एनआरएनए सचिव पदमा इजरायलबाट दीपकप्रसाद ओलीले पनि उम्मेदवारी दिने

इनेप्लिज २०७६ असोज ८ गते १:२२ मा प्रकाशित

इजरायल । गैह्र आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको यही अक्टुबर १५-१७ मा हुने विश्व सम्मेलनमा दीपकप्रसाद ओलीले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । इजरायलमा बस्दै आएका ओलीले प्रतिवद्धता पत्रसहित उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएन अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका ओली एनआरएनए इजरायलको पूर्व अध्यक्ष हुन् । उनले दुईपटक आइसीसी सदस्यमा इजरायलबाट प्रतिनिधित्व पनि गरिसकेका छन् ।

देश विकासमा यूवाको भुमिका महत्वपूर्ण हुने गरेता पनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट मुलुकले रेमिट्यान्स बाहेक खासै लाभ लिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै ओलीले आफ्नो जीतले नेपाल सरकारसँगको समन्वयमा विदेशमा रहेका युवा जनशक्तिबाट मुलुकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण सृजना गर्न लागिपर्ने बताउछन् ।

युवाहरुलाई स्वदेशमा नै रोजगारी सृजना गर्ने, युवाहरुको भूमिकालाई राज्य तहमा पुर्‍याउने र विदेशमा रहेका युवाहरु तथा दोश्रो पुस्ताका एनआरएनहरुलाई नेपाली कला, संस्कृति तथा सामाजिक भावना जगाउन पहल गर्ने ओलीको योजना रहेको छ ।

ओलीले वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, सामुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमहरुलाई अगाडि बढाउन आइसीसीमा दवाव सृजना गर्ने प्रतिवद्दता समेत जनाउनु भएको छ । ओलीले आफूलाई अत्यधिक वहुमतले विजयी गराउन सम्पूर्ण गैह्र आवासीय नेपालीहरुमा हार्दिक अनुरोध गरेका छन् ।

२००७ देखि एनआरएनए अभियानमा संलग्न रहँदै आएका ओली अहिले पनि निरन्तर रुपमा यो अभियानमा सक्रिय छन् । ओलीले नेपाली कामदार सहयोगी मञ्ज संस्थापक कार्यकाल(२००६ देखि २००९ ), २०१० देखि २०१३ सम्म एनआरएनए एनसीसी इजरायलको महासचिव, २०१३ देखि २०१५ सम्म एनआरएनए आइसीसी सदस्य, २०१५ देखि ०१७ सम्म एनआरएनए एनसीसी इजरायल अध्यक्ष, २०१७ देखि २०१९ सम्म एनआरएनए आइसीसी सदस्य पदमा रहेर सामाजिक सेवकओ लामो अनुभव संगालेका छन् ।

उनले नेपालमा रहेका द्धन्द्धपीडित बालबालिकाका निम्ति विभिन्न चरणमा सहयोग अभियान चलाएर सहयोग, नेपालमा रहेका बृद्धाश्रमहरुमा सहयोग गरेका छन् । नेपालमा हुने दैवी प्रकोपका बेला इजरायलबाट कोष सङ्कलन गरेर सहयोग गर्दै आएका छन् ।

अहिलेसम्म सचिव पदका लागि गौरीराज जोशी (अमेरिका), आरके शर्मा (कतार), शिवकुमार बरुवाल (बेल्जियम), विनय अधिकारी (बेलायत), अभिमानसिंह बस्नेत (अष्ट्रेलिया) र कृष्ण गिरी (अष्ट्रेलिया) ले समेत उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया