शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०५:५३
वासिङटन डिसी 19:08

ठालु नारदमुनीको बिजोक -लघुकथा

करिम बक्स मियाँ २०७६ कार्तिक ७ गते ९:५६ मा प्रकाशित

एकादेशमा जनता बेच्ने यौटा लोक थियो । त्यो देशका जनता परलोक गएर पैसा कमाउँथे र देश चलाउँथे । एक दिनको कुरा हो । परलोक जान अनुमति दिने कार्यालयमा उता जानेहरूको अत्यन्तै भिड थियो । चाडपर्व पछिको सिजन  भएकोले होला सबैका खल्ती रित्ता प्राय: भइसकेका थिए त्यसैले सबैलाई हतार थियो कतिलाई छिट्टै जानुपर्ने थियो कसैलाई जसरी नि जानै पर्ने थियो सकेसम्म त आजै गएर भोलि देखि नै पैसा कमाउनु पर्ने थियो ।

त्यो लोकका हाकिम लाममा लागेका दुखी जनलाई एक एक गर्दै परलोक जाने टिकट दिँदै थिए, एक किसिमको चटारो थियो । भिडको पेलमपेलको असर यस्तो थियो कि त्यहाँ जो भएको भए पनि कर्कश र निरसिलो देखिने । न परलोक जानेको अनुहार हँसिलो छ न पठाउनेको मन खुसिलो छ ।

हाँसी खुसी विहीन उक्त लोकका हाकिम अति कडा ! हाकिम कडा हुनु स्वाभाविक पनि थियो । उनी अलिकति नरम हुने बित्तिकै झुक्क्याएर परलोक पठाउनेहरूको बिगबिगी ह्वात्तै बढ्छ ।

 नमिठो निरस व्यवहार, हाकिम नि कस्ता भने झोक नै चल्ने, उनी रूखा- लाहाछाप लगाउने लाइनमा बसेका मान्छेलाई सोध्दै थे- किन जानुपर्‍यो परलोक? यही लोकमा केही गर्न सकिन्न र? उनी जानेको अनुहार पढ्दै थिए,.. हँ, कतै परलोके नारदेहरुले फुस्लाउन त फुस्लाएनन ? कतै झुक्क्याउन त झुक्याएनन?  निरस र कडा भए पनि हाकिम लाई थाहा थियो आफ्ना जनता भित्रै ‘ठग’ हरू पनि छन् भन्ने । उनी चेक जाँच गर्दै थिए र पठाउनेको राहदानीमा लाहछाप ठोक्दै थिए ।

लोक र परलोकको तार्तम्य मिलाउने भिडमा कस्लाई कसको मतलव!

त्यति नै बेला परलोकका एक सुकिलो ‘नारद’ भिड छिचोल्दै हाकिमसम्म पुग्छ र हात तेर्स्याउँदै भन्छ म पर्लोकबाट आको, उता परलोकतिरको म ठालु हुँ र यता लोकतिर त मेरो पहुँच बडाहाकिमसम्म छ त्यसैले म लाइन बस्न सक्दिन मेरो काम यता द्रुतगतिमा गरिदिनु पर्‍यो !

यस्तो कुरा के सुन्याथे चिर्चिरे हाकिम बम्कीहाले । बम्कने मात्र होइन ती नारदको अनुहार भित्र कतै ‘ठग’ त लुकेको छैन भनेर सोध खोज समेत गरे अनि लाइनबाटै आउनुपर्ने आदेश कडा रूपमा दिए । एक हिसाब ले उक्त ठालु लाई गलहत्त्याएर औकात देखाइदिए।

नारदमुनी को ‘ठालु’ रवाफ एकक्षिनमा स्वाहा! आलु रवाफ बनाइदिए !

पचास लाख पर्लोकका प्रजाको स्वघोषित ठालु, बडाहाकिम सम्म पहुँच भको नारदको अपमान? अहँ कुनै हालतमा उसलाई पाच्य हुने कुरै आएन अनि कट्वाल चौतारोमा आएर फलाक्न थाल्यो त्यो लोके हाकिमले हेप्ने; नटेर्ने?

-इति श्री ठालु पुराणे, संजेल खण्डे, श्रम स्वीकृति महात्मे परदेश गमनम तथा हाकिम द्वारा ठालु गलहत्याइम् प्रथम अध्याय: कथा समाप्तिम ।

प्रतिक्रिया