बसन्त चौधरीसँगै टोरोन्टो काव्यमय भएको दिन

डा .गोविन्द सिंह रावत २०७६ भदौ २४ गते ११:३५ मा प्रकाशित


डा .गोविन्द सिंह रावत । नेपाली साहित्य समाज, क्यानडको आयोजनामा गत सेप्टेम्बर ८ का दिन “वसन्त चौधरी विश्व काव्य यात्रा” को दोस्रो संस्करण कार्यक्रम को आयोजनो सफलताका साथ सम्पन्न भयो । समाजका अध्यक्ष रबिन थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका तर्फबाट सभा नायक कवि तथा गीतकार बसन्त चौधरी, मुख्य अतिथि महामहिम राजदूत भृगु ढुङ्गाना, विशेष अतिथि अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्मा र कवि तथा चालचित्रकर्मी राजेन्द्र सलभलाई फूलको गुच्छा र नेपाली टोपी पहिराएर स्वागत गरिएको थियो ।

कवि तथा गीतकार बसन्त चौधरीमाथि बनाइएको डकुमेन्ट्री प्रदर्शनबाट शुरु भएको काव्य यात्राको १८औं श्रृखलामा कवि तथा गीतकार बसन्त चौधरीले १९ वटा कविता, गीत र गजलहरु सुनाएका थिए । मायाप्रितीदेखि प्रकृति, सामाजिक विसङ्गगति, देशको वर्तमान स्थितिबाट लिएर समकालिन राजनीति अवस्थामाथि कोरिएका आफ्ना काव्य सिर्जनाले लगभग १५० स्रोताहरुलाई काव्यात्मक रसस्वाद गराउनु भएको थियो ।

उनका कविताले कतै आमाको न्यायो माया खोजी रहेको देखिन्थ्यो भने कति प्रेमका मीठा राग । अनि कतै पलायनको पीडा मुखारित भएको थियो भने कतै रसीक बनेका गजलले स्रोतलाई झुम्न बाध्य बनाइ दिएको थियो । क्यानडामा पहिलोपटक आयोजना भएको एकल काव्य प्रस्तुतिमा कवि तथा गीतकार बसन्त चौधरीले ५० मिनटसम्म लगातार गीत, कविता र गजल वाचन गरेर माहौंललाईनै कवितामय बनाइदिएका थिए । अमेरिकाको न्यु योर्कबाट सन् २०१२ देखि शुरु भएको कवि तथा गीतकार बसन्त चौधरीको विश्व काव्य यात्राले अहिलेसम्म बेलायत, भारत, जापान र अष्ट्रेयिाको यात्रा सम्पन्न गरी सकेको छ भने यो दोस्रो श्रृखलाले क्यानडापछि पूनः अमेरिकाको न्यु योर्क र डि.सी.मा आयोजन गर्दै छ ।

“माग्दिन प्रभु म तिम्रो स्वर्ग” कविताबाट शुरु भएर स्रोताको अनुरोधमा हिन्दी गजलबाट काव्य माहोल सम्पन्न भएको थियो । कवि चौधरीले त्यसपछि स्रोताका प्रश्नहरुको उत्तर दिदै व्यापार र सिर्जनाबीच सम्बन्ध मिलाउदै जानु परेको वास्तविकता र साहित्यप्रति आफ्नो लगाव र झुकाऊका बारेमा जानकारी गराउनु भएको थियो । उनले आफ्नो विश्व काव्य यात्रामा एकल कविता वाचनका माध्यबाट आप्रवासमा बस्ने नेपाली समुदायलाई जागरुप गराउने र देश र प्रदेशमा बस्ने नेपाली मनलाई जोड्दै जाने काम गरेको भनु भयो । वहाँले स्रोताको जिज्ञासा मेटाउदै आफु ब्यापारीक घरानामा जन्मे हुर्के पनि आफुले ब्यबसायलाई भन्दा पनि साहित्यलाई माया गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा क्यानडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुंगानाले नौ भाषामा प्रकाशित संग्रह “बसन्त” को लोकार्पण गर्नु भएको थियो । लोकार्पण कार्यक्रममा बोल्दै महामहिम ढुंगानाले आफ्नो सिर्जनालाई विश्व काब्य यात्रा मार्फत बिदेशमा रहने ठूलो संख्याका नेपाली समूदायहरु माझ पुर्याएर नेपाली भाषा र साहित्यको विकाशमा ठूलो टेवा पुग्नेछ भन्दै त्यसको श्रेय कवि बसन्त चौधरीलाई जान्छ र यस्ता अन्य कार्यक्रमहरुमा समेत हामी सबै नेपालीहरुले उहाँलाई साथ र सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँले क्यानडामा हुने हरेक प्रकारका नेपाली समूदायका कार्यक्रमहरुमा नेपाली दूतावास अटावा क्यानडामा रहेका संघ संथाहरुसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । साथै उहांले आफुलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेर कवि वसन्त चौधरीको संग्रह लोकार्पण गर्न पाएकोमा खुसि ब्यक्त गर्दै नेपाली साहित्य समाज क्यानडा लाई धन्यवाद दिनुभएको थियो ।

आयोजक नेपाली साहित्य समाज क्यानडाले कवि बसन्त चौधरीलाई समाजको तर्फबाट सम्मान गरेको थियो भने काब्य यात्राका तर्फबाट आभार स्वरुप आयोजक संस्थाका सभापति रविन थपलिया र कार्यक्रम संयोजक डा. गोबिन्दसिंह रावतलाई कवि चौधरीले प्रतीक प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सामुहिक फोटो खिचिएको थियो ।

कार्यक्रममा महामहिम राजदुत भृगु ढुङ्गानाकी धर्म पत्नी संगिता ढुङ्गाना, भुतपूर्व राजदूत तथा साहित्यकार मत्रुवन पौडेल, क्यानडाका लागि महाबाणिज्यदूत डा।कुन्जर शर्मा, बिभिन्न संघ संथाका प्रतिनिधिहरु, पत्रकारहरु लगायत जिटिए भित्र बसोवास गर्ने नेपाली समूदायका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । मञ्चमा आसन गराउने, खादा लगाउने र भाषण गर्ने अनावश्यक क्रियाकलाप बिना सम्पन्न नेपाली साहित्य समाज, क्यानडाले आयोजना गरेको बसन्त चौधरीको काव्य यात्रा ६बजे शुरु हुनु पर्ने कार्यक्रम प्राविधिक गडबडीले गर्दा २० मिनट ढिलो शुरु हुन गएकोमा आयोजकले क्षमा याचनासमेत गरेको थियो ।

कार्यक्रमको सभापतित्व नेपाली साहित्य समाजका अध्यक्ष रविन थपलियाले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन सोहि समाजका महासचिव खेम गुरागाँईले गर्नु भएको थियो । सम्पूर्ण कार्यक्रमको संयोजन डा।गोबिन्दसिंह रावतले गर्नुभएको थियो ।

प्रतिक्रिया