कोमल गजल

इनेप्लिज २०७६ कार्तिक ८ गते १०:३३ मा प्रकाशित

सधैँ झैँ रुवाएर आयो तिहार
प्रवासी दुखाएर आयो तिहार

छुटे साथ बैनी,दिदी,दाजुभाइ
विरानो बनाएर आयो तिहार

कथा भैसके सेल,रोटी,अनर्सा
नियास्रो लगाएर आयो तिहार

भए स्वप्न टीका,मसाला र माला
शुभेच्छा हराएर आयो तिहार

लुके भोक निन्द्रा लुके चैन सारा
सिरानी भिजाएर आयो तिहार

भयो घाउ सम्झेर भैली र द्यौसी
सुखानी धपाएर आयो तिहार

जलेको छ सन्तापले जिन्दगानी
हितैषी गुमाएर आयो तिहार

न यो देश आफ्नो न हावा हिमाली
कलेजो फटाएर आयो तिहार

बहरे मुतकारिब मुसम्मन् सालिम
(भुजङ्गप्रयात छन्द)
कोमल भट्ट
च.न.पा-१३ पुरानो नैकाप,
काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

प्रतिक्रिया