अस्ट्रियामा दशैको आतुरता

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ असोज १३ गते २२:२५ मा प्रकाशित

हिन्दु धर्मालम्बीहरुको घरमा दशैको उत्साह र उमंग छाइसकेको छ। घरघरमा मालश्री धुन, डमरुको आवाज र गोकुल धुपको बासना, चण्डीपाठले छुट्टै रौनकता थपेको अवसरमा अस्ट्रियावासी नेपालीहरुमा पनि यस पटकको दशैमा कौतुहलता र आतुरता छाएको छ।

परिवार, नातागोता र साथीसंगीबाट टाढा रहेका प्रवासीहरुको मनमा खिन्नता यिनै चाडपर्वहरुले बढाउछ किनकि कामको सिलसिलामा भनेकै तिथी अनुसार चाडपर्व मनाउन नपाउनु प्रवासीहरुको अर्को पीडा हो तर सबैलाई समेट्ने तबरले विभिन्न संघसंस्थाहरुको संयोजकतामा विदेशमा दशै मनाउने गरिन्छ।

नेपाली सामाजिक र सांस्कृतिक संस्था(नेसास) ले आगामी आइतबार, अक्टोबर ६, २०१९ का दिन दशै तिहार विशेष कार्यक्रमको आयोजना गर्दैछ। विगतका वर्षमा विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरु सफलताका साथ  संचालन गर्दै आएको नेसासले यस वर्ष भिन्दै र अझै रोचक कार्यक्रम प्रस्तुत गर्ने जमर्को गरेको छ।

आइतबार महाअष्टमीको अवसरमा दुर्गा माताको पुजाबाट शुरुवात गरी नेपालमै लोप हुने अवस्थामा पुगेको पन्चे बाजाको सुमधुर संगीत अनि दशै विशेष नाटक, त्यसैगरी गीतसंगीत र नृत्यले भरिएको सांगीतिक प्रस्तुती र मुखै रसाउने नेपाली परिकार यस पटक दशै तिहार विशेषको आर्कषण रहनेछ। यस नौलो र आर्कषक शैलीले अस्ट्रियावासीको नियास्रो हटाउने  र ठुलो जनसमुहको सहभागिता हुने समेत धेरैको अनुमान छ ।

इनेप्लिजका लागी भियना,अस्ट्रियाबाट

बाबा राजेश्वरी थापा ढकाल

प्रतिक्रिया