राेशनीलाई सुरक्षा दिन असईसहित २ जना प्रहरी खटाइयो

इनेप्लिज २०७६ असोज १५ गते ११:५८ मा प्रकाशित

काठमाडौँ, १५ असोज । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ । शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको उच्च स्रोतले जानकारी दिएको छ ।

उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षा दिन परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ती महिलाले एक वर्षअघि विष सेवन गरेकी थिइन् । सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ ।

शाहीले बिहान ७ बजेबाट प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटस लेखेकी छन् । उच्च प्रहरी स्रोतका अनुसार प्रहरीको एक टोली आज बिहान शाहीको कोठामा पुगेर थप अनुसन्धान गरेको थियो ।

प्रहरीले पीडित भनिएकी शाहीको कोठाबाट रक्सीको बोतल, गिलास तथा भाँचिएको चस्मा लगायतका वस्तुहरु यसअघि नै नियन्त्रणमा लिइसकेको छ ।

कोठाको मुचुल्का उठाउन महानगरीय प्रहरी वृत्त बानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृत गएका थिए ।

पछिल्लो समय ती महिलाले भने बयान फेरेकी छन् । मङ्गलबार एक अनलाईनलाई भिडियो अन्तर्वार्ता दिएकी उनले महराले आफूलाई कुनै दुर्व्यवहार नगरेको, आफ्नो कोठामा समेत नआएको, लामो समयदेखि भेट नभएको बताएकी छन् । उनले महराविरुद्ध जर्वजस्ती बोल्न लगाएको पनि उल्लेख गरेकी छन् ।

साथै, महरा आफ्नो बाबु समान व्यक्ति भएको भन्दै त्यस्तो कुनै घटना नभएको दाबी गरेकी छन् ।

प्रतिक्रिया