सरकारी निवासबाटै पक्राउ परे निवर्तमान सभामुख महरा

इनेप्लिज २०७६ असोज १९ गते १७:४३ मा प्रकाशित

काठमाडौं, १९ असोज । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।

महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकका प्रहरीहरु खटिएका थिए ।सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेको थियो । तर उनले निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । तर उनी आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा गए ।

अब उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ । यस अघि आइतबार विहान जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लगतै सभामुख निवासमा प्रहरी पुगेको थियो । सुरुमा सादा पोसाकमा प्रहरी पुगेको थियो तर पक्राउ गर्ने तयारीसँगै सभामुख निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ ।

प्रतिक्रिया