वाल्यकाल हराएको दशैँ

इनेप्लिज २०७६ असोज २१ गते ९:१८ मा प्रकाशित

 

चिन्ता अनि अहंकार टाढा टाढा थिए
खुसी भई रमाईथ्यो पाँच रुपियाँ दिए,
मीठा मीठा गफ हुन्थे आफना दाजुभाइ
देवीजस्तै आदर गर्थे दिदीबहिनीलाई ।

दाजुभाइ दिदीबहिनी खेल्थे मिलि मिलि
सबै सन्तान एकै ठाँउमा घर झिलिमिलि।
मन मनको मिलन हुन्थ्यो चाडबाड आँउदा
मन सार्है प्रफुल्लित सानो खुसी पाउँदा ।

दुई रुपियाँको चकलेट , सबै मिलि खानी
न छलकपट , न त झुट कति राम्रा बानी
गीत गाउदै ,नाच्दै नाच्दै दशैँ आयो भनि
देखि हामीलाइ खुसी हुने बाबु आमा पनि।

जब मानिस ठुलो भयो कुरा सिक्यो धेरै
भन्न थाल्यो म नै राम्रो, कुरा राम्रा मेरै
छोरा छोरी मेरै राम्रा मेरै धेरै धन
भिन्न भए बिचारहरु कठोर भए मन।

धन कमाउने होडमा मानिस अन्धो हुँदै गयो
वाल्यकालको दशैँ अब एकादेशको भयो
ठुलो भई भुल्यो उसले चाडवाडको मूल्य
त्यति मीठो जीवनलाई पार्यो नरक तुल्य।

बूढा भएका बा आमाका बुझ्ने कुरा कसले
नातागोता आफन्तलाइ बिर्सेका छन् जसले
सबै मिलि खोजी हेरौ साथी संगी मित्र
बाल्यकालको मीठो दशैँ छ है हामी भित्र।।

बिष्णु पगेनी सिग्देल, तनहुँ नेपाल,
हाल: हेगर्सटाउन मेरील्यान्ड, अमेरिका

प्रतिक्रिया