम्पन्नता खोज्न म परदेश भौतारिएँ
जंगेपिल्लर मेरा मक्काईरहेथ्ये
गगनचुम्बी महल खोज्दै बिदेशिए
अब, कताको देश कताको परदेश
कुन मुटु दुखाउनु, कुन आँसु खसाउनु

भन्नेले त भन्लान निश्ठुरी भनेर
तर छातीमा हात राखेर सोचें
आँफैसँग को झुठो बोल्छ र ?
यथार्थ यही हो
मायाले संसार कहाँ थेग्छ र ?
परदेशीले यथार्थ सबै कहाँ देख्छ र ?

प्रतिक्रिया