क्यानडाको राजधानीमा देवकोटा जयन्ती र देउसी भैलो

सुरेन उप्रेती अटवा, २०७६ कार्तिक १० गते २२:३३ मा प्रकाशित

सुरेन उप्रेती अटवा

अक्टोवर २६, २०१९ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडा ओटावाले एक कार्यक्रमको आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनायो । अटवा स्थित नेपाली भाषा विधालयका विद्यार्थीहरुलाई नेपाली भाषा, साहित्य, कला, र संस्कृति सिकाउने उधेश्यका साथ पन्द्र बर्ष अगाडि देखि निरन्तर यसप्रकारका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । युवानी सुवेदी, आलिशा रेग्मी, इदिका पौडेल, आयुशा रेग्मी, श्रीदिका पौडेलले आदिले नेपाली विधालयका वालवालिकाहरुले देवकोटा र अन्य समसामयिक बिषयमा आ-आफ्ना कविताहरु वाचन गरी सुनाएका थिए । त्यस्तै गरी अन्य साहित्यकारहरु कवयत्री इशा पौडेल, कवि तथा गजलकार श्री नवराज सुवेदी, नविन सुवेदी, सन्तोष बराल, सुरेन उप्रेती आदिले कविता तथा गजल वाचन गरेर सुनाउनु भएको थियो । महाकवि देवकोटाको बारेमा चर्चा र तश्विरमा अविर र पुष्पार्पण गरी कार्यक्रम शुरु भएको थियो । क्यानडाका लागि नेपाली राजदूत महामहिम श्री भृगु ढुँगानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु र स्थानिय साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न वक्ताहरुले देवकोटाको बारेमा चर्चा गर्नु भएको थियो । देवकोटाको जीवनी बारे प्रकाश पार्दै नेपाली साहित्यमा देवकोटाले भित्र्याएका बिभिन्न आयामहरुको कमल कोइरालाले चर्चा गर्नु भयो । देवकोटाको चर्चा गर्दै देवकोटाका दुवै मस्तिष्कहरुले फरक फरक विचारहरु एकै पटक सृजना गर्न सक्दथे । दुबै हातहरुले ती विचारहरुलाई एकै पटक फरक फरक ढंगले लेख्न सक्थे श्री कोइरालाले भन्नु भयो । प्रकृति सँग रमाउने देवकोटा स्वछन्दवादी कवि थिए । उनी मानवतावादी र परिवर्तनकामी कवि पनि थिए भनेर चर्चा गर्नु भयो । त्यस्तै गरी देवकोटाका बिभिन्नका आयामका बारेमा डा गोविन्द दहालले चर्चा गर्नु भएको थियो । देवकोटा स्वछन्दतावादलाई प्राचिनतालाई आत्मसात गर्न र निष्कृय स्वछन्दवाद “ दाडीबाट सफेद व्यास ऋषिको गंगा बनेको कथा” । त्यस्तै मानवतावादी र स्वछन्दवादलाई कवितामा पोखेको अर्को जातपातको विरोधी कविता हो ।

क्षेत्रिको छोरो यी पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन

जस्ता कविता पोखेका छन् । त्यस्तै मानवतावादी भएर पोखेको अर्को कविता यात्री कविता हो ।

“कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो ।”

जस्ता कविताहरु मार्फत मानवतावादको पृष्टपोषण गर्नु भएको छ । क्रान्तिकारी स्वछन्दवादका बारेमा कविता लेखेको छन । देश भक्तिका बारेमा कविता निवन्ध र अन्य साहित्य सृजना गरेका छन भन्दै श्री दहालले चर्चा गर्नु भयो ।

त्यस्तै गरी शालिग्राम अर्यालले देवकोटा र विश्वसाहित्यमाथि चर्चा गर्नु भएको थियो । उनन्चास बर्षको अवधिमात्र पाएका देवकोटाले नेपाली साहित्यमा ६सय भन्दा बढी साहित्य सृजना गर्नु भएको थियो । देवकोटाले अफ्रोएशिया सम्मेलनमा भाग लिएर साहित्यकारहरुले निर्धाका आवाजहरुलाई उठाउँन सक्नु पर्दछ जसले लाखौंको आवाज बोक्न सकोस भन्नु भयो । देवकोटाले अंग्रेजी साहित्यमा पनि कलम चलाएर नेपाली भाषा र साहित्यलाई विश्वमा चिनाउन योगदान पुर्याएको कुरा चर्चा गर्नु भयो ।

नेपाली विधालयका वालवालिकाहरुलाई देउशी भैलोको महत्व बारेमा संस्थाका महासचिव सन्तोष बराल प्रकाश पार्नु भएको थियो । सबै वालवालिकाहरुको सहभागितामा देउसी भैलो कार्यक्रम पनि सन्चालन भएको थियो । यो देउसी भैलोको आयोजना श्री प्रताप बस्नेतले गर्नु भएको थियो । यस प्रकारका कार्यक्रमले नेपाली भाषा साहित्य र संस्कृतिलाई जोगाइ राख्नुका साथै दोश्रो पिंडीमा हस्तान्तरण गर्नै महत्वपूर्ण काम भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि राजदूत श्री भृगु ढुंगानाले प्रशंसा गर्नु भयो । दिपावलीको शुभकामना दिंदै श्री ढुँगानाले नेपाल र नेपालीलाई सदैब जोड्ने र जुटाउने भनेकै हाम्रा चाडपर्वहरु हुन भन्नु भयो । कार्यक्रममा बिधालयका शिक्षिकाहरु सुनिता रन्जितकार, तारा रेग्मी, इशा पौडेलले वालवालिकाहरुलाई सहभागी हुन प्रेरित गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष श्री भानुभक्त आचार्यले देवकोटाले नेपाली साहित्यमा पूर्याएको योगदानको अरु सँग तुलना हुन सक्दैन । तर देवकोटाले मुनामदन लेखनमा नेवारीभाषाका साहित्यकारबाट प्रभावित भएर रचना गरीएको चर्चामा आउने गर्दछ । यदी यस्तो भएको भए उल्लेख गर्नु जरुरी थियो भन्नु भयो । अनेसासले देउसीभैलो खेलेर आर्थिक संकलन गरी साहित्यिक प्रकाशन तथा रिशर्च सम्मेलन गर्ने कुरा राख्दै सबैलाई सहयोग गर्न श्री आचार्यले अनुरोध गर्नु भयो । तीन दिन सम्म चल्ने देउसीभैलो कार्यक्रमबाट संकलित रकमलाई पहिला झैं प्रकाशन र सम्मेलनमा लगाउने पुन जानकारी गराउनु भयो । अनेसासको यस कार्यक्रमलाई उपाध्यक्ष तारा उप्रेतीले संचालन गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा जलपानको व्यवस्था गरीएको थियो ।

प्रतिक्रिया