कोमल गजल

इनेप्लिज २०७६ असोज ६ गते २:४३ मा प्रकाशित

टाठोबाठो मान्छे यहाँ जताततै ठालु हुन्छ
काम गर्छ कालु सधैँ मकै खाने भालु हुन्छ

आलु खाँदै पेडाको धाक लगाउँछन् धूर्तहरू
खोजी गर्दै गएमा त्यो पेडा नभै आलु हुन्छ

मीठो बोली बोले पनि,भित्र छुरा बोक्छन् धेरै
मौका पर्दा डोरी बाट्छन् बगली मै नालु हुन्छ

नपत्याउने खोलाले नि,बगाउँछ कहिलेकाँही
असमर्थ भन्या व्यक्ति,कुनै बेला चालु हुन्छ

कृत्रिम केश हालेपछि,वास्तविकता देख्छ कस्ले
बाहिर हेर्दा सुन्दर हुन्छ,भित्र हेर्दा तालु हुन्छ

-कोमल भट्ट
च.न.पा. १३
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

प्रतिक्रिया