जहाँ चोरहरु देश चलाउँछन्

राम अधिकारी २०७६ असोज ५ गते १०:०० मा प्रकाशित

राम अधिकारी ।

एउटा यस्तो देश छ जहाँ
जोकरहरु सिंहासनमा छन्
बिहान, दिउसो चुटकिला सुनाउँछन्
साँझ जहान केटाकेटीलाई सास्तर सुनाउँछन्
मर्ने बेलामा बैतर्नी तर्ने जोहो गर्दा- गर्दै पनि
आधा दशक ढुक्क बाँच्ने
शक्तिको र सत्ताको दम्भ बकाउँछन्

एउटा यस्तो देश छ जहाँ
चोरहरु देश चलाउँछन् न्यायालयबाट
सज्जनहरु लाम लाग्छन बिहानैदेखि
त्यो सजायको सुनुवाईको पर्खाईमा
चोरकै सरदारले मारेर विधवा भएका नारीहरु
आफुलाई निस्फिक्री भजाउँछन्
पति मारेका हातहरुको न्यानोमा मस्त निदाउँछन्

एउटा यस्तो देश छ जहाँ
भीमसेन थापा र हरु जेलभित्र छन्
चटके र बधशालाका मालिकहरु
भीमसेनका श्रीमतीहरु नंगाउन हिड्छन्
जहाँ सत्य बर्जित छ, अस्वीकार्य छ
त्यहीँ निर्दोषलाई बलि बनाउँछन्
जँहा आफ्नै आमाको बलात्कार गरेर
दोष अरुमाथि बर्साउँछन्

एउटा यस्तो देश छ जहाँ
न्यायमुर्तिहरु पैतालाको तलुवा चाटेर मोटाउँछन्
रातभरी एैठन परेर सुत्न नसकेपनि
दिनभर चोरहरुकै पक्षमा फैसला सुनाउँछन्
बर्षौ श्रीमतीलाई उपहार बोकेर घर फर्कन नसके पनि
काला जुत्ता टल्काउन र दिनहुँ
काला कामहरुको बक्सिस चढाउँछन्

एउटा यस्तो देश छ जहाँ
जोकरहरु देश चलाउँछन, चोरहरु देश चलाउँछन
बधशालाका मालिकहरु देश चलाउँछन्
बास्तबमा ,
जहाँ सबै चोरहरु देश चलाउँछन्

लेख्नेहरु पत्रु भएका छन्
बोल्नेहरु बेबकुफ भएका छन्
नबोल्नेहरु र बोल्न खोज्नेहरु
बालिका बोका भएका छन्
किनकि चोरहरु देश चलाउँछन्
जोकरहरु देश चलाउँछन्
बधशालाका मालिकहरु देश चलाउँछन्
बास्तवमा,
जँहा सबै चोरका सरदारहरु देश चलाउँछन्

राम अधिकारी

राम अधिकारी साहित्यकार,लेखक हुनुहुन्छ ।

प्रतिक्रिया