बुधबार, मंसिर ४ २०७६
काठमाडौं ०४:१७
वासिङटन डिसी 17:32

सम्झनाका कोसेलीहरू

सुभद्रा पराजुली ,भर्जिनिया २०७६ कार्तिक १८ गते २३:३२ मा प्रकाशित

यी सम्झनाहरू कुनै पल मेरा थिए
यी यादहरू कुनै पल म आँफै थिएँ
चाहेर भुल्न कहाँ सकिने रहेछ र वितेका क्षणहरू
यो धर्तीको पल्लो कुना सम्झेर पौडिरहन्छन् हरपल

ती हटिया, मेला , लिंगे पिंङ र चर्के पिंङका स्वादहरू
ती साइकल , रिक्सा र गोरूगाडा चढेका यादहरू
ती तित्ती, छुर, डन्डीवियो , आसपास र ढुकुमुकु भन्दै खेलेका क्षणहरू
दिनभरि खेल्दा पनि नथाकिने बालपनहरू

ती हरियाली धानका फाँटहरू
कान्लाभरि लहलह मास र मस्यामहरू
धावीमा सेतै फैलिएर माछा ढुकिरहेका बकुल्लाहरू
धमिलिनै लागेछन् सम्झनाहरू

लामो बाटो हिंडेर पुग्नु पर्ने मेरो पार्वती विध्यालय
लडेको रूखको पुल तरेर हिड्नु पर्ने मेरो गेउरिया
वर्खामा भेल आउँदा उर्लिएर गडगडाउने मेरो चिस्याङ
सेतै फूलेका काँसघारी र माथी देखिने कानेपेखरीका जंगलहरू

घर अगाडी माचमा थुप्रिएको परालको डंगुर
पसाएर भूँईसम्म पुगेका केराका घरीहरू
आगन वरिपरि फूलेका संयपत्री र मखमली
तीनैको याद पौडिरहन्छन् मनभरि झल्झली

समयले टाढा पुर्याउन नसकेका मेरा बिगतहरु
दुरीले विर्स्याउ नसकेका मेरा अनगिन्ती वचपनहरू
हरेक कोणबाट तुलना गरिरहन्छन् “ यस्तै थिए है हाम्रोमा पनि “
“ उस्तै रहेछ है यहाँ पनि “

पाईलाहरू बढि रहेका छन् उमेरका अंकहरू उक्लिरहेछन
हिजोका आफ्नाहरू आज दुरीमा टाढा छन्
पराईहरू आफ्नो बनेर जीवन रंग्याई रहेका छन्
म बाट हामी बनेर जिवन उकालो उक्लिरहेको छ खुशी खुशी

त्यै पनि मनभित्र ख़ाली छ कुनै कुनामा
खै के को अतृप्ती हो झस्की रहन्छ मन बेलाबेलामा
उनै “ जगन्नाथ गुरगाईंका “शब्दहरू सम्झिएर
“ जवानी नचढ्दै पसेथ्ये बिदेश , भएछु नि बुढो फुलेछन् नि केश,
बसे हात गोडा कति बाँचिएला हुनुसम्म भो लाग्नु थान्को अबेला “
आख़िर हरेक परदेशीको नियत यहि त होला नी

सुभद्रा पराजुली , भर्जिनिया

प्रतिक्रिया